२०८३ भाद्र ९

चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं। चितवनको राप्ती नगरपालिकाबाट प्रहरीले १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ३ः४० बजे राप्ती नगरपालिका–१० स्थित चिप्लेटीमा पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारलाई रोकेर जाँच गरिएको थियो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.प्र.०३-०१-०२३ च ५८२८ नम्बरको कार नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा कारको पछाडिको डिक्कीमा राखिएका १२ वटा प्याकेटबाट १६८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा कार चालक डिल्लीराम थारू र कारमा सवार कर्णबहादुर तामाङ पक्राउ परेका छन्।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।