२०८३ श्रावण १४

सेवाग्राहीको भीड घटाउन सरकारी कार्यालयमा एकद्वार प्रणाली लागू गरिँदै

काठमाडौं । नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन सरकारले एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ। सेवाग्राहीलाई सरल प्रक्रिया उपलब्ध गराउने र बिचौलियाको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत, नापी, यातायात, श्रम, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयजस्ता बढी सेवाग्राही आउने निकायमा एकद्वार सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

सेवा लिन आउने तर निवेदन वा उजुरी तयार गर्न समस्या भएका नागरिकलाई सहयोग गर्न सम्बन्धित कार्यालयमा छुट्टै सहजीकरण गर्ने कर्मचारी व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउने प्रक्रियालाई तीव्र बनाउने निर्णय भएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता र प्राविधिक दक्षता बढाउन आवश्यक तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नेछन्।

बैठकले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेपछि हाल कायम सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ।

सरकारको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा बन्ने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

कार्यदललाई हाल प्रचलनमा रहेका सार्वजनिक बिदाको प्रभाव र आवश्यकताबारे अध्ययन गरी सुझावसहित १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। दुई दिने साप्ताहिक बिदा प्रणाली कार्यान्वयनपछि सार्वजनिक बिदाको समग्र व्यवस्थापन पुनरावलोकन गर्न आवश्यक देखिएकाले यस्तो निर्णय गरिएको सरकारले जनाएको छ।

Read More

धनुषामा ट्राफिक कारबाहीबाट रु एक करोडभन्दा बढी राजस्व सङ्कलन, दुर्घटना बढे पनि मृत्यु घट्यो

काठमाडौं । धनुषा जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट रु एक करोड १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालका अनुसार यस अवधिमा १२ हजार ६०३ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो। त्यसबाट रु एक करोड १४ लाख ९ हजार ५०१ राजस्व प्राप्त भएको हो।

गत आर्थिक वर्ष २०८१/८२ मा भने २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा रु दुई करोड २१ लाख १० हजार ५०० राजस्व सङ्कलन भएको थियो।

यसैबीच, धनुषामा चालु आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ। प्रहरी तथ्याङ्कअनुसार एक हजार ३५८ दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन्।

अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक हजार २२१ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ८४ जनाले ज्यान गुमाएका थिए।

प्रहरीका अनुसार सडकको कमजोर अवस्था, चालक तथा यात्रुको लापरवाहीलगायत कारणले दुर्घटनाको सङ्ख्या बढिरहेको भए पनि दुर्घटनामा हुने मृत्युको दर भने घट्दो क्रममा छ।

प्रहरी निरीक्षक दाहालले पछिल्ला वर्षमा सञ्चालन गरिएका ट्राफिक सचेतना कार्यक्रम, नियमित अनुगमन तथा चेकजाँचका कारण दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न सहयोग पुगेको बताएका छन्।

Read More

यातायात कार्यालयमा एक साता अत्यावश्यकबाहेक नआउन विभागको आग्रह

काठमाडौं । यातायात व्यवस्था विभागले सेवाग्राहीलाई करिब एक सातासम्म अत्यावश्यक कामबाहेक यातायात कार्यालयमा नआउन आग्रह गरेको छ । विभागले करका नयाँ दररेट समायोजन र प्रणाली अद्यावधिकको काम भइरहेकाले नियमित सेवा प्रवाहमा केही समय लाग्ने जनाएको हो ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको विभागले सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न डिजिटल प्रणालीलाई थप व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटा स्थानान्तरण (Database Migration) तथा प्रदेश सरकारबाट निर्धारण गरिएका नयाँ करका दरहरू प्रविष्टि र मिलान गर्ने काम भइरहेको जानकारी दिएको छ ।

विभागका अनुसार उक्त प्राविधिक कार्य पूर्ण रूपमा कार्यान्वयन गर्न करिब एक हप्ता लाग्नेछ । त्यसैले अत्यावश्यक सेवा आवश्यक परेका बाहेक सेवाग्राहीलाई २०८३ साल साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Read More

नीति अनुसन्धान प्रतिष्ठानमा योजना आयोग र त्रिविको सहकार्य बढ्ने

काठमाडौं । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालय (त्रिवि) बीच नीतिगत तथा प्राज्ञिक सहकार्य बढ्ने भएको छ। नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश संशोधनसँगै दुवै संस्थाबीच समन्वयको नयाँ व्यवस्था गरिएको हो।

राजपत्रमा प्रकाशित दोस्रो संशोधनअनुसार प्रतिष्ठानको बोर्ड संरचनामा परिवर्तन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई पदेन अध्यक्ष रहने व्यवस्था गरिएको छ। बोर्डमा त्रिविका उपकुलपति र नेपाल सरकारबाट मनोनित दुई सदस्य रहनेछन् भने कार्यकारी निर्देशकले सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको अध्यक्षतामा त्रिविका उपकुलपति डा. भोला थापासहितको सहभागितामा प्रतिष्ठानको बोर्ड बैठकसमेत सम्पन्न भएको छ।

प्रतिष्ठानका अनुसार नयाँ व्यवस्थाले सरकारका लागि नीति निर्माण, अनुसन्धान र विशेषज्ञ सुझाव तयार गर्ने काममा योजना आयोग र विश्वविद्यालयबीच सहकार्य विस्तार गर्नेछ।

नीति अनुसन्धान प्रतिष्ठानले सामरिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, परराष्ट्र नीति तथा सार्वजनिक सेवासम्बन्धी सुधारका विषयमा अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिँदै आएको छ।

Read More

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले थाले छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको तयारीका लागि मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित प्रमुख मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी भएका छन्।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह र रक्षा मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

छलफलमा बजेटका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने योजना र आवश्यक समन्वयका विषयमा केन्द्रित रहने बताइएको छ।

Read More

प्रधानमन्त्री शाहले पुँजी बजारबारे छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १२ बजे आयोजना हुने छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसायको सुधार, बीमा क्षेत्रको सुदृढीकरण तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुनेछ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्।

त्यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेल पनि छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीसँग हुने उक्त बैठकमा पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने पहल तथा राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाहरूले सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Read More

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकबाट तीन महत्त्वपूर्ण निर्णय, खरिद नियमावली र क्षतिपूर्ति निर्देशिका स्वीकृत

काठमाडौं । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना, सार्वजनिक खरिद र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित विभिन्न कानुनी तथा कार्यविधिगत प्रस्ताव स्वीकृत गरेको हो।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत अतिरिक्त लगानीका कारण प्रभावित संरचना, घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली, २०८३ पनि पारित गरेको छ। बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८३ लाई समेत स्वीकृति दिएको छ।

प्रदेश सरकारले यी निर्णयले विकास आयोजना सञ्चालन, सार्वजनिक खरिद प्रक्रिया तथा लक्षित कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरेको जनाएको छ।

Read More

राष्ट्र बैंक ऐन संशोधन आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाइ

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री संस्था बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन आवश्यक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा प्रस्तावित विधेयकमाथि भएको प्रारम्भिक छलफलमा बोल्दै मन्त्री वाग्लेले बदलिँदो आर्थिक अवस्था, वित्तीय क्षेत्रका नयाँ चुनौती र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न कानुनी व्यवस्था परिमार्जन गर्न लागिएको बताए।

उनका अनुसार कोभिड–१९ महामारीपछि नेपालको बाह्य क्षेत्र तथा भुक्तानी सन्तुलनमा देखिएको दबाबका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्गत लिइएको विस्तारित कर्जा सुविधा (ईसीएफ) का क्रममा गरिएका सुधारका प्रतिबद्धता पनि संशोधन विधेयकमार्फत कार्यान्वयन गर्न खोजिएको हो।

मन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले केन्द्रीय बैंकको स्वायत्तता बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले गभर्नर नियुक्तिमा राजनीतिक प्रभाव कम गर्ने व्यवस्था ऐनको प्रमुख उपलब्धि रहेको बताए।

उनले केन्द्रीय बैंकलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै सरकारको वित्तीय नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच आवश्यक समन्वय कायम गर्नुपर्नेमा जोड दिए। नेपाल आईएमएफको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय अभ्यास, सुझाव र नेपालको आवश्यकतालाई समेत ध्यानमा राखेर आर्थिक तथा वित्तीय स्थायित्वका लागि सुधार अघि बढाइएको उनको भनाइ थियो।

संशोधन प्रस्तावमा डिजिटल प्रविधिको विकासलाई ध्यानमा राख्दै ‘डिजिटल करेन्सी’ सम्बन्धी अवधारणालाई पहिलो पटक कानुनी दायरामा ल्याउने व्यवस्था गरिएको मन्त्री वाग्लेले जानकारी दिए।

उनका अनुसार विधेयकमा वित्तीय संस्था, मुद्रा, मौद्रिक दायित्व र ऋण उपकरणजस्ता विषयको परिभाषालाई स्पष्ट पार्ने प्रस्ताव गरिएको छ। साथै, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति, सञ्चालक समितिको जिम्मेवारी तथा अधिकार, खुद आय र वितरणयोग्य आय गणनालगायत व्यवस्थालाई समयअनुकूल बनाउने विषय समेटिएको छ।

मन्त्री वाग्लेले विश्वव्यापी अभ्यासअनुसार केन्द्रीय बैंक राजनीतिक चक्रबाट केही हदसम्म स्वतन्त्र हुनुपर्ने भए पनि सरकारसँग समन्वय गर्दै मूल्य स्थिरता, आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लक्ष्यमा सहकार्य गर्नुपर्ने बताए।

डिजिटल भुक्तानी प्रणाली र केन्द्रीय बैंकद्वारा जारी गरिने सम्भावित डिजिटल मुद्राजस्ता नयाँ अभ्यासका कारण राष्ट्र बैंकसम्बन्धी कानुनलाई पनि समयअनुकूल बनाउन आवश्यक भएको उनले स्पष्ट पारे।

Read More

स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको सहजीकरण रहने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन तथा उद्योग विकासका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता–चप्पलको आयात प्रतिस्थापन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन्।

उनले तीनै तहका सरकारबीच समन्वय गरी जुत्ता–चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने तथा नेपाली उत्पादनको प्रवर्द्धन र बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए। साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमा, ट्रयाकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउने उनको भनाइ थियो।

छलफलका क्रममा एफएमएएनका पदाधिकारी तथा सदस्यहरूले विभिन्न सीमा नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, करको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन जुत्ता–चप्पलको आयात रोक्न तथा आयातित उत्पादनमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरेका थिए।

छलफलमा एफएमएएनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।

Read More

बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी रहने

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष २०८३/८४ को बजेट अझै पारित हुन नसके पनि प्रदेशमा राजस्व सङ्कलन भने निरन्तर जारी रहने भएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राजस्व सङ्कलन रोकिएको छैन र प्रचलित कानुनी व्यवस्थाअनुसार नियमित रूपमा जारी रहने जनाएको हो।

बजेटसँगै प्रस्तुत गरिएको आर्थिक विधेयक, २०८३ प्रदेशसभामा विचाराधीन रहेकाले र उक्त विधेयक पारित गर्ने समय बिहीबार समाप्त भएपछि बजेट कार्यान्वयनलाई लिएर अन्योल सिर्जना भएको थियो।

मन्त्रालयका अनुसार आर्थिक विधेयक प्रदेशसभाबाट पारित भई प्रमाणीकरण नभएसम्म वा अन्य व्यवस्था नहुँदासम्म शुक्रबारदेखि राजस्व सङ्कलन प्रदेशको सामयिक राजस्व सङ्कलनसम्बन्धी ऐन, २०८१ को दफा ३ बमोजिम प्रदेश आर्थिक ऐन, २०८२ अनुसार गरिनेछ।

गत असार १ गते प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबीच उत्पन्न विवादका कारण बजेट अझै पारित हुन सकेको छैन।

विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेबाट सरकारमा सहभागी तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गर्नुभएको थियो। त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह बहुमत जुटाउने प्रयासमा जुटेका छन्।

Read More