२०८३ श्रावण २८

शेरबहादुर देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। हङकङबाट उनी आज नेपाल आउन लागेका हुन्। जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवा त्यसपछि हङकङ पुगेका थिए।

देउवा स्वदेश फर्किने भएपछि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरू बिहान १० बजेदेखि विमानस्थलमा भेला हुने कार्यक्रम रहेको छ।

देउवालाई स्वागत गर्न सात हजारभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी हुने तयारी गरिएको छ। उनको गृह जिल्लासहित विभिन्न स्थानबाट समेत नेता तथा कार्यकर्ता काठमाडौं आएका छन्। राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेका छन्।

स्वागत कार्यक्रमको संयोजनका लागि विशेषगरी तरुण दल र विद्यार्थी संगठन परिचालन समितिलाई जिम्मेवारी दिइएको छ। सांस्कृतिक समितिले विभिन्न झाँकीसहितको प्रस्तुति गर्ने तयारी गरेको जनाइएको छ।

देउवा दिउँसो १२ः२५ बजे थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा वारेसमार्फत सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।