२०८३ श्रावण १६

सात सय करोड क्लबमा बलिवुड फिल्म धुरन्धर

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा सात सय करोड क्लबमा प्रवेश गरेको छ ।

चौथो साताको दोस्रो दिन शनिबार २०.९० करोड कमाई गरेसँगै धुरन्धरले भारतमा ७०६.४० करोड कमाई गरेको हो ।

फिल्म धुरन्धरले तेस्रो सातामा मात्र १८९.३० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्सअफिसमा तीन सातामा ६६८.८० करोड भारु कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । फिल्मले बलिवुड बक्स अफिसका कैयौं किर्तिमान तोडेको छ । 

धुरन्धर भारतीय बक्स अफिसमा अहिलेसम्म धेरै कमाई गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको छ । यसअघि २०२४ मा रिलिज भएको फिल्म पुष्पा-२ ले ८३० करोड कमाएको थियो ।

चौथो सातामा फिल्मले क्रिसमस र नयाँ बर्षको छुट्टीको फाइदा उठाउदै दर्शकको पहिलो रोजाइमा नै रहने विश्लेषण गरिएको छ ।

फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

फिल्म ‘मिरमिरे’ मा त्रिकोणात्मक संयोग

काठमाडौं । माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए । अथवा ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन् ।

यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै लिए ?

‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,’ जवाफमा निर्देशक यम भन्छन्, ‘दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो ।’

चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्र हुन् । उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन् ।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ । जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Read More

६० बर्षका भए सलमान खान

काठमाडौँ । बलिवुडका दबंग फेम अभिनेता सलमान खान ६० बर्षका भएका छन् । सन् १९६५ को डिसेम्बर २७ मा जन्मिएका सलमानले आज आफ्नो ६०औं जन्मदिन मनाउदै छन् ।

यद्यपि, यस पटक, विस्तृत सुरक्षा व्यवस्थाले हेडलाइनहरू बनाएको छ। सलमानको ग्यालेक्सी अपार्टमेन्ट र वरपरका क्षेत्रहरूमा प्रहरीको उपस्थिति दोब्बर गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सलमानविरुद्ध पटक पटक आएका ज्यान मार्ने धम्कीलाई ध्यानमा राख्दै मुम्बई प्रहरी उच्च सतर्कतामा रहेको बताइएको छ ।

सलमान खानले हरेक वर्ष भव्य जन्मदिनको पार्टी आयोजना गर्छन् । यद्यपि, विगत केही वर्षदेखि, उनी ब्ल्याकमेलिङ र ज्यान मार्ने धम्कीहरूको सामना गरिरहेका छन् । 

प्रशंसकहरूको ठूलो भीडको अपेक्षा गर्दै, सलमानले यस पटक घरमा सानो पार्टीको योजना बनाएको बताइएको छ । जन्मदिनको पार्टीका लागि शाहरुख खान, रणवीर सिंह र ज्याकलिन फर्नान्डेज जस्ता बलिउड सेलिब्रेटीहरू, नजिकका साथीहरूसहित उपस्थित हुने अपेक्षा गरिएको छ । सलमानले सामाजिक सञ्जालमा प्रशंसकहरूलाई धन्यवाद दिँदै भनेका छन्- ‘सबैको मायाका कारण भाइजानको जन्मदिन विशेष छ। सुरक्षित रहनुहोस् ।’

पछिल्ला बर्षहरुमा सलमान खान सिनेमा बाहेक टेलिभिजनमा पनि उत्तिकै चर्चित छन् । उनले पछिल्लो १४ बर्षदेखि रियालिटी शो बिग बोस होस्ट गर्दै आएका छन् । हालसम्म अविवाहित रहेका सलमान २०१२ देखि रोमानियाकी अभिनेत्री लुलिया भेन्तुरसँग सम्बन्धमा रहेको बताइन्छ ।

Read More

अफगानिस्तानको काबुलस्थित ऐतिहासिक एरियाना सिने हल भत्काइयो

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको ऐतिहासिक एरियाना सिनेमा पूर्ण रूपमा भत्काइएको छ । १९६३ मा निर्मित, डिसेम्बर १६ मा भत्काउन सुरु गरिएको थियो । यो एक हप्ता भित्र भत्काइएको थियो । अब यसको ठाउँमा एक किनमेल केन्द्र निर्माण गरिनेछ ।

एरियाना सिनेमाले दशकौंसम्म काबुलका जनताको मनोरञ्जनको केन्द्रको रूपमा काम गरेको थियो । यसले बलिउडदेखि हलिउडका एक्सन फिल्महरू र पछि अफगान फिल्महरू प्रदर्शन गरेको थियो ।

२०२१ मा तालिबान सत्तामा आएपछि, फिल्म र संगीत सहित अधिकांश मनोरञ्जन गतिविधिहरू प्रतिबन्धित गरियो । सबै सिनेमाघरहरू बन्द गर्न आदेश दिइयो । त्यस वर्षको मे महिनामा, अफगान फिल्म प्रशासन पनि विघटन गरियो, त्यसपछि एरियाना सिनेमा लामो समयसम्म बन्द रह्यो ।

काबुल शहर प्रशासनले सिनेमा निर्माण गरिएको जग्गा व्यावसायिक क्षेत्र भित्र पर्ने बताएको छ । प्रशासनका अनुसार, त्यहाँ किनमेल कम्प्लेक्स निर्माण गर्नाले नगरपालिकाको राजस्व बढ्ने र शहरको विकासमा योगदान पुग्नेछ ।

सोभियत आक्रमण र गृहयुद्धको समयमा एरियाना सिनेमाले ठूलो क्षति बेहोरेको थियो । सन् १९९६ मा तालिबानले काबुलको नियन्त्रण लिएपछि यो बन्द भएको थियो । सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेपछि, सन् २००४ मा फ्रान्सेली सहयोगमा यसको पुनर्निर्माण गरिएको थियो ।

भारत-पाकिस्तान युद्ध पछि पाकिस्तानमा भारतीय चलचित्रहरूमा प्रतिबन्ध लगाइएको कारण, धेरै पाकिस्तानी दर्शकहरू एरियाना सिनेमामा चलचित्र हेर्न काबुल पुग्ने गरेको बताइन्थ्यो ।

Read More

बलिवुड फिल्म धुरन्धरले तीन सातामा कति कमायो ?

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ ले रिलिजको तेस्रो सत्तासम्मपनि शानदार कमाई गरिरहेको छ ।

फिल्म धुरन्धरले तेस्रो सातामा मात्र १८९.३० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्सअफिसमा तीन सातामा ६६८.८० करोड भारु कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । फिल्मले बलिवुड बक्स अफिसका कैयौं किर्तिमान तोडेको छ । चौथो सातामा प्रवेश गरेको यो फिल्मले क्रिसमसको छुट्टीको फाइदा उठाउदै दर्शकको पहिलो रोजाइमा नै रहने विश्लेषण गरिएको छ ।

फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

डन-३ बाट निकालिए रणवीर सिंह

काठमाडौँ । बलिवुड फिल्म धुरन्धरको सफलतापछि अभिनेता रणवीर सिंहले डन- ३ छोडेको रिपोर्ट बाहिर आएको छ । रिपोर्टका अनुसार रणवीरसँग उनको अनुचित माग र रचनात्मक भिन्नताका कारण निर्माण पक्षले उनलाई हटाएको बताइएको छ ।

इन्डिया टुडेले रिपोर्टका अनुसार निर्माता र रणवीरबीच रचनात्मक भिन्नताहरू थिए, जसले गर्दा निर्माताहरूले अभिनेतालाई फिल्मबाट हटाएका छन् । साथै निर्माताहरू रणवीरको मागसँग सहमत नभएको रिपोर्टमा उल्लेख छ ।

रणवीरका पछिल्ला तीन फिल्महरू लगातार फ्लप भए पनि, फरहान अख्तर र रितेश सिधवानीले अझै पनि उनलाई मौका दिएका थिए । असफलताका कारण संजय लीला भन्सालीले बैजु बावरा फिल्म रद्ध नै गरेका थिए, तर फरहान र रितेश उनको साथमा रहेका थिए ।

विशेष गरी धुरन्धरको सफलतापछि रणवीर आफ्नो लगातारको असफलताबाट बाहिर आएका छन् र आफुलाई पुन बलिवुडको मेनस्ट्रीम अभिनेतामा पुनर्स्थापित गरेका छन् ।

धुरन्धरको सफलतापछि र डन-३ नगर्ने निश्चित भएपछि उनले निर्माता जय मेहताको फिल्म प्रलयको छायांकन गर्न आग्रह गरेको बताइएको छ । रणवीर व्यक्तिगत रूपमा जय मेहताको फिल्मको मिति र तालिका अगाडी सार्न आग्रह गरेका छन् ।

केहि रिपोर्टहरुले अहिले मिडियामा आएका तथ्य गलत रहेको र रणवीर डन-३ मा काम गर्ने दाबि गरेका छन् । यस विषयमा रणवीर सिंह र फिल्मका निर्माताहरुले अहिलेसम्म कुनै अपडेट भने दिएका छैनन् ।  २०२३ मा घोषणा गरिएको यो फिल्मको छायांकन अझै निश्चित भएको छैन । फेरी मुख्य अभिनेताकै खोजीमा निर्माण पक्ष भएकाले यो फिल्म कहिले आउछ भन्ने स्पष्ट छैन । डन फिल्म सबै भन्दा पहिले १९७८ मा रिलिज भएको थियो । यस फिल्ममा अमिताभ बच्चन, जीनत अमान, प्रान लगायतले अभिनय गरेका थिए ।

त्यसपछि डनको रिमेक २००६ मा रिलिज गरिएको थियो । फरहान अख्तरको निर्देशनमा बनेको यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । त्यसपछि डन-२ २०११ मा रिलिज गरिएको थियो । यसमा पनि शाहरुख खान मुख्य भूमिकामा थिए ।      

Read More

फिल्म ‘द ब्ल्यू लाइट’ को टिजर सार्बजनिक, माघ १६ मा रिलिज हुने

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टिजरमा देख्न सकिन्छ । प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलरले सिनेमाको टोन देखाएको छ । टिजरले साइकोलोजिकल थ्रिल फिल गराउने प्रयास गरेको छ ।

निर्माण टिमले टिजरसँगै सिनेमा रिलिजको नयाँ मिति पनि सार्वजनिक गरेको छ । माघ १६ गते यो सिनेमा रिलिज हुनेछ । यसअघि यो चलचित्र पुस १० गते सार्वजनिक गर्ने भनिएको थियो ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । चलचित्रमा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।

नरेन्द्र मैनालीले गरेको छायांकन रहेको चलचित्रका आकाश उखेडा मख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुन् ।

Read More

फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।

क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ । गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ । गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

Read More

अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिजको घोषणा

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको चर्चित फिल्म दृश्यमको तेस्रो सिरिज बन्ने भएको छ । निर्माण पक्षले फिल्म दृश्यम- ३ को रिलिज मिति सार्वजनिक गरेका छन् । दृश्यमको तेस्रो सिरिज निर्माणको घोषणा गर्दै यो फिल्म अक्टोबर २, २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । 

फिल्मका पूर्व स्टारकास्ट, अजय देवगन, तब्बु, श्रिया सरन र रजत कपूरको अभिनय रहने छ । फिल्ममा अजयका बच्चाहरूको भूमिका निर्वाह गरेका इशिता दत्ता र मृणाल जाधव पनि हुने जानकारी दिइएको छ ।

दृश्यम-२ मा प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका अक्षय खन्ना फिल्मको हिस्सा हुने नहुने बारे स्पष्ट छैन । फिल्मको हाल छायांकन भइरहेको बताइएको छ ।

दृश्यम फ्रान्चाइजीको कुरा गर्ने हो भने, यो मलयालम फिल्मको रिमेक हो, जसको शीर्षक पनि दृश्यम नै थियो । फिल्मको पहिलो भाग २०१५ मा रिलिज भएको थियो, जसमा विजय सालगांवकरको कथा चित्रण गरिएको थियो । विजय आफ्नो परिवारसँग गोवामा बस्छन् र आफ्नो घरमा भएको हत्यापछि आफ्नो परिवारलाई कानूनको पञ्जाबाट बचाउन आफ्नो बुद्धिमत्ता प्रयोग गर्छन् । निशिकान्त कामतद्वारा निर्देशित यो फिल्मले ठूलो सफलता हासिल गर्‍यो, विश्वव्यापी रूपमा १९७ करोड कमाएको थियो । सात वर्ष पछि, २०२२ मा, यसको सिक्वेल रिलिज भयो र पहिलो भाग भन्दा पनि ठूलो हिट साबित भयो । दृश्यम-२ ले विश्वव्यापी रूपमा ३४५ करोड कमाएको थियो ।

अब, चार वर्ष पछि, अभिषेक पाठकद्वारा निर्देशित दृश्यम-३ आउँदैछ । कथा अभिषेक पाठक, अमिल कियान खान र परवेज शेखले लेखेका छन् । पाठकले दृश्यम-२ पनि निर्देशन गरेका थिए ।

Read More

हलिवुड फिल्म ‘स्पाइडर-म्यान: ब्रान्ड न्यू डे’ को छायांकन सकियो

काठमाडौँ । हलिवुडको मार्भल सिनेम्याटिक युनिभर्सका फ्यानहरूका लागि ठूलो खबर आएको छ । टम हल्याण्ड अभिनित ‘स्पाइडर-म्यान: ब्रान्ड न्यू डे’ को छायांकन पूरा भएको छ ।

यो लामो समयदेखि चलिरहेको फिल्मलाई लिएर दर्शकहरू उत्साहित छन् । यो फिल्म स्पाइडर-म्यान फ्रान्चाइजीको अर्को महत्त्वपूर्ण कोसेढुङ्गा मात्र नभई टम हल्याण्डको करियरको लागि धेरै विशेष पनि मानिन्छ ।

फिल्मका निर्देशक डेस्टिन डेनियल क्रेटनले फिल्मको छायांकन सकिएको जानकारी दिएका छन् । उनले यो फिल्म उनको करियरको सबैभन्दा ठूलो र सन्तोषजनक परियोजनाहरू मध्ये एक भएको बताएका छन् । निर्देशक डेनियलले कलाकार र प्राविधिक टोलीको कडा परिश्रमको प्रशंसा गरे र फिल्मको यात्रा भावनात्मक रूपमा पनि उनको लागि धेरै विशेष रहेको बताए ।

निर्देशकले विशेष गरी टम हल्याण्डको प्रशंसा गरेका छन् । टमले टोलीलाई पर्दामा मात्र नभई सेट बाहिर पनि एक बलियो अभिनेताको रूपमा मार्गदर्शन गरेको उल्लेख गरेका छन् । उनीहरूको ऊर्जा, समर्पण र चरित्रप्रतिको जोशले फिल्मलाई फरक स्तरमा पुर्‍याएको छ । यसैकारण फ्यानहरूले यस पटक स्पाइडर-म्यानको नयाँ, परिपक्व संस्करणको अपेक्षा गरिरहेका छन् ।

‘स्पाइडर-म्यान: ब्रान्ड न्यू डे’ को स्टार कास्टले पनि यसलाई विशेष बनाएको छ । मार्क रफालो फेरि एक पटक ब्रुस ब्यानर, उर्फ ​​हल्कको रूपमा देखिनेछन् । माइकल मन्डो स्कर्पियनको रूपमा फर्कदैछन्, जबकि पनिशरको रूपमा जोन बर्नथलको प्रवेश दर्शकहरूको लागि ठूलो आश्चर्य हुने अपेक्षा गरिएको छ । सेडी सिंक पनि फिल्मको हिस्सा हुन्, यद्यपि उनको भूमिकाको बारेमा सस्पेन्स बाँकी छ ।

स्पाइडर-म्यान शृङ्खलाका फ्यानहरू जेन्डाया र ज्याकब बटालोन पनि एमजे र नेडको रूपमा फर्कदैछन् भन्ने कुरामा ढुक्क छन् । यी पात्रहरू बिना, पिटर पार्करको संसार अपूर्ण महसुस हुन्छ। फ्यानहरूले भावनात्मक गहिराइ, साथै तीव्र कार्य र नाटक भएको कथाको आशा गरिरहेका छन् ।

यो फिल्म ठूलो मात्रामा निर्माण गरिएको छ र जुलाई ३१, २०२६ मा सिनेमाघरहरूमा रिलिज हुनेछ । छायांकन पूरा भएपछि, पोस्ट-प्रोडक्सनको काम अब सुरु भएको छ । आगामी महिनाहरूमा, फिल्मसँग सम्बन्धित टिजर र ट्रेलरहरूले प्रशंसकहरूको उत्साहलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

Read More