२०८३ भाद्र ९

बारामा चार वर्षीया बालिकाको हत्या प्रकरणमा ९ जना पक्राउ

काठमाडौं। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७, भक्तिनगरमा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत साउन २ गते बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनामा पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

पक्राउ पर्नेमा जितपुर–सिमरा–७ का २४ वर्षीय प्रविण भन्ने पुरुष चौधरी, परिवर्तित नाम ३३ जिल्ला बस्ने १६ वर्षीय ‘नवसती’ (क), ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीय पुष्पा चौधरी, २६ वर्षीय ममता चौधरी, ४५ वर्षीय शेख हुस्मुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर, ३३ वर्षीय नवीन विक र परिवर्तित नाम ३३ जिल्ला बस्ने २४ वर्षीय ‘छटिमाई’ (क) छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि बारा जिल्ला अदालत, कलैयाबाट पहिलोपटक चार दिन र दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ। अदालतबाट प्राप्त म्यादअनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।