२०८३ श्रावण ११

विराटनगर महानगरपालिकाद्वारा पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल

काठमाडौं । विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्‍याउँदै पूर्णखोप सुनिश्चितताको लक्ष्य सफलतापूर्वक हासिल गरेको छ।

महानगरपालिकाको खोप शाखाका अनुसार ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कुल ११ हजार ६३० जना बालबालिकालाई आवश्यक सबै खोप प्रदान गरिएको हो।

विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

यस उपलब्धिसँगै विराटनगर महानगरपालिकाले खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत तथा दिगो बनाएको महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए।

उनका अनुसार खोप अभियानले बालमृत्युदर घटाउन, विभिन्न रोगको जोखिम न्यूनीकरण गर्न तथा समग्रमा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यस्तै खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगहरूबाट बालबालिकालाई जोगाउन प्रभावकारी भूमिका खेल्दै आएको उल्लेख गरे।

स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलताका रूपमा लिँदै यसको दिगोपनालाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।

Read More

कङ्गोमा इबोला नियन्त्रणमा चुनौती

काठमाडौँ । अफ्रिकी देश कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम घेब्रेयेससले परीक्षण तथा प्रयोगशाला सुविधामा सुधार भए पनि संक्रमण नियन्त्रणको प्रयास अझै पर्याप्त नभएको बताएका छन् । उनका अनुसार इबोलाको प्रकोप धेरै अघि बढिसकेको अवस्थामा स्वास्थ्य निकायहरू त्यसलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् ।

कङ्गोको पूर्वी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिँदा स्वास्थ्य संकट झन् जटिल बनेको छ । नर्थ किभु प्रान्तको बेनी क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध उग्रवादी समूह एलाइड डेमोक्रेटिक फोर्सेजले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अनुसार कङ्गो र युगान्डाको संयुक्त सैन्य कारबाहीको प्रतिशोधस्वरूप उक्त आक्रमण गरिएको हो। यसअघि पनि उग्रवादीहरूले सीमावर्ती गाउँहरूमा आक्रमण गरी दर्जनौँ मानिसको ज्यान लिएका थिए। लगातारको हिंसा र असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन्।

मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोपपछि कङ्गोमा हालसम्म इबोलाका ३४४ संक्रमित फेला परिसकेका छन् । तीमध्ये ६० जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि संक्रमण फैलिएको छ, जहाँ १५ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु भएको छ । शंकास्पद बिरामीको संख्या केही घटे पनि विज्ञहरूले वास्तविक अवस्था तथ्यांकले देखाएभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

हालै सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएका टेड्रोसले प्रयोगशाला क्षमता विस्तार गरिएको र संक्रमण पहिचान गर्ने प्रक्रिया पहिलेभन्दा छिटो भएको बताएका छन् । उनले त्यहाँ देखिएको प्रगतिले आशा जगाएको भए पनि चुनौतीहरू अझै ठूलो रहेको उल्लेख गरे । उनले इबोलाको डरका कारण कङ्गोसँग आवतजावतमा प्रतिबन्ध लगाएका देशहरूलाई ती प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् । उनका अनुसार यस्ता प्रतिबन्धले औषधि, स्वास्थ्य सामग्री र राहत कार्यमा असर पुर्‍याइरहेको छ ।

विज्ञहरूका अनुसार इबोला नियन्त्रणका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको पहिचान र निगरानी अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल केवल ४५ प्रतिशत सम्पर्कहरूको मात्र निगरानी भइरहेको छ, जबकि संक्रमण नियन्त्रणका लागि यो दर ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । असुरक्षा, विस्थापन र जनसंख्याको निरन्तर आवागमनका कारण यो काम चुनौतीपूर्ण बनेको छ ।

यसपटक फैलिएको इबोला भाइरस ‘बुन्डिबुग्यो’ प्रकारको भएको बताइएको छ, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । विज्ञहरूका अनुसार सम्भावित खोप विकास गरी प्रभावित क्षेत्रमा पुर्‍याउन अझै केही महिना लाग्न सक्छ। यद्यपि हालसम्म कम्तीमा पाँच जना बिरामी निको भएको जानकारी सार्वजनिक भएकाले केही आशा कायम रहेको छ ।

स्वास्थ्य अधिकारीहरूका लागि अर्को ठूलो समस्या स्थानीय समुदायमा फैलिएका भ्रम र गलत धारणाहरू हुन् । धेरै मानिसहरूले अझै इबोला भाइरसको अस्तित्वमै विश्वास नगरेकाले संक्रमितहरू समयमै उपचारका लागि नआउने गरेका छन्। केही क्षेत्रमा स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमाथि आक्रमणसमेत गरेका छन् भने आफन्तको शव फिर्ता लैजान खोजेका घटनाहरू पनि भएका छन्। यसले संक्रमण फैलिने जोखिम थप बढाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

Read More

आर्थिक संकट बढेपछि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक संकट गहिरिँदै गएपछि निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी अधिकांश सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डको जेठ ११ गते बसेको बैठकले बढ्दो वित्तीय दबाबलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने गैरआकस्मिक सेवा जेठ १६ गतेदेखि लागू हुने गरी बन्द गरिनेछ ।

स्वास्थ्य बीमा बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जारी गरेको सूचनामा सम्बन्धित सबैलाई उक्त निर्णयबारे जानकारी गराइएको छ ।

यस निर्णयपछि स्वास्थ्य बीमा सेवामा आबद्ध सेवाग्राहीले अब निजी अस्पताल तथा स्वास्थ्य संस्थाबाट आकस्मिक सेवाबाहेक अन्य उपचार सेवा बीमा अन्तर्गत तत्काल प्राप्त गर्न नपाउने भएका छन् ।

Single Image

Read More

क्यान्सर अस्पतालमा अत्यावश्यक औषधि अभाव, उपचार सेवामै गम्भीर असर

काठमाडौँ ।  नेपालकै ठूलो क्यान्सर उपचार केन्द्र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा क्यान्सर उपचारका अत्यावश्यक औषधिको अभाव भएको छ। विश्वव्यापी आपूर्ति संकटका कारण कार्बोप्लाटिन (Carboplatin) र सिसप्लाटिन (Cisplatin) जस्ता मुख्य केमोथेरापी औषधि अस्पतालमा उपलब्ध नभएको अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार औषधि अभावले केमोथेरापी उपचारको प्रभावकारितामा गम्भीर असर परेको छ। उनले गुणस्तरहीन तथा अवैध रूपमा भित्रिएका औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा थप जोखिम बढाएको बताए।

उनका अनुसार यी औषधिको अभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमा देखिएको हो। कच्चापदार्थ (एपिआई) आपूर्तिमा कमी आएकाले उत्पादन प्रभावित भएको र निकट भविष्यमा अक्सालोप्लाटिनको समेत अभाव हुन सक्ने चेतावनी उनले दिए।

अस्पतालमा दैनिक करिब २०० बिरामीले केमोथेरापी सेवा लिने गरेका छन्। तर, मुख्य औषधि अभावका कारण उपचारमा ‘सम्झौता’ गर्नुपर्ने अवस्था आएको डा. साहले बताए। उनका अनुसार केही बिरामीले छिमेकी मुलुकबाट औषधि ल्याइरहेका छन्, तर त्यस्ता औषधिको गुणस्तर र तापक्रम व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ।

अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. शिवजी पौडेलले कार्बोप्लाटिन र सिसप्लाटिनको आपूर्ति करिब छ महिनादेखि प्रभावित रहेको बताए। अस्पतालमा रहेको मौज्दातसमेत सकिएको उनले जानकारी दिए।

निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग सहयोगका लागि अनुरोध गरिएको बताए। बालबालिकाका लागि छुट्टै परियोजनाअन्तर्गत रहेको सीमित मौज्दात अन्य बिरामीलाई पनि प्रयोग गर्न अनुमति मागिएको उनले जानकारी दिए।

Read More

काठमाडौँको गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्डफ्लु रोग पुष्टि भएको छ ।

नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा उच्च सङ्क्रामक एच–फाइभ एन–वान प्रकारको एभियन इन्फ्लुएन्जा अर्थात् बर्डफ्लु रोग पुष्टि भएको हो । रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत संक्रमण फैलाउन सक्ने अन्य सामग्री नष्ट गर्ने, सुरक्षित रूपमा व्यवस्थापन गर्ने तथा निसंक्रमण गर्ने कार्य जारी रहेको जनाइएको छ ।

नगरपालिकाले बर्डफ्लु पन्छीबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त रोग भएकाले सम्पूर्ण सर्वसाधारण र सरोकारवालालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

सूचनामा पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारीसाधन प्रवेश गर्न नदिन, प्रवेश गराउनै परे निसंक्रमण गरेर मात्र अनुमति दिन आग्रह गरिएको छ । एउटै फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान पनि अनुरोध गरिएको छ । त्यसैगरी प्रयोग भइसकेका अण्डा राख्ने कागजी क्रेट पुनः प्रयोग नगर्न, फार्म वा खोर प्रवेशद्वारमा चुना तथा निसंक्रमण औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न तथा प्रत्येक पटक खोरमा प्रवेश गर्दा बुट र एप्रोन प्रयोग गर्न भनिएको छ ।

खोरभित्र र बाहिर दैनिक रूपमा निसंक्रमण गर्न, कुकुर, बिरालो, मुसा लगायत अन्य जनावर प्रवेश गर्न नदिने व्यवस्था मिलाउन तथा मरेका पन्छीलाई सकेसम्म छिटो सुरक्षित तरिकाले खाडलमा गाड्न पनि आग्रह गरिएको छ । त्यस्तै पन्छी फार्ममा काम गर्ने व्यक्तिलाई व्यक्तिगत सुरक्षाका उपाय अपनाउन, नियमित हातखुट्टा धुन र स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ ।

त्यसैगरी नगरपालिकाले पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । साथै मासु तथा मासुजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्न आग्रह गरिएको छ ।

अकस्मात धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ ।

Read More

इबोलाबाट कङ्गोमा दुई सयभन्दा बढीको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला संक्रमणको त्रास बढेसँगै त्यहाँ स्यानिटाइजर र मास्कको मूल्य धेरै गुणा बढेको छ भने अस्पतालहरूमा बिरामीको चाप पनि उच्च रहेको छ ।

यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।

विश्वभर इबोला भाइरस रोग (ईभीडी) बाट संक्रमितमध्ये मृत्यु दर करिब २५ देखि ९० प्रतिशतसम्म रहने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखिएको थियो, जसमा सुडान र तत्कालीन जाइरे (हालको लोकतान्त्रिक गणतन्त्र कङ्गो) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

आपतकाल घोषणा पछि विभिन्न देशले विशेष गरी कङ्गो, युगान्डा र सुडान जाने वा त्यहाँबाट फर्किने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेकाछन्  । ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ । 

Read More

बङ्गलादेशमा दादुरा संक्रमण गम्भीर बन्दै, पाँचसय भन्दा बढी बालबालिकाको गयो ज्यान

काठमाडौँ । बङ्गलादेशमा दादुरा जस्तै लक्षण देखिएको सङ्क्रमणले गम्भीर स्वास्थ्य सङ्कटको रूप लिएको छ । पछिल्लो २४ घण्टामा थप १६ बालबालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या ५२८ पुगेको छ । लगातार दोस्रो दिन मृत्यु सङ्ख्यामा ठूलो वृद्धि भएको हो ।

स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १३०६ नयाँ शङ्कास्पद बिरामी फेला परेका छन् । यससँगै कुल शङ्कास्पद बिरामीको सङ्ख्या ६३ हजार नाघेको छ । थप १२८ जनामा सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ६२२ पुगेको छ ।

गत मार्चदेखि हालसम्म ५० हजारभन्दा बढी बिरामी अस्पतालमा भर्ना भइसकेका छन् । धेरै बिरामी निको भए पनि सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले स्वास्थ्य प्रणालीमा दबाब बढेको बताइएको छ ।

संयुक्त राष्ट्र बाल कोषले बङ्गलादेश सरकारलाई खोप अभावबारे पटकपटक चेतावनी दिएको दाबी गरेको छ । सन् २०२४ देखि नै स्वास्थ्य मन्त्रालयलाई पत्र र बैठकमार्फत सम्भावित स्वास्थ्य सङ्कटबारे जानकारी गराइएको जनाइएको छ । संस्थाकी प्रतिनिधि राना फ्लावर्सले समयमै खोप खरिद प्रक्रिया अघि नबढाइएकाले अवस्था झन् जटिल बनेको बताएकी छन् ।

स्वास्थ्य निकायहरूले सङ्क्रमण नियन्त्रणका लागि तीव्र रूपमा काम गरिरहेका छन् । परीक्षण र खोप अभियानलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ भने सरकारले घटनाबारे छानबिन सुरु गरेको छ ।

दादुरा अत्यन्त छिटो सर्ने भाइरसजन्य रोग हो । यसले विशेषगरी बालबालिकालाई असर गर्ने गर्दछ । समयमै खोप नलगाइए रोग गम्भीर बन्न सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान गरेको छ ।

Read More

अध्ययन भन्छ- पाँच मिनेट मात्रैको हल्का शारीरिक गतिविधिले पनि अकाल मृत्यु रोक्छ 

काठमाडौँ । दैनिक जीवनमा थोरै–थोरै शारीरिक गतिविधि बढाउँदै लैजाँदा लामो समयसम्म स्वास्थ्य राम्रो राख्न सकिने र अकाल मृत्युको जोखिम पनि घट्ने नयाँ अध्ययनले देखाएको छ ।

विश्वप्रसिद्ध चिकित्सा जर्नल ‘लान्सेट’मा प्रकाशित एक ठूलो अध्ययन अनुसार, दिनमा केवल पाँच मिनेट मात्रै हल्का वा तीव्र शारीरिक गतिविधि गर्दा पनि करिब १० मध्ये १ अकाल मृत्यु रोक्न सकिने सम्भावना हुन्छ ।

त्यसअनुसार पाँच मिनेट छिटो हिँड्ने, साइकल चलाउने वा भर्‍याङ चढ्ने जस्ता सामान्य गतिविधिले पनि ठूलो जनसंख्यालाई फाइदा पुग्न सक्ने देखिएको छ ।

विशेषज्ञहरूका अनुसार राम्रो स्वास्थ्यका लागि अत्यधिक कठिन व्यायाम आवश्यक छैन । बरु दैनिक जीवनमा हुने सामान्य गतिविधि बिस्तारै बढाउँदै लैजानु नै बढी प्रभावकारी हुन्छ । तर अध्ययनले यो पनि स्पष्ट पारेको छ कि पाँच मिनेटको व्यायाम मात्रले पूर्ण रूपमा स्वास्थ्य सुनिश्चित हुँदैन । तर केही नगर्नुभन्दा यस्ता साना गतिविधि जोड्नु धेरै लाभदायक हुन्छ ।

अध्ययनका प्रमुख निष्कर्ष

अध्ययनका अनुसार पहिले नै सक्रिय र फिट रहेका व्यक्तिमा पाँच मिनेटको अतिरिक्त व्यायामको प्रभाव कम देखिन्छ । अमेरिकाको रोड आइल्याण्ड विश्वविद्यालयकी सहायक प्राध्यापक निकोल लोगनका अनुसार आधारभूत शारीरिक गतिविधिले शरीरमा थकान र तनाव घटाउँछ र बुढ्यौलीको गुणस्तर निर्धारण गर्छ । उनका अनुसार मांसपेशीको शक्ति र हड्डीको मजबुतीले जीवनको दीर्घता समेत प्रभावित गर्छ ।

१ लाख ५० हजारभन्दा बढीको तथ्याङ्क अध्ययन

यो अनुसन्धान बेलायत, अमेरिका र स्क्यान्डिनेभियाका करिब १ लाख ५० हजार वयस्कको तथ्याङ्कमा आधारित छ । नर्वेजियन खेल विज्ञान विद्यालयका प्रोफेसर उल्फ एकेलुन्डका अनुसार दैनिक जीवनमा मात्र पाँच मिनेटको गतिविधि थप्दा पनि अकाल मृत्युको जोखिम घट्ने कुरा आश्चर्यजनक रूपमा पुष्टि भएको छ । उनका अनुसार विश्व स्वास्थ्य संगठनले हप्तामा करिब १५० मिनेट मध्यम स्तरको व्यायाम गर्न सुझाव दिएको छ, जुन अझै पनि महत्वपूर्ण हो । तर जिम जान नसक्ने वा खेलकुदमा सहभागी हुन नसक्ने व्यक्तिले पनि दैनिक जीवनमै थोरै बढी हिँडडुल गरेर लाभ लिन सक्ने अध्ययनले देखाएको छ ।

निष्क्रियता घटाए आयु बढ्ने

अध्ययनले दैनिक बस्ने समय घटाउँदा पनि ठूलो फाइदा हुने देखाएको छ । दिनमा ३० मिनेट कम बस्दा अकाल मृत्युको जोखिम करिब ७ प्रतिशत घट्ने उल्लेख छ । विशेषज्ञहरूका अनुसार लामो समय बसिरहने बानीले मुटु रोगलगायत दीर्घ रोगको जोखिम बढाउछ । अमेरिकी व्यवहारिक चिकित्सा विशेषज्ञ अमान्डा डेलीले गाडी अलि टाढा पार्क गर्ने जस्ता साना अभ्यासलाई पनि उपयोगी बताएकी छन् ।

सानो अभ्यास, ठूलो फाइदा

अनुसन्धानकर्ताहरूका अनुसार हल्का–हल्का गतिविधि दिनभरि गर्ने बानीले मुटु र मांसपेशी दुवै स्वस्थ रहन्छ । यसलाई ‘साना गतिविधि अभ्यास’ भनेर पनि बुझिन्छ । बेलायतको अल्स्टर विश्वविद्यालयकी प्रोफेसर मेरी मर्फीका अनुसार छोटो–छोटो समयमा गरिएको व्यायामले शरीरको ऊर्जा प्रणाली बारम्बार सक्रिय बनाउछ ।

बानीमा बदलिँदा दीर्घकालीन फाइदा

विशेषज्ञहरूका अनुसार सीढी प्रयोग गर्ने, अलि बढी हिँड्ने वा काम गर्दा हल्का स्ट्रेच गर्ने जस्ता बानीले समयसँगै ठूलो स्वास्थ्य सुधार ल्याउन सक्छ । लफबरो विश्वविद्यालयकी प्रोफेसर अमान्डा डेलीका अनुसार यस्ता साना परिवर्तन बिस्तारै बानीमा बदलिन्छन् र पछि स्वाभाविक जीवनशैली बन्छन् । अध्ययनले देखाएको छ कि दैनिक २ हजार ५ सयभन्दा बढी कदम हिँड्दा पनि मुटु रोगको जोखिम उल्लेखनीय रूपमा घट्छ । विशेषज्ञहरूका अनुसार ठूलो कसरतभन्दा पनि नियमित साना–साना गतिविधि नै दीर्घकालीन स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय हुन् ।

Read More

अनाधिकृत रुपमा ‘डाक्टर’ को प्रयोग गरेर उपचार नगर्न मेडिकल काउन्सिलको चेतावनी

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक उपाधिको अनाधिकृत प्रयोग र भ्रामक विज्ञापनविरुद्ध कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

काउन्सिलले नियम अनुसार दर्ता नभएका चिकित्सकले  अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी उपचार सेवा दिने, औषधि सिफारिस गर्ने र परामर्श दिने गरेको पाइएको भन्दै कडा कारवाहीको चेतावनी दिएको हो ।

काउन्सिलले भनेको छ- ‘नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा स्पष्ट उल्लेख गरिएको कानुनी व्यवस्थाहरूको प्रत्यक्ष उल्लङ्घन गर्दै विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालहरूमा गैर- चिकित्सक स्वास्थ्यकर्मीहरू एवं अन्य असम्बन्धित व्यक्तिहरूले समेत आफ्नो नामको अगाडि अनाधिकृत रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरी चिकित्सा अभ्यास गर्ने, औषधिको प्रेस्क्रिप्सन/परामर्श लेख्ने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरिरहेको पाइएको हुँदा यस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । अतः जनस्वास्थ्य तथा बिरामीको सुरक्षासित प्रत्यक्ष सम्बन्ध भएको चिकित्सा क्षेत्र र पेशाको उपहास गर्ने व्यक्तिहरूको विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्न नेपाल मेडिकल काउन्सिलको यसै सूचना मार्फत सम्बन्धित सबैलाई देहाय बमोजिमको सूचना सार्वजनिक गरिएको छ ।’

काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को प्रस्तावनाअनुसार देशभर आधुनिक चिकित्सा प्रणालीको वैज्ञानिक अभ्यासलाई व्यवस्थित गर्ने, चिकित्सकको योग्यता निर्धारण गर्ने र नागरिकको स्वास्थ्य हित संरक्षण गर्ने जिम्मेवारी काउन्सिलको भएको उल्लेख गर्दै ऐनअनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत स्नातक तहको योग्यता हासिल गरी सोही पेशामा संलग्न व्यक्तिलाई मात्र चिकित्सक मानिने व्यवस्था छ । त्यस्तै सम्बन्धित विषयमा स्नातकोत्तर वा डिप्लोमा तथा आवश्यक विशेषज्ञ तालिम प्राप्त व्यक्तिलाई विशेषज्ञ चिकित्सकको रूपमा परिभाषित गरिएको छ ।

काउन्सिलले ऐनको दफा २७ को उपदफा १ अनुसार आफूले नपाएको चिकित्सा सम्बन्धी उपाधि, प्रमाणपत्र वा उपाधिजन्य शब्द नामसँग जोडेर प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको पनि स्मरण गराएको छ । यसै सन्दर्भमा काउन्सिलले शून्य सहनशीलताको नीति अपनाउँदै सम्बन्धित सबैका लागि चार बुँदे निर्देशन सार्वजनिक गरेको छ ।

पहिलो, नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित विधागत परिषदबाट चिकित्सकको मान्यता प्राप्त नगरेका कुनै पनि व्यक्तिले प्रयोग गर्दै आएको “डा.” उपाधि यो सूचना जारी भएको मितिले १५ दिनभित्र हटाउनुपर्नेछ । साथै आधिकारिक कागजात, औषधि सिफारिस पर्चा, क्लिनिकका सूचना पाटी, भ्रमण कार्ड तथा सामाजिक सञ्जालबाट समेत पूर्ण रूपमा हटाउनुपर्नेछ ।

दोस्रो, स्वदेश वा विदेशका शिक्षण संस्थाबाट ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त हुनुको अर्थ नेपालमा स्वतः चिकित्सकीय अभ्यास गर्ने अनुमति नहुने स्पष्ट पारिएको छ । नेपालमा बिरामीको उपचार गर्ने तथा “डा.” वा चिकित्सक उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले जनाएको छ ।

तेस्रो, काउन्सिलमा दर्ता नभएका वा अन्य पेशागत परिषदमा दर्ता भएका व्यक्तिले समेत आधुनिक चिकित्सा अभ्यासको भ्रम सिर्जना गरेमा वा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको सिफारिस हुने चेतावनी दिइएको छ ।

चौथो, तोकिएको १५ दिनको समयसीमा समाप्त भएपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा विद्युतीय माध्यमबाट कडा अनुगमन गर्नेछ । अनुगमनका क्रममा ऐन विपरीत “डा.” उपाधि प्रयोग गरेको वा चिकित्सकीय सेवा दिएको पाइएमा कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने काउन्सिलले जनाएको छ ।

Read More

कङ्गोमा इबोला संक्रमणमा मृत्यु हुनेको संख्या १३१ पुग्यो

काठमाडौँ । कङ्गो लोकतान्त्रिक गणराज्यमा फैलिएको इबोला सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १३१ नाघेको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म १३१ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । कंगोका जान स्वास्थ्यमन्त्रीले पनि १३१ को मृत्यु भएको र ५१३ जना संक्रमित भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले बुन्डिबुग्यो विषाणुबाट फैलिएको हालको इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

युगान्डामा पनि दुई जनामा सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको बताइएको छ । कङ्गोमा सङ्क्रमितमध्ये एक अमेरिकी चिकित्सकसमेत रहेका छन् । उनलाई उपचारका लागि जर्मनी लैजाने तयारी गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले रोग अझ ठूलो रूपमा फैलिन सक्ने चेतावनी दिँदै सीमाक्षेत्रमा कडा निगरानी गर्न आग्रह गरेको छ । रुवान्डाले सीमा जाँच कडा बनाएको छ भने नाइजेरियाले अवस्थामाथि निगरानी बढाएको जनाएको छ ।

अफ्रिका रोग नियन्त्रण केन्द्रले हालसम्म प्रभावकारी औषधि वा स्वीकृत खोप उपलब्ध नभएकाले जनस्वास्थ्यका नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी सङ्क्रमितको अन्त्येष्टिका क्रममा सावधानी अपनाउन चेतावनी दिइएको छ ।

कंगो र युगान्डामा २० भन्दा बढी इबोला प्रकोपहरू भइसकेका छन्, तर बुन्डिबुग्यो भाइरस पत्ता लागेको यो तेस्रो पटक हो । बुनिया, गोमा, मोङब्वालु, बुटेम्बो र न्याकुन्डेमा केसहरू रिपोर्ट गरिएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आज जेनेभामा आफ्नो गहिरो चिन्ता व्यक्त गरे । उनले महामारीको मात्रा र गतिको बारेमा चिन्तित रहेको बताए । 

Read More