२०८३ कार्तिक ८

चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं। चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ः४० बजे राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारलाई रोकेर जाँच गरिएको थियो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कार नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा कारको पछाडिको डिक्कीमा राखिएका १२ वटा प्याकेटबाट १६८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा कार चालक डिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ पक्राउ परेका छन्।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

Read More

उद्योगलाई दिएको सहुलियतको आश्वासन पूरा गर्न सरकारसँग निजी क्षेत्रको माग

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले उद्योग स्थापना गर्न सरकारले दिएको सहुलियतको आश्वासन पूरा नगर्दा अटोमोबाइल क्षेत्रका उद्योग समस्यामा परेको बताएका छन्।

मंगलबार काठमाडौंमा सुरु भएको नाडा अटो शो–२०२६ को उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले उद्योग स्थापना भइसकेपछि सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गरे।

उनका अनुसार अटोमोबाइल क्षेत्रमा उच्च भन्सार दर घटाउन निजी क्षेत्रले माग गर्दा तत्कालीन अर्थमन्त्रीले नेपालमै उद्योग स्थापना गर्न आग्रह गर्दै सहुलियत दिने आश्वासन दिएका थिए। तर, उद्योग स्थापना भएपछि तिनको अवस्था र समस्याबारे सरकारले पर्याप्त चासो नदिएको उनको भनाइ छ।

श्रेष्ठले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने सरकारी प्रयास सकारात्मक भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको संरक्षण र नयाँ लगानीको वातावरण निर्माणमा पनि समान रूपमा ध्यान दिनुपर्ने बताए।

श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै बजारमा माग बढ्न नसक्दा उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ भइरहेको बताए।

उनले आफ्नो लामो व्यावसायिक यात्रामा अहिलेको जस्तो कमजोर व्यावसायिक मनोबलको अवस्था पहिलोपटक अनुभव गरेको दाबी गरे। बजारमा माग विस्तार नहुँदा उत्पादन, लगानी र व्यवसाय विस्तारमा समेत असर परेको उनको भनाइ छ।

महासंघ अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। स्थिर व्यावसायिक वातावरण र उद्योग सञ्चालनका समस्या समाधान नगरेसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ छ।

उनले अटोमोबाइल क्षेत्रले सरकारलाई उल्लेख्य राजस्व योगदान दिँदै आएको भए पनि यस क्षेत्रका उद्योग तथा व्यवसायले भोगिरहेका समस्या समाधानमा अपेक्षित ध्यान नपुगेको बताए।

नयाँ लगानी आकर्षित गर्न तथा सञ्चालनमा रहेका उद्योगलाई टिकाइराख्न कर तथा भन्सार नीति, कर्जा सुविधा, बजार माग र व्यावसायिक वातावरणमा सुधार आवश्यक रहेको उनले बताए।

Read More

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं। राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

मन्त्री गौतमले विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेपछि राष्ट्रिय सभा अध्यक्षले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ १६ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित भएको छ।

Read More

सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ९ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

Read More

कालो चस्मा लगाउने कारण खुलाउँदै प्रधानमन्त्री शाहद्वारा संसद् सचिवालयमा पत्र

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले संसद्मा कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद् सचिवालयमा स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र पठाएका छन्। उज्यालोमा हेर्न असहज हुने भएकाले कालो चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको पत्रमा उल्लेख गरिएको जनाइएको छ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको पत्र सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी भएर सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम छ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक तथा सचेतकमाफर्त सांसदहरूलाई कालो चस्मा नलगाउन निर्देशन दिएका थिए। चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट पेस गर्नुपर्ने सभामुखको भनाइ थियो।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसम्बन्धी व्यवस्था छ। प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ।

प्रधानमन्त्री शाहले उज्यालोमा हेर्न असहज भएको भन्दै साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराएका थिए। परीक्षणका क्रममा उज्यालोमा हेर्न कठिनाइ हुने र आँखामा सुख्खापनको समस्या देखिएकाले आवश्यकताअनुसार आइड्रप प्रयोग गर्न चिकित्सकीय सुझाव दिइएको जनाइएको छ।

Read More

‘द राइज अफ साम्राज्य’मा अञ्जना बराइली अनुबन्ध

काठमाडौं। निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन्। उनीसँगै चलचित्रको कलाकार टोली थप विस्तार भएको छ।

यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल चलचित्रमा जोडिइसकेका छन्। अञ्जनाको प्रवेशसँगै चलचित्रको कलाकार लाइनअप थप बलियो बनेको निर्माण पक्षले जनाएको छ।

निर्देशक चौधरीका अनुसार कथाको माग र दर्शकको रुचिलाई ध्यानमा राख्दै कलाकार छनोट गरिएको हो। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र मल्टिस्टार एक्सन ड्रामा रहने बताइएको छ।

चलचित्रको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीले यसपटक अघिल्ला चलचित्रको तुलनामा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने लक्ष्य राखेको जनाएको छ।

चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने तयारी छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा छायांकन गरिनेछ।

चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।

मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।

Read More

नाबालिकालाई होटलमा लगेर शोषण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पुर्‍याई यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भनिने पार्वती ऋषिका र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्।

प्रहरीका अनुसार गत साउन ३१ गते घरबाट निस्किएपछि बालिका सम्पर्कविहीन भएकी थिइन्। आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। खोजतलासका क्रममा भदौ ४ गते बालिका फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा पार्वती ऋषिकाले बालिकालाई प्रलोभनमा पारी गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ। त्यहाँ बालिकालाई यौन शोषणमा लगाइएको आरोप छ।

प्रहरीले दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप अनुमति लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत तय भएको थियो।

बैठक स्थगित भएसँगै आजका लागि तय भएका यी कार्यसूची अर्को बैठकमा सर्नेछन्।

Read More

बन्दप्रायः उदयपुर सिमेन्ट उद्योगलाई फेरि चलाउने सरकारको ठूलो तयारी

काठमाडौं । सरकारले लामो समयदेखि समस्याग्रस्त रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। उद्योग सञ्चालनका लागि महत्वपूर्ण मानिएको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

उदयपुर सिमेन्टको चुनढुंगा उत्खनन अनुमतिपत्र यसअघि २०८१ असोजमा रद्द गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अनुमतिपत्र रद्द भएपछि उद्योगको सञ्चालन थप प्रभावित बनेको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ फागुन १ गते उदयपुर सिमेन्ट उद्योगलाई पत्र पठाउँदै खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अनुसार अनुमतिपत्र रद्द गरिएको जानकारी दिएको थियो।

मन्त्रिपरिषद्ले खोल्यो उद्योग सञ्चालनको बाटो

सरकारले १८ असार २०८३ मा गरेको निर्णयमार्फत उदयपुर सिमेन्ट उद्योगको साविकमा रद्द भएको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्ने बाटो खोलेको हो।

मन्त्रिपरिषद्ले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२ को उपदफा (३) बमोजिम अनुमतिपत्र जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिएको छ।

त्यस्तै, उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्न बाँकी रहेको ७४ लाख ९७ हजार ३३१ रुपैयाँ ९५ पैसा सरकारले नै उपलब्ध गराउने निर्णयसमेत भएको छ।

सरकारको निर्णयअनुसार उदयपुर सिमेन्ट उद्योगले तिर्नुपर्ने बक्यौता रकमसमेत राज्यले बेहोर्ने भएको छ। स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै अर्थ मन्त्रालयले उक्त रकम खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराइसकेको छ।

यससँगै उद्योगलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रशासनिक र कानुनी प्रक्रिया अघि बढाउने वातावरण बनेको छ।

महाप्रबन्धक नियुक्त गरेर पूर्ण क्षमतामा चलाउने योजना

सरकारले अब उदयपुर सिमेन्ट उद्योगका लागि महाप्रबन्धक नियुक्त गर्ने तयारी गरेको छ। त्यसपछि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना सरकारको छ।

हाल उद्योगको दैनिक उत्पादन क्षमता ८०० मेट्रिक टन रहेको छ। उद्योगलाई नियमित रूपमा सञ्चालन गरेर उत्पादन क्षमता उपयोग गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।

उदयपुर सिमेन्ट उद्योग २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो नेपालकै ठूलो सिमेन्ट उद्योग कम्पनीका रूपमा स्थापित भएको थियो।

उदयपुरको त्रियुगा नगरपालिका–११, जलजलेमा रहेको उद्योगका लागि आवश्यक चुनढुंगा उत्तरी क्षेत्रको सुकौराबाट रोपवेमार्फत ल्याउने पूर्वाधार निर्माण गरिएको छ।

एसियाकै ठूला सिमेन्ट उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्टलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको प्रयास सफल भएमा लामो समयदेखि समस्यामा रहेको सरकारी उद्योग पुनर्जीवित हुने अपेक्षा गरिएको छ।

Read More

मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध रिटमा उच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिलाई चुनौती दिँदै दायर भएका दुई छुट्टाछुट्टै रिटमा उच्च अदालत पाटनको हेटौँडा इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अदालतले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ १० गते बोलाएको छ।

न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो। निवेदकहरूले तत्काल अन्तरिम आदेश माग गरे पनि अदालतले त्यसबारे तत्काल निर्णय नगरी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

दुई जनाले दायर गरे छुट्टाछुट्टै रिट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री थापामगरको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका हुन्। दुवै निवेदनमा तत्काल अन्तरिम आदेशको माग गरिए पनि अदालतले भदौ १० गते दुवै पक्षको उपस्थितिमा यसबारे छलफल गर्ने भएको छ।

विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आदेश

अदालतले निवेदकले माग गरेअनुसार आदेश जारी गर्नुपर्ने हो वा होइन भन्ने विषयमा आधार, प्रमाण र कारणसहित बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

रिटमा बागमती प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, सभामुख तथा सम्बन्धित राजनीतिक दल र संसदीय दलका नेताहरूलाई विपक्षी बनाइएको छ।

प्रदेश प्रमुख र प्रदेश प्रमुखको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय हेटौँडा तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र सभामुखका तर्फबाट मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

मुख्यमन्त्री नियुक्तिको आधार बनेको समर्थनमा विवाद

निवेदकहरूले थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने आधारका रूपमा प्रस्तुत गरिएको समर्थन नै विवादित रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त समर्थनलाई मान्यता दिएर मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया संविधानसम्मत छैन।

रिट निवेदनमा राप्रपाका तत्कालीन बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले नेकपा (एमाले) का थापामगरलाई मुख्यमन्त्री बनाउन पार्टीको निर्णय तथा निर्देशनविपरीत समर्थन गरेको उल्लेख छ। सोही समर्थनलाई आधार बनाएर मुख्यमन्त्री नियुक्त गरिएको निवेदकहरूको दाबी छ।

राप्रपा केन्द्रीय समितिले तत्कालीन संसदीय दलका नेता थापाले दिएको समर्थन पार्टीको आधिकारिक नभएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराएको भए पनि त्यसलाई मान्यता दिइएको दाबीसमेत रिटमा गरिएको छ।

भदौ ४ मा मुख्यमन्त्री नियुक्त भएका थिए थापामगर

एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाका प्रदेश सभा सदस्यको समर्थनसहित एमालेका थापामगरले भदौ ३ गते मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुख देवकोटाले भदौ ४ गते उनलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।

अब भदौ १० गते हुने छलफल तथा विपक्षीबाट प्राप्त हुने लिखित जवाफका आधारमा अदालतले अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ।

Category: राजनीति / कानुनी विवाद
Subcategory: बागमती प्रदेश

Read More