२०८३ श्रावण २८

इबोलाको प्रकोप थप घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्म फैलिएको इबोला महामारीलाई समेत पछि पार्न सक्ने बताएका छन्। उक्त अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।

यस वर्षको इबोला प्रकोपको आधिकारिक घोषणा मे १५ मा गरिएको थियो। हालसम्म कम्तीमा ४ हजार ३०० जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

डब्ल्यूएचओका अनुसार आगामी तीन महिनाभित्र भाइरसको फैलावट नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। यद्यपि, तीन महिनाभित्रै रोग पूर्ण रूपमा उन्मूलन हुने भन्ने अर्थ नरहेको संगठनले स्पष्ट पारेको छ। हालको मुख्य लक्ष्य संक्रमणको फैलावट रोक्नु र यसको गति सुस्त बनाउनु रहेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार मे महिनामा प्रकोपको आधिकारिक घोषणा हुनुभन्दा कम्तीमा तीन महिनाअघि नै इबोलाको संक्रमण फैलिन सुरु भइसकेको थियो।

डब्ल्यूएचओ अफ्रिकाका निर्देशक डा. मोहम्मद जनाबीले बूनिया शहरमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामी भाइरसको पछिपछि छौँ, तर भाइरस हामीभन्दा अगाडि छ।”

उनका अनुसार अनुसन्धानले भाइरस फेब्रुअरीदेखि नै फैलिन थालेको देखाएको छ। सुरुवाती चरणमा धेरै बिरामीमा इबोला पहिचान हुन नसक्दा उनीहरूको लक्षणलाई मलेरिया वा टाइफाइडका रूपमा लिइएको थियो।