काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा, भक्तपुरले शिक्षक सरुवा सम्बन्धी तीन बुँदे निर्देशन जारी गरेको छ।
महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर वा अन्तर-स्थानीय तह सरुवा गरेर पदपूर्ति नगर्न स्पष्ट निर्देशन दिएको छ।
त्यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूमा उक्त दरबन्दीअनुसार शिक्षक सरुवा गर्न निर्देशन दिइएको छ।
यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा प्रकाशित नभएसम्म सरुवा सहमति नदिन पनि स्थानीय तहहरूलाई निर्देशन गरिएको महाशाखाले जनाएको छ।





