काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा सहभागी हुँदै सांसदहरूले सार्वजनिक विद्यालयमा विद्यार्थी संख्या किन घटिरहेको छ भन्ने प्रश्नको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै विद्यालयका शौचालय, प्रयोगशाला लगायत आधारभूत पूर्वाधारको सुधार र व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।
सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त रहेको टिप्पणी गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक तथा प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन र विद्यालय शौचालयजस्ता आधारभूत संरचनामा बजेट विनियोजन नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटबीच समन्वय अभाव रहेको टिप्पणी गरे।
बैठकमा शिक्षा तथा खेलकुदसहित युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल जारी रहेको छ।




