२०८३ भाद्र ९

एक वर्षमा सात हजार कुखुराको पोस्टमार्टम, विभिन्न रोगको संक्रमण पहिचान

काठमाडौं। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले पछिल्लो एक वर्षमा चितवनसहित १६ जिल्लाबाट ल्याइएका करिब सात हजार कुखुराको पोस्टमार्टम गरी विभिन्न रोगको पहिचान गरेको छ। प्रयोगशालाले पोस्टमार्टमसँगै नमुना परीक्षणमार्फत कुखुरामा देखिने रोग र संक्रमणको समेत अनुसन्धान गर्दै आएको छ।

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार एक हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग तथा संक्रमण देखिएका छन्। परीक्षणमा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा सीआरडी, नौ प्रतिशतमा ढुसीजन्य रोग, चार प्रतिशतमा सीसीआरडी र ३.५ प्रतिशतमा साल्मोनेलोसिस देखिएको छ।

त्यस्तै, एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेत रोगको संक्रमणसमेत पहिचान भएको छ। द्रुत परीक्षणमा २७८ नमुनामध्ये ४७ वटामा एभियन इन्फ्लुएन्जा र १७६ मध्ये १०९ वटामा गम्बारो संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ। रानीखेतका ९९ नमुनामध्ये सात तथा आईबीका ४६ नमुनामध्ये दुई वटामा संक्रमण पुष्टि भएको छ।

पीएटी विधिबाट परीक्षण गरिएका ३६९ नमुनामध्ये १२ वटामा साल्मोनेला देखिएको छ। त्यस्तै, ३६० नमुनामध्ये १६ वटामा माइकोप्लाज्मा, एलाइजा परीक्षण गरिएका १८४ नमुनामध्ये ३८ वटामा माइकोप्लाज्मा र थप १८४ नमुनामध्ये ९२ वटामा चिकेन इन्फेक्सियस एनेमिया भाइरस (सीआईएभी) संक्रमण देखिएको छ। ९०० नमुनाको कल्चर परीक्षण गर्दा ७८९ वटामा संक्रमण पुष्टि भएको थियो।

संक्रमित कुखुराका लागि आवश्यक एन्टिबायोटिकबारे सेवाग्राहीलाई परामर्श दिइएको प्रयोगशालाले जनाएको छ। कुखुराजन्य रोग नियन्त्रणका लागि खोरको सरसफाइ, स्वास्थ्य निगरानी तथा अन्य जैविक सुरक्षा (बायोसिक्युरिटी)का उपाय प्रभावकारी रूपमा अपनाउनुपर्ने डा. श्रेष्ठले बताए।