२०८३ कार्तिक ७

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव रहेको छ।

उनले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्।

Read More

आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. अर्याल नियुक्त

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

डा. अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस र कायचिकित्सामा एमडी गरेका छन्। एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।

उनी सन् २००९ देखि नेशनल नेचर केयर हस्पिटलमा मेडिकल डाइरेक्टरका रूपमा कार्यरत छन्। यसअघि नरदेवीस्थित आयुर्वेद अस्पतालमा कन्सल्टेन्ट कायचिकित्सकका रूपमा समेत काम गरेका थिए।

Read More

झापामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं। झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको संक्रमणका कारण गत साता मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा हालसम्म ११ जनामा जेइ संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्।

संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षण विस्तार गरेको छ। जोखिमयुक्त क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी अवस्था अनुगमन गर्ने तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।

Read More

आमाले कलेजो दान गरेपछि ५ वर्षीया बालिकाको सफल प्रत्यारोपण

काठमाडौं। नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले आमाबाट छोरीमा गरिएको जीवितदाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था जटिल रहेकाले करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीपछि स्वास्थ्य अवस्था स्थिर बनाएर प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।

वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन्। आमाबाट छोरीमा गरिएको उक्त जीवितदाता कलेजो प्रत्यारोपण सफल भएको हो।

बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल चिकित्सा प्रक्रिया मानिन्छ। यसका लागि प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ। किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार सेवासमेत विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

एक आमाको त्याग र चिकित्सकहरूको समर्पणबाट सम्भव भएको यो सफलताले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकास र विस्तारतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको केन्द्रको विश्वास छ।

Read More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन ओपीडी टिकट सेवा सुरु

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलमार्फत ओपीडी टिकट लिन सक्ने भएका छन्। प्रतिष्ठानले सूचना प्रविधिको प्रयोग गर्दै अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार बिरामीले ‘राप्ती एकेडेमी हेल्थ’ वा ‘मेरो डाक्टर’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नेछन्। एपमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। प्रतिष्ठानले यो सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुशासन अभियानलाई आत्मसात् गर्दै सूचना प्रविधिको प्रयोगमार्फत बिरामीमैत्री स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। बिरामीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन अनलाइन ओपीडी टिकट प्रणाली सुरु गरिएको उनको भनाइ छ।

अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी उपचार गराउने सेवा, चिकित्सक तथा उपलब्ध समय आफूअनुकूल छनोट गर्न सक्नेछन्। नयाँ बिरामीले आवश्यक व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा अभिलेखमा रहेको विवरणका आधारमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

मोबाइल एपमार्फत बिरामीले आवश्यक विवरण सुरक्षित रूपमा प्रविष्ट गरी आफूलाई आवश्यक सेवा र समय छनोट गरेर ओपीडी टिकट लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले अनलाइन टिकट सेवाले अस्पतालमा टिकट काट्न लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने बताए। डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवालाई थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले सेवा सुरु गरिएको उनले जानकारी दिए।

घरमै बसेर ओपीडी टिकट लिन सकिने भएपछि बिरामीको समय बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ। प्रतिष्ठानले आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने जनाएको छ।

Read More

‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित विश्व लामखुट्टे दिवस मनाइँदै

काठमाडौं । लामखुट्टेको टोकाइबाट फैलिने रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व लामखुट्टे दिवस मनाइँदैछ। यस वर्ष दिवसको मूल सन्देश ‘सानो टोकाइ, ठूलो चुनौती’ रहेको छ।

लामखुट्टेको टोकाइबाट औँलो, डेँगी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न रोग फैलिने गर्छन्। नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भएको जनाइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टे तथा त्यसबाट सर्ने रोगको जोखिम उच्च हिमाली क्षेत्रसम्म विस्तार हुन थालेको विभागले जनाएको छ। तापक्रम र वातावरणीय परिवर्तनका कारण यसअघि कम जोखिममा रहेका क्षेत्रमा समेत कीटजन्य रोगको सम्भावना बढ्दै गएको बताइएको छ।

कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डा. कर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिएको छ।

दिवसका अवसरमा लामखुट्टेको टोकाइबाट बच्ने उपाय, रोगको समयमै पहिचान तथा उपचार र व्यक्तिगत तथा सामुदायिक सरसफाइबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिँदैछ।

Read More

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पहिचान

काठमाडौं। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो एक वर्षमा चितवनसहित १६ जिल्लाबाट ल्याइएका करिब सात हजार कुखुराको पोस्टमार्टम गरी विभिन्न रोगको पहिचान गरेको छ। प्रयोगशालाले पोस्टमार्टमसँगै नमुना परीक्षणमार्फत कुखुरामा देखिने रोग र संक्रमणको समेत अनुसन्धान गर्दै आएको छ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार एक हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग तथा संक्रमण देखिएका छन्। परीक्षणमा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा सीआरडी, नौ प्रतिशतमा ढुसीजन्य रोग, चार प्रतिशतमा सीसीआरडी र ३.५ प्रतिशतमा साल्मोनेलोसिस देखिएको छ।

त्यस्तै, एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेत रोगको संक्रमणसमेत पहिचान भएको छ। द्रुत परीक्षणमा २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा र १७६ मध्ये १०९ वटामा गम्बारो संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। रानीखेतका ९९ नमुनामध्ये सात तथा आईबीका ४६ नमुनामध्ये दुई वटामा संक्रमण पुष्टि भएको छ।

पीएटी विधिबाट परीक्षण गरिएका ३६९ नमुनामध्ये १२ वटामा साल्मोनेला देखिएको छ। त्यस्तै, ३६० नमुनामध्ये १६ वटामा माइकोप्लाज्मा, एलाइजा परीक्षण गरिएका १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र थप १८४ नमुनामध्ये ९२ वटामा चिकेन इन्फेक्सियस एनेमिया भाइरस (सीआईएभी) संक्रमण देखिएको छ। ९०० नमुनाको कल्चर परीक्षण गर्दा ७८९ वटामा संक्रमण पुष्टि भएको थियो।

संक्रमित कुखुराका लागि आवश्यक एन्टिबायोटिकबारे सेवाग्राहीलाई परामर्श दिइएको प्रयोगशालाले जनाएको छ। कुखुराजन्य रोग नियन्त्रणका लागि खोरको सरसफाइ, स्वास्थ्य निगरानी तथा अन्य जैविक सुरक्षा (बायोसिक्युरिटी)का उपाय प्रभावकारी रूपमा अपनाउनुपर्ने डा. श्रेष्ठले बताए।

Read More

दैलेखको भाँडेमा एक सातादेखि ज्वरोका बिरामी बढे

काठमाडौं । वर्षा सुरु भएसँगै दैलेखको नौमुले गाउँपालिका–३ भाँडेमा एक सातादेखि ज्वरोका बिरामी बढेका छन्। ८२ घरधुरी रहेको गाउँका कम्तीमा १८ घरधुरीमा ज्वरोका बिरामी रहेको स्थानीयले बताएका छन्।

ठुलो चम्लाए, निर्गा, भावसैनी र भित्री खोलालगायत बस्तीमा ज्वरो फैलिएको स्थानीय अगुवा गंगाराम सापकोटाले बताए। उपचारका लागि नौमुले बजार पुग्न करिब तीन घण्टा र द्वारी स्वास्थ्य चौकी पुग्न झण्डै दुई घण्टा लाग्ने भएकाले वर्षाका कारण थप समस्या भएको स्थानीयको भनाइ छ।

भाँडेमै रहेको कागते स्वास्थ्य इकाइ करिब एक वर्षदेखि बन्द रहेकाले गाउँमा उपचारको सहज सुविधा छैन। अस्थायी स्वास्थ्यकर्मीले सिटामोल वितरण गर्दै आए पनि बिरामी निको नभएको स्थानीयले बताएका छन्।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले ज्वरोका बिरामीबारे जानकारी प्राप्त भएकाले तत्काल स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताए। टोलीले बिरामीको अवस्था बुझेर आवश्यक उपचारको व्यवस्था गर्ने उनले जानकारी दिए।

Read More

मधेसमा सर्पदंशका घटना बढेपछि एन्टी स्नेक भेनमको आपूर्ति बढाइयो

काठमाडौं । गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्र तथा अस्पतालमा एन्टी स्नेक भेनम (सर्पदंशविरुद्धको औषधि) पठाउन थालिएको छ।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार प्रदेशमा सर्पदंशको उपचार हुने २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार औषधि पठाउन सुरु गरिएको हो।

सिरहाको चोहर्वास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र र वीरगञ्जस्थित नारायणी अस्पतालमा औषधिको अभाव देखिएपछि तत्कालका लागि क्रमशः ३० र १०० भायल एन्टी स्नेक भेनम पठाइएको उनले जानकारी दिए। अन्य उपचार केन्द्रमा पनि मागअनुसार औषधि आपूर्ति भइरहेको छ।

उनका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल ९०० भायल एन्टी स्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि ल्याउने प्रक्रिया अघि बढाइएको छ। कुनै पनि उपचार केन्द्रमा औषधिको अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको उनले बताए।

पछिल्ला केही दिनयता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। ग्रामीण क्षेत्रमा खेतबारी तथा घरवरपर सर्पको गतिविधि बढेसँगै जोखिम थपिएको उनले बताए। केही दिनअघि एन्टी स्नेक भेनमको अभाव देखिए पनि हाल अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ।

सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घरवरपरका झाडी सफा राख्न तथा खेतबारीमा काम गर्दा बुटलगायत सुरक्षात्मक सामग्री प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्। सर्पले टोकेमा झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नसमेत आग्रह गरिएको छ।

मधेस प्रदेश सरकारले सर्पदंशलाई मनसुन तथा गर्मीयाममा देखिने प्रमुख सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा आवश्यक औषधि, स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।

Read More

चितवनमा साउनमा चार जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस

काठमाडौं । चितवनमा साउन महिनामा हालसम्म चार जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार वर्षायामसँगै दुवै रोगको जोखिम बढेकाले जिल्लाका स्थानीय तहसँगको समन्वयमा रोकथाम तथा सचेतना अभियान सञ्चालन भइरहेको छ।

चितवनका स्थानीय दुई जनामा डेङ्गु पुष्टि भएको छ। कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण देखिएको हो। यस्तै, स्थानीय छ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका पाँच जना र रत्ननगर नगरपालिकाका एक जनामा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। यससँगै साउनमा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ। दुवै रोगका कारण हालसम्म चितवनमा कुनै मृत्यु नभएको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

वर्षायाममा डेङ्गुको जोखिम बढ्ने भएकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको केसीले बताए। इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको अभियान अन्य स्थानीय तहमा समेत विस्तार गरिएको छ। अभियानमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत सहभागी छन्।

लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन तथा घरआँगन र वरपरका टायर, गमला, भाँडाकुँडा लगायतका स्थान नियमित सफा राख्न आग्रह गरिएको छ। स्क्रब टाइफसबाट बच्न घरवरपर झाडी नराख्ने तथा घाँस, खेतबारी वा जंगलमा जाँदा शरीर ढाक्ने कपडा लगाएर किर्नाको टोकाइबाट जोगिन सुझाव दिइएको छ।

ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गुका २७४ र स्क्रब टाइफसका ८९३ सङ्क्रमित अभिलेखमा रहेका थिए। उक्त अवधिमा पनि दुवै रोगका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ।

Category: Others

Read More