२०८३ श्रावण १२

हाइड्रोजन सवारीसाधनसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान

काठमाडौं । सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो र प्रभावकारी विकास तथा नियमनका लागि आवश्यक नीति बनाउन सरोकारवालासँग सुझाव माग गरेको छ।

पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन प्रविधिसम्बन्धी कानुनी व्यवस्था, सुरक्षा मापदण्ड, पूर्वाधार विकास, उत्पादन, भण्डारण, ढुवानी तथा वितरण प्रणालीबारे सुझाव आह्वान गरेको हो।

विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, व्यावसायिक निकाय, विकास साझेदार तथा सम्बन्धित सरोकारवालाले आफ्नो अध्ययन, अनुभव र अभ्यासका आधारमा लिखित सुझाव दिन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हाल सञ्चालनमा रहेका सवारीसाधनलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, लागत, आवश्यक जनशक्ति विकास र आपत्कालीन व्यवस्थापनसम्बन्धी सुझावसमेत माग गरेको छ। प्राप्त सुझावलाई हाइड्रोजन सवारीसाधनसम्बन्धी नीति, कानुन, मापदण्ड तथा कार्यविधि निर्माणमा प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

सुझाव दिने अन्तिम मिति साउन २० गते तोकिएको छ। नेपालमा ग्रीन हाइड्रोजनको सम्भावनाबारे यसअघि नै अध्ययन भइरहेको छ भने ऊर्जा मन्त्रालयले २०८० सालमा ग्रीन हाइड्रोजन नीति तयार गरेको थियो।

Read More

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा अभियोजन, १२१ जना प्रतिवादी

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाउँदै करिब १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

विभागमा दर्ता हुने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई प्रारम्भिक रूपमा स्क्रिनिङ कमिटीमार्फत अध्ययन गरिने व्यवस्था रहेको छ। आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

अनुसन्धान तथा अभियोजनका कामलाई प्रभावकारी बनाउन विभागअन्तर्गत चारवटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा रहेका छन्।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय विभागले यस्ता कसुरसम्बन्धी अध्ययन, अनुसन्धान तथा तहकिकात प्रक्रियालाई थप तीव्र बनाउँदै लगेको जनाएको छ।

Read More

कृषि उद्यममा युवालाई आकर्षित गर्न गण्डकीको नयाँ योजना, ऋणको ब्याजमा अनुदान

काठमाडौं। गण्डकी प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्किएका तथा सहरबाट गाउँ फर्केर कृषि उद्यम गर्न चाहने युवालाई लक्षित गर्दै कृषि ऋणको ब्याजमा अनुदान दिने योजना अघि सारेको छ।

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि सञ्चालन गर्न लागेको ‘रिटर्न टु भिलेज’ कार्यक्रममार्फत कृषि व्यवसाय सुरु गर्ने युवालाई ब्याज अनुदान उपलब्ध गराइने भएको हो। यस कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीको पदबहालीको एक सय दिन पूरा भएको अवसरमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. प्रेरणा सेढाईँ भट्टराईले कार्यक्रमको उद्देश्य गाउँमै रोजगारी सिर्जना गर्नु र युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नु रहेको बताए।

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवामात्र नभई स्वदेशमै सहरबाट गाउँ फर्केर कृषि उद्यम गर्न चाहने युवाले पनि कृषि ऋणमा ब्याज अनुदानको सुविधा पाउनेछन्।

मन्त्री कार्कीले कृषि उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन र गाउँमा रोजगारीका अवसर विस्तार गर्न मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले ‘रिटर्न टु भिलेज’ कार्यक्रमले कृषि क्षेत्रमा युवाको सहभागिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मन्त्रालयले चालु आर्थिक वर्षमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि १ करोड रुपैयाँ र जैविक मलमा अनुदान तथा उत्पादन प्रवर्द्धनका लागि २ करोड ६० लाख रुपैयाँ बजेट पनि विनियोजन गरेको जनाएको छ।

Read More

वर्षाका कारण नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, प्रमुख राजमार्गमा आवागमन प्रभावित

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै हाल नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्।

Read More

आज तीन संसदीय समितिको बैठक, वार्षिक कार्ययोजना, अभिमुखीकरण र सीमा सुरक्षाबारे छलफल

काठमाडौं । सङ्घीय संसद् मातहतका तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आ–आफ्ना कार्यसूचीमा छलफल गर्नेछन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारी सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ः०० बजे बस्नेछ। उक्त बैठकमा अभिमुखीकरण कार्यक्रम सञ्चालन सम्बन्धी विषयमा छलफल गरिने सचिवालयले जनाएको छ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न २ः३० बजे बस्नेछ। बैठकमा दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति सुरक्षा तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानमा रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली तथा तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेश

हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मधेस प्रदेश

तराई क्षेत्रमा आंशिक बदली रहनेछ। एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

बागमती प्रदेश

हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।

गण्डकी प्रदेश

प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदलीसँगै केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेश

पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ।

कर्णाली प्रदेश

हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश

हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ र केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्छ। हाल प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

आजको राशिफल:

२०८३ साउन ८ गते (२४ जुलाई २०२६), शुक्रबार

आषाढ शुक्लपक्ष दशमी तिथि (१०ः१८ बजेपछि एकादशी), अनुराधा नक्षत्र, चन्द्रराशि – वृश्चिक ।

आज ग्रह–नक्षत्रको प्रभावले धैर्य, विवेक र निरन्तर प्रयासलाई विशेष महत्त्व दिएको छ। केही राशिका लागि आर्थिक लाभ, नयाँ अवसर, व्यापारिक सफलता र सामाजिक सम्मानको योग देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च, गोपनीयता तथा सम्बन्धमा विशेष सावधानी अपनाउनुपर्ने संकेत छ। मेहनत र सही निर्णयले रोकिएका काम अघि बढ्नेछन् भने सकारात्मक सोचले चुनौतीलाई अवसरमा बदल्न सहयोग पुग्नेछ। आफ्नो राशिअनुसारको भविष्यफल पढेर आजको दिनलाई अझ प्रभावकारी र सफल बनाउनुहोस्।

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो,

कामको व्यस्तताले थकान र शारीरिक कमजोरी अनुभव हुन सक्छ। गोपनीय कुरा बाहिरिन सक्ने सम्भावना भएकाले सतर्क रहनु आवश्यक हुनेछ। केही काम दोहोर्याएर गर्नुपर्ने अवस्था आउन सक्छ भने समयमा अपेक्षित सहयोग नपाउँदा निराशा हुन सक्छ। स्वास्थ्यका लागि खानपान र दिनचर्यामा ध्यान दिनु उपयुक्त हुनेछ। तत्काल सफलता नदेखिए पनि आजको प्रयासले भविष्यका लागि सकारात्मक आधार तयार गर्नेछ।

वृष (Taurus)

, , , , वा, वि, वु, वे, वो

लामो समयदेखि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने सम्भावना छ। आर्थिक लाभका साथै मनोरञ्जन, भेटघाट र पारिवारिक खुसीले दिन उत्साहपूर्ण रहनेछ। नयाँ ज्ञान र अनुभवले अध्ययन तथा पेशागत क्षेत्रमा प्रगति दिलाउनेछ। व्यवसायसँग सम्बन्धित यात्रा हुन सक्छ भने प्रेम र दाम्पत्य सम्बन्ध थप सुमधुर बन्नेछन्। सम्मान र भौतिक सुविधा प्राप्त हुने योग पनि देखिन्छ।

मिथुन (Gemini)

का, कि, कु, , , , के, को, हा

नयाँ योजना सुरु गर्न आवश्यक स्रोत–साधन जुट्नेछन्। मेहनतीहरूका लागि दिन उत्साहजनक भए पनि काममा अवरोध सिर्जना गर्ने व्यक्तिहरू सक्रिय हुन सक्छन्। आर्थिक कारोबार र सामानको सुरक्षामा विशेष ध्यान दिनु उचित हुनेछ। कानुनी वा प्रशासनिक प्रक्रियाका कारण केही काम ढिलो हुन सक्छ। गोपनीयता कायम राखेमा दीर्घकालीन लाभ प्राप्त हुने सम्भावना बलियो छ।

कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शुभचिन्तक र परिवारजनको साथले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। अध्ययन, बौद्धिक क्षेत्र तथा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। नयाँ अवसरको सदुपयोग गर्न सके दीर्घकालीन लाभ हुने योजना सुरु गर्न सकिनेछ। सन्तान तथा गुरुजनको सुझाव उपयोगी बन्नेछ। आम्दानीका नयाँ स्रोत पहिचान गर्ने अवसर पनि मिल्न सक्छ।

सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

केही राम्रो अवसर प्राप्त भए पनि ईर्ष्यालु व्यक्तिबाट सतर्क रहनुपर्ने देखिन्छ। महत्त्वपूर्ण काममा ढिलाइ हुन सक्छ भने साझेदारीका विषयमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। आफ्ना योजना र लक्ष्य गोप्य राख्नु लाभदायी हुनेछ। परिवारको सहयोगबाट रोकिएका काम अघि बढ्ने सम्भावना छ। धैर्य राखेमा चुनौतीलाई अवसरमा बदल्न सकिनेछ।

कन्या (Virgo)

टो, पा, पि, पु, , , , पे, पो

सहयोगीहरूको साथले महत्त्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछन्। उद्योग, व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय लाभ मिल्नेछ। छोटो समयमा मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार वा सम्मान प्राप्त हुने सम्भावना पनि देखिन्छ। कृषि तथा पशुपालनमा केही चुनौती आए पनि आर्थिक पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीमाथि विजय प्राप्त गर्न सकिने दिन छ।

तुला (Libra)

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

कामलाई प्राथमिकताका आधारमा अघि नबढाउँदा अवसर गुम्न सक्छ। आर्थिक कारोबार, कर्जा वा उधारो सम्बन्धी निर्णयमा विशेष सावधानी अपनाउनु उचित हुनेछ। नियमित कामबाट भने सन्तोषजनक लाभ प्राप्त भइरहनेछ। अरूका विषयमा अनावश्यक चासो लिँदा झमेलामा पर्न सकिने भएकाले आफ्नै जिम्मेवारीमा केन्द्रित रहनु राम्रो हुनेछ।

बृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफन्तसँग भेटघाट भए पनि मनअनुकूल वातावरण नहुन सक्छ। अपेक्षित सहयोग नपाउँदा केही काम रोकिन सक्छ। मिहिनेतको फल अरूले लिन सक्ने सम्भावना भएकाले सतर्क रहनु आवश्यक हुनेछ। दोहोरिएको प्रयासले अन्ततः सफलता दिलाउनेछ। व्यवसायबाट सामान्य लाभ भए पनि आवश्यक खर्च पूरा हुने संकेत छ। पेटसम्बन्धी समस्याप्रति ध्यान दिनु उपयुक्त हुनेछ।

धनु (Sagittarius)

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। धेरै प्रयास गर्दा पनि तत्काल अपेक्षित उपलब्धि कम हुन सक्छ। परिवारबाट केही समय टाढिनुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरी सुधार्दै सकारात्मक सोच अपनाएमा सहयोगीहरू साथ दिन तयार हुनेछन्। धैर्य र निरन्तर प्रयासले परिस्थिति आफ्नो पक्षमा बदल्न सकिनेछ।

मकर (Capricorn)

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

आम्दानीका नयाँ स्रोत खुल्नेछन् र मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय लाभ मिल्ने सम्भावना छ। थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। विगतका सफलताले भविष्यका थप अवसर सिर्जना गर्ने संकेत देखिन्छ।

कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो,

प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। नयाँ जिम्मेवारी र दीर्घकालीन लाभ हुने काम सुरु गर्न अनुकूल समय छ। मिहिनेतले नाम, दाम र सम्मान दिलाउने सम्भावना बलियो रहेको छ। सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ। आफ्नो क्षमता प्रदर्शन गर्दै धेरैको विश्वास जित्न सफल हुनुहुनेछ।

मीन (Pisces)

दि, दु, , , , दे, दो, चा, चि

भाग्यले साथ दिँदा चुनौतीहरू क्रमशः हट्दै जानेछन्। नयाँ अवसर र सफलताले आत्मविश्वास बढाउनेछ। टाढिएका साथीभाइसँग पुनः भेटघाट हुन सक्छ भने सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। सम्मान, प्रतिष्ठा तथा आर्थिक उपलब्धिको योग रहेको छ र सेवामूलक कार्यले विशेष प्रशंसा दिलाउने सम्भावना देखिन्छ।

Read More

चार वर्षभित्र विश्वविद्यालयको राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको दाबी

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्ने दाबी गरेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताए ।

उनले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डाको अन्त्य गर्दै नेतृत्व तथा कार्यटोली योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा गठन गरिने बताए ।

‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ,’ मन्त्री पोखरेलले भने ।

विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहेका उनले विश्वविद्यालयमा हुने नियुक्ति, सरुवा, बढुवा तथा अन्य प्रशासनिक निर्णय राजनीतिक दबाबका आधारमा नहुने स्पष्ट पारे ।

‘विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन्,’ उनले भने ।

Read More

अमेरिकी तल्लो सदनबाट इरान केन्द्रित ९५ अर्ब डलरको बजेट ढाँचा पारित

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा बुधबार पारित गरेको छ । झिनो मतान्तरले स्वीकृत भएको उक्त प्रस्ताव अब सिनेटमा जानेछ, जहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ ।

प्रतिनिधिसभाले २१६–२१४ मतले पारित गरेको बजेट प्याकेजअन्तर्गत ७३ अर्ब डलर सशस्त्र सेना र गुप्तचर निकायका लागि छुट्याइएको छ । यो रकम मुख्यतः इरानविरुद्ध सञ्चालन भइरहेका सैन्य तथा सुरक्षा अभियानमा खर्च गरिने जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट प्रभावित किसानलाई राहत दिन १२ अर्ब डलर विनियोजन गरिएको छ । थप १० अर्ब डलर राष्ट्रव्यापी निर्वाचनसम्बन्धी कार्यक्रमका लागि छुट्याइएको छ । यो व्यवस्था ट्रम्पले अघि सारेको नयाँ मतदान प्रतिबन्धसम्बन्धी योजनासँग सम्बन्धित भए पनि उनको व्यापक ‘सेभ अमेरिका एक्ट’ ले आवश्यक राजनीतिक समर्थन भने प्राप्त गर्न सकेको छैन ।

नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि रिपब्लिकनहरूको प्रमुख विधायी प्राथमिकताका रूपमा हेरिएको यो प्रस्ताव हाल प्रारम्भिक बजेट ढाँचा मात्र हो । सिनेटबाट स्वीकृति पाएपछि प्रतिनिधिसभाका रिपब्लिकन सांसदहरूले आगामी महिनाहरूमा यसको विस्तृत कानुनी मस्यौदा तयार गर्नेछन् ।

त्यसपछि सिनेटमा सामान्यतया आवश्यक पर्ने ६० मतको समर्थनबिनै विशेष बजेट प्रक्रियामार्फत साधारण बहुमतका आधारमा विधेयक पारित गराउने रणनीति अपनाइने अपेक्षा गरिएको छ ।

सदनका सभामुख माइक जोनसनले उक्त निर्णयले अमेरिकी निर्वाचन प्रणालीलाई सुरक्षित बनाउने तथा राष्ट्रिय सुरक्षालाई थप सुदृढ गर्ने रिपब्लिकनहरूको दुई प्रमुख उद्देश्य पूरा गर्न मार्ग प्रशस्त गरेको बताए ।

यता, डेमोक्रेटिक सांसद रोजा डेलोरोले इरानविरुद्धको युद्धलाई निरन्तरता दिन आर्थिक स्रोत उपलब्ध गराउने भन्दै बजेटको आलोचना गरिन् । उनले अमेरिकी नागरिकले मध्यपूर्वमा थप खुला, महँगो र दीर्घकालीन युद्धभन्दा खाद्यान्न, आवास, स्वास्थ्य सेवा, बाल हेरचाह र इन्धनजस्ता अत्यावश्यक वस्तु तथा सेवाको मूल्य घटेको देख्न चाहेको बताइन् ।

अमेरिकामा बढ्दो जीवनयापन खर्च र निरन्तर मुद्रास्फीति आगामी मध्यावधि निर्वाचनका प्रमुख राजनीतिक मुद्दामध्ये एक बनेका छन् । त्यसैले यो बजेट प्रस्तावमाथिको बहस थप संवेदनशील बन्ने अपेक्षा गरिएको छ ।

Read More

बाँझो निजी जग्गा उपयोगमा ल्याउन देशभर भूमि बैंक सञ्चालन गरिँदै

काठमाडौँ । उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले सरकारले देशभरका स्थानीय तहमार्फत ‘भूमि बैंक’ सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याउने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाएको हो ।

मन्त्रालयका अनुसार भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) मा भएको व्यवस्थाका आधारमा स्थानीय तहबाट भूमि बैंक सञ्चालन गर्न लागिएको हो ।

भूमि बैंकलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत गरिसकेको छ । कार्यविधिअनुसार देशका प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गरिनेछ ।

मन्त्रालयले भूमि बैंक सञ्चालनसम्बन्धी आवश्यक परिपत्र तथा निर्देशन देशभरका स्थानीय तहमा पठाइसकेको जनाएको छ । कार्यविधि लागू भएपछि स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र रहेका बाँझो तथा प्रयोगविहीन जग्गाको पहिचान गरी तिनलाई उत्पादनमूलक कार्यमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउनेछन् ।

मन्त्रालयले सम्बन्धित जग्गाधनी तथा सरोकारवालालाई आफ्नै स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकसम्बन्धी कानुनी व्यवस्थाको लाभ लिन तथा बाँझो जग्गालाई उत्पादनसँग जोड्न आग्रह गरेको छ ।

Read More