२०८३ कार्तिक ७

झापामा जेई संक्रमणबाट चार महिनामा पाँच जनाको मृत्यु

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमध्ये मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका छन् । जेई क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । संक्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्ने गर्छ ।

सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोत मानिन्छ । सुँगुर पालन गर्ने तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्ने व्यक्ति संक्रमणको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन् । उनले सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन पनि अनुरोध गरेका छन् ।

Read More

इबोलाको प्रकोप थप घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्म फैलिएको इबोला महामारीलाई समेत पछि पार्न सक्ने बताएका छन्। उक्त अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।

यस वर्षको इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो। हालसम्म कम्तीमा ४ हजार ३०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

डब्ल्यूएचओका अनुसार आगामी तीन महिनाभित्र भाइरसको फैलावट नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। यद्यपि, तीन महिनाभित्रै रोग पूर्ण रूपमा उन्मूलन हुने भन्ने अर्थ नरहेको संगठनले स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य संक्रमणको फैलावट रोक्नु र यसको गति सुस्त बनाउनु रहेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार मे महिनामा प्रकोपको आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै इबोलाको संक्रमण फैलिन सुरु भइसकेको थियो।

डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया शहरमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी भाइरसको पछिपछि छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।”

उनका अनुसार अनुसन्धानले भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको छ। सुरुवाती चरणमा धेरै बिरामीमा इबोला पहिचान हुन नसक्दा उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइडका रूपमा लिइएको थियो।

Read More

नारायणी अस्पतालमा एएसभी सकिएपछि सर्पदंशका बिरामी अन्यत्र पठाइँदै

काठमाडौं। वीरगन्जस्थित नारायणी अस्पतालमा सर्पदंशका बिरामीलाई दिइने एन्टी स्नेक भेनम (एएसभी) इन्जेक्शन सकिएपछि उपचार प्रभावित भएको छ। दुई दिनदेखि एएसभीको मौज्दात शून्य भएपछि अस्पतालले सर्पदंशका बिरामीलाई अन्य अस्पताल तथा उपचार केन्द्रमा पठाउन थालेको हो।

अस्पताल प्रशासनले सोमबार सूचना जारी गर्दै एएसभी सकिएको र तालुक कार्यालयबाट समेत आपूर्ति हुन नसकेको जनाएको छ।

आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी प्रहलादप्रसाद साहका अनुसार नारायणी अस्पतालमा दैनिक औसत ७–८ जना सर्पदंशका बिरामी आउने गरेका छन्। पर्सा, बारा, रौतहट र सर्लाहीलगायत जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्।

यसअघि एएसभीको मौज्दात घटेपछि ठोरी, निजगढ, कौल्हबी र सर्लाहीको नवलपुरलगायतका सर्पदंश उपचार केन्द्रबाट औषधि ल्याएर काम चलाइएको थियो।

साहले साउन ७ गते नै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुर पुगेर एएसभी अभावबारे जानकारी गराए पनि केन्द्रमा स्टक नभएको जवाफ पाएको बताए। गत आइतबार पुनः फोन गर्दा पनि औषधि आइनसकेको जानकारी पाएको उनको भनाइ छ।

अस्पतालले एएसभीको आपूर्ति नहुँदासम्म सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको जनाएको छ।

Read More

अन्नपूर्ण गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ।

यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको गाउँपालिकाले अब कार्यक्रम विस्तार गरी सबै नागरिकलाई समेट्न लागेको हो। स्वास्थ्य बिमाका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्णमा करिब ६ हजार ५०० घरधुरी छन्। सबै नागरिकको स्वास्थ्य बिमाका लागि विनियोजित रकम अपुग भए आवश्यकताअनुसार थप बजेट व्यवस्था गरिने उनले बताए।

स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरिएको भन्दै अध्यक्ष केसीले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न कार्यक्रम अघि बढाइएको बताए। उनका अनुसार निःशुल्क स्वास्थ्य बिमाले न्यून आय भएका परिवारलाई समयमै उपचार सेवा लिन सहज बनाउनुका साथै उपचारमा लाग्ने आर्थिक भार घटाउनेछ।

गाउँपालिकाले स्वास्थ्य बिमासँगै अन्नपूर्ण आधारभूत अस्पतालको सेवा विस्तार गर्ने तयारीसमेत गरेको छ। अस्पतालमा चिकित्सकको उपलब्धता बढाउनुका साथै स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण थप गर्दै लगिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए।

स्थानीय नागरिकको स्वास्थ्य उपचारको पहिलो सेवा बिन्दुका रूपमा अस्पताललाई विकास गर्ने गाउँपालिकाको नीति छ। अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने व्यवस्था मिलाइएको बरालले बताए।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य बिमासँगै आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कार्यक्रम अघि बढाएको जनाएको छ।

Read More

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन्। सरकारले छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारमध्येबाट डा. आलमलाई परिषद्को अध्यक्षमा चयन गरेको हो।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहमा बोल्दै मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिइन्। उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको नियमन, पेसागत मर्यादा कायम राख्ने तथा जनविश्वास अभिवृद्धि गर्ने कार्यमा परिषद्ले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।

मन्त्री मेहताले नवनियुक्त अध्यक्षलाई फार्मेसी क्षेत्रको सुधार र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।

अध्यक्ष आलमले परिषद्को गरिमा अझ उचो बनाउँदै फार्मेसी क्षेत्रको सुधार, नियमन र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

Read More

बर्डफ्लु नियन्त्रणमा आउँदै, संक्रमण देखिन छाड्यो

काठमाडौं । देशभर देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा आउन थालेको छ । पशु सेवा विभागका अनुसार साउन १ गतेयता नयाँ संक्रमण पुष्टि भएको छैन । पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो ।

विभागका महानिर्देशक डा. उमेश दाहालले हाल अवस्था नियन्त्रणमा रहेको र प्रभावित क्षेत्र आसपासका नमुना परीक्षण जारी रहेको जानकारी दिए ।

चैत ४ गते पहिलोपटक मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा बर्डफ्लु पुष्टि भएको थियो । त्यसपछि ११ जिल्लामा संक्रमण फैलिएको थियो । कुखुरा, हाँस, टर्की, कालिजलगायत पन्छी प्रभावित भएका थिए ।

विभागका अनुसार काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो । देशभर आठ लाख ३५ हजारभन्दा बढी पन्छी नष्ट गरिएको छ भने अण्डा र दाना समेत नष्ट गरिएको छ ।

प्रभावित किसानलाई सरकारले राहत उपलब्ध गराएको छ । हालसम्म १०४ किसान तथा फर्मको खातामा ५० करोड ७१ लाख रुपैयाँभन्दा बढी राहत रकम निकासा गरिएको विभागले जनाएको छ ।

परीक्षण र निगरानीलाई निरन्तरता दिइरहेको विभागले अब संक्रमण फैलिने सम्भावना कम रहेको जनाएको छ । संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेपछि किसानले राहत महसुस गर्न थालेका छन् ।

Read More

ललितपुर महानगरले साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा दिने

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। महानगरले स्वास्थ्यकर्मीको टोली परिचालन गरी आवश्यक परेका नागरिकलाई घरमै पुगेर उपचार सेवा दिने जनाएको छ।

नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य समस्या देखिएमा महानगरको हटलाइन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई आग्रह गरेका छन्।

महानगरका अनुसार हटलाइनमार्फत बिरामीको जानकारी प्राप्त भएपछि एम्बुलेन्ससहित चिकित्सक, नर्स र आवश्यक औषधि बोकेको स्वास्थ्य टोली बिरामीको घरमै पुग्नेछ। स्वास्थ्यकर्मीले बिरामीको अवस्था मूल्यांकन गरी आवश्यक उपचार गर्नेछन्।

घरमै उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि सोही एम्बुलेन्समार्फत अस्पताल पठाउने व्यवस्था समेत गरिएको महानगरले जनाएको छ।

Read More

नेपालको आँखा उपचार सेवाको कम्बोडियामा प्रशंसा, एक हजारभन्दा बढीले लिए निःशुल्क सेवा

काठमाडौं । नेपालको आँखा उपचार सेवा र प्राविधिक क्षमताको कम्बोडियाले प्रशंसा गरेको छ। कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव तथा प्रधानमन्त्रीका निजी सल्लाहकार इट सोफियाले नेपालले सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरको सफलताको प्रशंसा गरेका हुन्।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग भएको भेटमा सोफियाले कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सम्पन्न आँखा शिविरबाट स्थानीय नागरिक लाभान्वित भएको भन्दै नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा असार २० र २१ गते सञ्चालन गरिएको शिविरमा एक हजार दुई जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए।

शिविरमा ३७३ जनालाई औषधि, ४०७ जनालाई चश्मा र १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो। परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो।

भेटका क्रममा नेपाल र कम्बोडियाबीच आँखा उपचारसहित जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता विकासका लागि तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल तयार रहेको बताए।

दुई देशबीच बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी र कम्बोडियाको अङ्कोर वाटबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

Read More

नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा निःशुल्क आँखा शिविर, एक हजारभन्दा बढीले पाए सेवा

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै विदेशमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्न थालेको छ । नेपालका ग्रामीण तथा विपन्न समुदायमा आँखा सेवा पुर्‍याउँदै आएको सङ्घले आवश्यकताका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत शिविर आयोजना गर्न थालेको जनाएको छ ।

नेपाली विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा विदेशमा सञ्चालन गरिएका आँखा शिविर प्रभावकारी बन्दै गएको सङ्घले जनाएको छ । नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा विकास गर्ने, गुणस्तरीय आँखा चिकित्सा शिक्षा प्रवर्द्धन गर्ने र अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सङ्घले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

यसैक्रममा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित Lumbini Eye Institute and Research Center को प्राविधिक सहयोग तथा Embassy of Nepal, Bangkok को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा आयोजना गरिएको शिविरबाट एक हजार दुई जना कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमा ६४१ महिला र ३६१ पुरुष सहभागी भएका थिए ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको उनले जानकारी दिए ।

शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

शिविरसँगै कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपालमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा पनि सहकार्यको पहल भएको छ ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेलको नेतृत्वमा विशेषज्ञ टोलीले आँखा परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको थियो ।

यसैबीच सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, जनशक्ति विकास र संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको छ ।

नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा उपचार, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव चन्दले अन्तर्राष्ट्रिय सहकार्यले नेपाल–कम्बोडिया सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाललाई आँखा उपचार, चिकित्सा शिक्षा र स्वास्थ्य पर्यटनको क्षेत्रमा थप पहिचान दिलाउन सहयोग पुग्ने बताए ।

सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको अनुभव र दक्षता अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताए ।

अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविर सफल बनाउन नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

सङ्घका अनुसार स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा उसका २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत नेपाल तथा अन्य देशका गरी पाँच करोडभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५६ लाखभन्दा बढी आँखाको शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ ।

Read More

आधिकारिक थोक विक्रेताबाट मात्र औषधि खरिद–बिक्री गर्न औषधि व्यवसायी संघको आग्रह

काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं शाखाले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनै व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई आग्रह गरेको छ। औषधिको गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै संघले यस्तो निर्देशन जारी गरेको हो।

संघले जारी गरेको सूचनामा औषधि खरिद–बिक्री गर्दा अनिवार्य रूपमा आधिकारिक स्रोतबाट मात्र कारोबार गर्नुपर्ने, बिल जारी गर्दा ब्याच नम्बर, एक्सपायरी मिति, एमआरपी र परिमाण स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, कुनै पनि फार्मेसीको नाम वा प्यान प्रयोग गरी अनधिकृत व्यक्तिबाट औषधि बिक्री वा बिलिङ नगर्न चेतावनी दिइएको छ।

संघले औषधि व्यवसायीहरूलाई सुरक्षित आपूर्ति प्रणाली सुनिश्चित गर्न, भण्डारण मापदण्ड पालना गर्न तथा ‘कोल्ड चेन’ आवश्यक पर्ने औषधिमा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि बिक्री नगर्न समेत निर्देशन दिइएको छ।

त्यसैगरी खरिद, बिक्री, भण्डारण र वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्नुपर्ने संघले स्पष्ट पारेको छ। औषधि व्यवसाय केवल व्यापार नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएकाले जिम्मेवार र नैतिक रूपमा सञ्चालन गर्नुपर्नेमा पनि संघले जोड दिएको छ।

Read More