२०८३ भाद्र ३१

प्रधानमन्त्री बालेनलाई बाबुरामको प्रश्न: राजनीतिक क्रान्तिपछि अब आर्थिक क्रान्ति कहिले ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र गम्भीर संरचनात्मक संकटबाट गुज्रिरहेको भन्दै नयाँ पुस्ताका नेतृत्वलाई दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्। उनले वर्तमान सरकार र युवा नेतृत्वले अब राजनीतिक बहसभन्दा आर्थिक रूपान्तरणमा ध्यान दिनुपर्ने बताएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले नेपाली चिया निर्यातमा भारतले सिर्जना गरेको अवरोध र उद्योग दर्तामा आएको गिरावटलाई अर्थतन्त्रका गम्भीर संकेतका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार ८३ चिया उद्योग बन्द हुने अवस्थाले मुलुकको उत्पादनमूलक क्षेत्र संकटमा परेको स्पष्ट देखाएको छ।

पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले नेपालको औद्योगिक आधार कमजोर रहेको उल्लेख गर्दै आर्थिक राष्ट्रियताप्रति पर्याप्त संवेदनशीलता नदेखिएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले राष्ट्रियताको राजनीतिक पक्षमा नेपाली समाज सचेत भए पनि आर्थिक राष्ट्रियताको विषयमा अझै गम्भीर बहस हुन नसकेको बताएका छन्।

आफ्नो चार दशकअघिको विद्यावारिधि अनुसन्धान स्मरण गर्दै उनले नेपालको अल्पविकास र परनिर्भरताको समस्या पुरानै रहेको उल्लेख गरे। राजनीतिक परिवर्तनका लागि आफ्नो पुस्ताले लामो संघर्ष गरेको भन्दै अब आर्थिक संरचनाको सुधार गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको उनको भनाइ छ।

“नयाँ जोस र ऊर्जा लिएर सत्तामा पुगेका नेतृत्वले अब देशको ऐतिहासिक आर्थिक रोगको दिगो उपचार खोज्नुपर्छ,” उनले सन्देश दिएका छन्।

पछिल्लो समय निर्यात, उद्योग र लगानी क्षेत्रमा देखिएको सुस्तताबीच पूर्वप्रधानमन्त्री भट्टराईको यो धारणालाई आर्थिक नीतिमाथिको गम्भीर चेतावनीका रूपमा हेरिएको छ।

Read More

जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दा तत्काल खारेज गर्न रास्वपा सांसद खतिवडाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवाहरूमाथि झुटा मुद्दा लगाइएको भन्दै ती मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको त्याग र संघर्षकै आधारमा वर्तमान सरकार गठन भएको दाबी गर्दै, सोही आन्दोलनमा सहभागी युवामाथि नै पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको आरोप लगाइन्।

खतिवडाले निर्दोष युवालाई लक्षित गरी झुटा मुद्दा दर्ता गर्ने प्रयास भइरहेको उल्लेख गर्दै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख (एसपी) आएपछि यस्ता गतिविधि बढेको गुनासो आएको बताइन्।

उनले सरकारले यसअघि झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नभएको भन्दै प्रश्न उठाइन्।

उनले बैठकमा भनिन्, “जेनजी आन्दोलनका शहीद र घाइतेहरूको रगत र संघर्षबाट बनेको दुईतिहाइको सरकारले अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूको घर–घरमा पुगेर पक्राउ पुर्जी जारी गरिरहेको छ। निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने काम भइरहेको छ। काभ्रेको पनौतीमा नयाँ एसपी आएलगत्तै यस्ता गतिविधि बढेको गुनासो आएको छ। सरकारले झुटा मुद्दा खारेज गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन। युवाहरूको त्याग, संघर्ष र समर्थनबिना यो सरकार अघि बढ्न सक्दैन। त्यसैले जेनजी आन्दोलनसँग सम्बन्धित झुटा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस्।”

Read More

एमाले प्रचार विभाग प्रमुख आचार्यको प्रतिबद्धता: डिजिटल सञ्चारमार्फत विचार विस्तार गर्ने लक्ष्य

काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत देशभरका नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना प्रविधिको युगअनुसार प्रचार–प्रसारलाई आधुनिक र प्रभावकारी बनाइने बताए। उनले एमालेको सञ्चार रणनीति अब परम्परागत शैलीबाट अघि बढेर डिजिटल प्लेटफर्ममा केन्द्रित हुने उल्लेख गरे।

आचार्यले भने, “हाम्रो विचार अब हरेक नागरिकको मोबाइल स्क्रिनसम्म पुग्नेछ। हामी केवल प्रविधि पछ्याउने होइन, यसको नेतृत्व गर्नेछौं।”

उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइने गलत सूचना र दुष्प्रचारको तथ्य र सत्यका आधारमा प्रतिवाद गर्ने पनि स्पष्ट पारे। उनका अनुसार, “सत्यभन्दा शक्तिशाली कुनै प्रचार हुँदैन।”

आफूलाई विभागको नेतृत्वकर्ताभन्दा पनि सहयात्रीका रूपमा प्रस्तुत गर्दै आचार्यले सामूहिक नेतृत्व, टिमवर्क र आधुनिक कार्यशैलीलाई प्राथमिकता दिने बताए।

पदभार ग्रहणसँगै उनले पार्टी नेतृत्वप्रति विश्वास र जिम्मेवारीका लागि आभार व्यक्त गर्दै निवर्तमान नेतृत्वको योगदानको प्रशंसा गरे। साथै, विभागलाई अझ प्रभावकारी बनाउन नयाँ ऊर्जा र प्रविधिको उपयोग गर्ने प्रतिबद्धता जनाए।

आचार्यले प्रचार तथा प्रकाशन विभागलाई पार्टीको नीति र विचार जनतासम्म पुर्‍याउने ‘महत्त्वपूर्ण सञ्चार केन्द्र’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए।

Read More

प्रतिनिधि सभामा शिक्षा बजेट वृद्धि र सार्वजनिक विद्यालय सुधारको माग

काठमाडौँ ।   प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्।

‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सहभागी हुँदै सांसदहरूले सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या किन घटिरहेको छ भन्ने प्रश्नको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विद्यालयका शौचालय, प्रयोगशाला लगायत आधारभूत पूर्वाधारको सुधार र व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।

सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त रहेको टिप्पणी गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक तथा प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै, सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन र विद्यालय शौचालयजस्ता आधारभूत संरचनामा बजेट विनियोजन नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटबीच समन्वय अभाव रहेको टिप्पणी गरे।

बैठकमा शिक्षा तथा खेलकुदसहित युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको छ।

Read More

पपुलिजम र अराजकतावादी प्रवृत्तिले सामाजिक दिशालाई कमजोर बनाउँछ: महासचिव शंकर पोखरेल

काठमाडौँ ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा पपुलिजम र एनार्किजमको प्रभाव तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र दीर्घकालीन राजनीतिक यात्रालाई कमजोर बनाउने बताएका छन्।

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान सामाजिक तथा राजनीतिक परिवेशमा लोकप्रियतामुखी र अराजकतावादी सोचको प्रभाव देखिएको बताए। उनका अनुसार यस्ता प्रवृत्तिहरूले समाजलाई तत्काल देखिने मुद्दामा मात्र केन्द्रित गराएर दीर्घकालीन दृष्टिकोण र वैचारिक बहसलाई ओझेलमा पार्ने काम गर्छन्।

“आज समाजमा पपुलिजम र एनार्किजमको प्रभाव उल्लेखनीय रूपमा देखिन्छ। यी दुवै प्रवृत्तिले विचारधारात्मक विकासलाई सहयोग गर्दैनन्, बरु भविष्यमुखी सोचलाई निरुत्साहित गर्छन्,” पोखरेलले भने।

उनले पपुलिजम र एनार्किजमलाई यथास्थितिको पक्षपोषक प्रवृत्तिका रूपमा चित्रित गर्दै यिनले समाजलाई तत्कालीन समस्याको समाधानका रूपमा आफूलाई प्रस्तुत गरे पनि वास्तविक परिवर्तनको मार्ग प्रशस्त गर्न नसक्ने दाबी गरे। उनका अनुसार यस्ता धारहरूले जनमानसमा भ्रम सिर्जना गर्दै सबै समस्याको समाधान आफैंसँग रहेको सन्देश प्रवाह गर्ने प्रयास गर्छन्।

महासचिव पोखरेलले हालको राजनीतिक बहसमा ‘पुराना शक्तिले केही गर्न सक्दैनन्, नयाँलाई अवसर दिनुपर्छ’ भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै त्यसप्रति पनि टिप्पणी गरे।

उनले वैकल्पिक राजनीतिक अभ्यास केवल प्रविधि र प्रविधिमैत्री संरचनाको आधारमा दीर्घकालसम्म टिक्न नसक्ने तर्क गर्दै राजनीतिक आन्दोलन र परिवर्तनका लागि स्पष्ट विचारधारात्मक आधार अपरिहार्य रहेको बताए।

“वैकल्पिक राजनीति प्रविधिको जगमा विकसित भएको देखिन्छ। तर त्यो दीर्घकालीन रूपमा टिकाउ हुन्छ कि हुँदैन भन्ने प्रश्न बाँकी छ। अन्ततः समाज विचारधारामै फर्किनुपर्ने अवस्था आउँछ, र समाजलाई त्यतैतर्फ उन्मुख गराउन आवश्यक छ,” उनले भने।

Read More

राष्ट्रियसभामा बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ भएको छ।

बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

बैठकमा आकस्मिक समयअन्तर्गत राष्ट्रियसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा तथा विचार प्रस्तुत गर्ने क्रम जारी रहेको छ।

Read More

रास्वपा कर्णाली प्रदेश अधिवेशन: नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेश समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

आइतबार शुभ होटल, वीरेन्द्रनगर, सुर्खेत मा सुरु भएको प्रदेश अधिवेशनमा प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण प्रारम्भिक दिनका अधिकांश कार्यहरू अवरुद्ध भएका थिए।

निर्वाचन समितिका अनुसार, मापदण्ड विपरीत चयन गरिएका प्रतिनिधिबारे उठेका प्रश्नपछि आवश्यक छलफल गरिएको र त्यसपछि सहमति जुटेसँगै निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

समितिले तयार पारेको कार्यतालिका अनुसार सोमबार नै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बिहान ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि हालसम्म अन्तिम उम्मेदवार नामावली सार्वजनिक भइनसकेको निर्वाचन समितिले जनाएको छ।

सभापति पदका लागि चार जनाले आकांक्षा व्यक्त गरेको बताइएको छ।

Read More

एमालेभित्र पुनर्गठन बहसबीच एकताको अडान, भट्टराईको टिप्पणी

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको पुनर्गठन प्रक्रिया अघि बढ्ने भए पनि संगठनात्मक एकतामा कुनै विभाजन नहुने स्पष्ट पारेका छन्। उनले पार्टीभित्रको सुधार र पुनर्संरचना आवश्यक भए पनि सबै पक्षलाई समेटेर अघि बढिने बताएका हुन्।

पछिल्लो समय एमालेभित्र नेतृत्व शैली, संगठनात्मक संरचना र जिम्मेवारी बाँडफाँटलाई लिएर आन्तरिक बहस तीव्र बनेको छ। हालैका विभिन्न बैठक तथा प्रस्तावहरूमा नेतृत्व पुनर्संरचना, जिम्मेवारी हेरफेर र नयाँ कार्यविभाजनबारे छलफल भएको रिपोर्टहरू आएका छन्, जसलाई पार्टीभित्रको शक्ति सन्तुलनसँग जोडेर पनि हेरिएको छ।

यसै सन्दर्भमा भट्टराईले विगत केही महिनादेखि सार्वजनिक रूपमा पार्टीलाई आत्मसमीक्षा र रूपान्तरणतर्फ लैजानुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। निर्वाचनपछि आएको असन्तोषलाई स्वीकार गर्दै उनले संगठनात्मक सुधार, जवाफदेहिता र नयाँ ढाँचाको नेतृत्व आवश्यक रहेको टिप्पणी पनि गरेका थिए।

पछिल्ला सामाजिक सञ्जाल अभिव्यक्तिमा भट्टराईले पुनः दोहोर्याउँदै पार्टी फुट्ने वा टुट्ने अवस्था नरहेको र सबै पक्ष समेटेर अझ मजबुत रूपमा अघि बढ्ने बताएका छन्।

उनका अनुसार, “पुनर्गठन हुनेछ, तर पार्टी फुट्ने छैन, टुट्ने छैन। सबै मिल्ने छन्, थप एकताबद्ध हुने छन्।”

Read More

दार्चुलामा भारतीय सैन्य हेलिकोप्टर अवतरणबारे सरकारसँग स्पष्टिकरणको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारसँग औपचारिक स्पष्टिकरण माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठकमा पार्टीका सांसद युवराज दुलालले उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल जवाफ दिनुपर्ने आवश्यकता औंल्याएका हुन्।

बैठकमा बोल्दै सांसद दुलालले सञ्चार माध्यममा सार्वजनिक भएका विवरणलाई उद्धृत गर्दै भारतीय सुरक्षासम्बन्धी उच्च अधिकारीहरू उक्त हेलिकोप्टरमा सवार रहेको भन्ने समाचारप्रति सरकारको आधिकारिक धारणा माग गरे। उनले यस्तो संवेदनशील विषयमा स्पष्ट र पारदर्शी जानकारी दिन सरकार जिम्मेवार हुनुपर्ने बताए।

उनका अनुसार सीमा क्षेत्रमा भएको भनिएको घटनाबारे विभिन्न समाचार सार्वजनिक भए पनि सरकारको तर्फबाट औपचारिक जानकारी नआएकाले जनस्तरमा अन्योल बढेको छ। उनले यथार्थ विवरण तत्काल संसदमार्फत सार्वजनिक गर्न आग्रह गरे।

सांसद दुलालले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएका भनिएका अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै ती अभिव्यक्ति राष्ट्रिय हितअनुकूल नभएको आफ्नो दलको धारणा यथावत् रहेको उल्लेख गरे। उनका अनुसार प्रधानमन्त्रीले यस विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता छ।

यस घटनाले प्रतिनिधिसभामा सीमा सुरक्षा र कूटनीतिक संवेदनशीलताबारे थप छलफललाई जन्म दिएको छ।

Read More

सांसद हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग, विभिन्न घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेको एक अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउने माग यथावत् रहेको उल्लेख गर्दै सभामुखले आवश्यक निर्णय कहिले गर्ने हो भन्ने प्रतीक्षामा आफूहरू रहेको बताए।

बैठकमा सांसद राईले सीमा क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले प्रवेश गरी अतिक्रमण प्रयास गरेको तथा स्थानीय नेपाली नागरिकलाई त्रास सिर्जना गर्ने गतिविधि भएको दाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

त्यसैगरी, माइतीघरमा प्रदर्शनरत राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखिएको र उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको भन्ने जानकारी आएको उल्लेख गर्दै उनले गृहमन्त्रीलाई यस विषयमा ध्यान दिन आग्रह गरे। साथै, उनले ती युवालाई अनावश्यक दुःख नदिन सरकारसँग अनुरोध गरे।

राईले एसईई परीक्षाका क्रममा विद्यार्थीका मोबाइल फोन जफत गरी नष्ट गरिएको घटनाप्रति पनि आपत्ति जनाउँदै यस्तो कार्यको आदेश दिने जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गरे।

त्यसैगरी, एक महिलालाई टेम्पुबाट भीरमा खसालिएको भनिएको घटनाप्रति आफू गम्भीर रूपमा मर्माहत भएको उल्लेख गर्दै उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

सांसद राईले घरमाथि ढुंगामुढा प्रहार गरिएको भिडियो सार्वजनिक भएको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनाको पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

अन्त्यमा उनले मुलुकमा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुनिश्चितताका लागि सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।

Read More