२०८३ कार्तिक ८

कर्णालीमा मन्त्री चयन अझै अनिश्चित, सात आकांक्षीको नाम केन्द्रमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सहभागी हुने तीन मन्त्रीको टुंगो लाग्न नसकेपछि पार्टीले सात जना सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाएको छ। अब मन्त्री छनोटको अन्तिम निर्णय पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले गर्ने भएका छन्।

नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीका अनुसार प्रदेश तहमा सोमबार बिहानसम्म सहमति बन्न नसकेपछि आकांक्षीहरूको नाम केन्द्रमा पठाइएको हो। केन्द्रबाट नाम निश्चित भएपछि मात्र मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने उनले बताएका छन्।

यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी थियो। प्रदेश प्रमुखको कार्यालयले पनि कार्यक्रमको समय तय गरिसकेको थियो। तर मन्त्रीको नाम अन्तिम समयमा सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम रोक्न आग्रह गरेका थिए।

नेकपाभित्र विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामासहितका नेताहरू मन्त्रीका सम्भावित नामका रूपमा चर्चामा थिए। आकांक्षीको संख्या बढेपछि सहमति जुटाउन कठिन भएको हो। यही विवादले पार्टीभित्र रहेका साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धारबीचको मतभेदसमेत बाहिर ल्याएको छ।

नेकपा र नेकपा एमालेबीचको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी पाएको छ। उसका लागि भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छुट्याइएको छ। एमालेको तर्फबाट भने तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।

मन्त्री छनोटमा भइरहेको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको प्रदेश सरकार गठन भएको झन्डै एक महिना पुग्न लाग्दा पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। मन्त्रिपरिषद् पूर्ण नहुँदा बजेट कार्यान्वयनदेखि सरकारका नियमित प्रशासनिक कामसम्म प्रभावित हुन सक्ने भन्दै सरकारमाथि आलोचना बढिरहेको छ।

Read More

फ्रिक्वेन्सी अक्सनमा कस्ता कम्पनी सहभागी हुन पाउनेछन्?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डको बाँकी फ्रिक्वेन्सी प्रतिस्पर्धात्मक प्रक्रियाबाट वितरण गर्न थालेसँगै सहभागी कम्पनीका लागि वित्तीय तथा नियामकीय मापदण्ड पनि स्पष्ट गरेको छ। अक्सनमा सहभागी हुन इच्छुक सेवा प्रदायकले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ), फ्रिक्वेन्सी दस्तुरलगायतका दायित्व पूरा गरेको हुनुपर्नेछ। कुनै प्रकारको बक्यौता रहेका कम्पनीलाई प्रतिस्पर्धामा सहभागी हुन नदिइने प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सम्बन्धित फ्रिक्वेन्सी ब्यान्डमा रेडियो फ्रिक्वेन्सी नीतिले तोकेको अधिकतम सीमा हासिल गरिसकेका सेवा प्रदायक पनि अक्सनका लागि योग्य हुने छैनन्।

प्राधिकरणले २०७५ पुसमा ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डमा उपलब्ध बाँकी स्पेक्ट्रम वितरण गर्न अक्सन प्रक्रिया अघि बढाएको थियो। तर, फ्रिक्वेन्सी वितरणको प्रक्रियालाई लिएर केही कम्पनीले सर्वोच्च अदालतमा कानुनी चुनौती दिएपछि प्रक्रिया रोकिएको थियो।

प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार २०७५ र २०७६ मा प्रकाशित अक्सनसम्बन्धी सूचनाविरुद्ध अदालतमा मुद्दा परेको थियो। त्यसपछि प्राधिकरणले २०७६ मंसिरमा सोही ब्यान्डमा बाँकी रहेको फ्रिक्वेन्सी वितरणका लागि पुनः सूचना जारी गरेको थियो।

टेलिकमले ८०० मेगाहर्ज ब्यान्ड फोरजी सेवामा प्रयोग गर्दै आएको छ। कम फ्रिक्वेन्सीको यो ब्यान्ड विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा मोबाइल नेटवर्कको पहुँच विस्तार गर्न उपयोगी मानिन्छ। थप स्पेक्ट्रम वितरणले यस्ता क्षेत्रमा सेवा विस्तार र कभरेज सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फाइभजी फ्रिक्वेन्सी अक्सनको आधार तयार

सरकारले यसअघि फाइभजी सेवाका लागि उपयोग हुने ३३०० देखि ३७०० मेगाहर्ज ब्यान्डको आधार मूल्य निर्धारण गरिसकेको छ। यसमध्ये ३५०० मेगाहर्ज ब्यान्डलाई विश्व बजारमा फाइभजीका लागि महत्वपूर्ण मिड–ब्यान्ड मानिन्छ। आधार मूल्य निर्धारण भएसँगै दूरसञ्चार प्राधिकरणलाई फाइभजीसहित अन्य फ्रिक्वेन्सी ब्यान्डको वितरण प्रक्रिया अघि बढाउने आधार तयार भएको छ।

Read More

बारामा चार वर्षीया बालिकाको हत्या प्रकरणमा ९ जना पक्राउ

काठमाडौं। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७, भक्तिनगरमा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत साउन २ गते बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनामा पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

पक्राउ पर्नेमा जितपुर–सिमरा–७ का २४ वर्षीय प्रविण भन्ने पुरुष चौधरी, परिवर्तित नाम ३३ जिल्ला बस्ने १६ वर्षीय ‘नवसती’ (क), ५० वर्षीय इन्द्रजित चौधरी, २५ वर्षीय पुष्पा चौधरी, २६ वर्षीय ममता चौधरी, ४५ वर्षीय शेख हुस्मुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर, ३३ वर्षीय नवीन विक र परिवर्तित नाम ३३ जिल्ला बस्ने २४ वर्षीय ‘छटिमाई’ (क) छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि बारा जिल्ला अदालत, कलैयाबाट पहिलोपटक चार दिन र दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ। अदालतबाट प्राप्त म्यादअनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

मधेशमा एक वर्षमा १,९३८ उद्योग–व्यवसाय बन्द

काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताबीच मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९३८ उद्योग तथा वाणिज्य फर्म बन्द भएका छन्। प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार बन्द हुनेमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्म छन्।

तर, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा सबैभन्दा धेरै १ हजार १०१ उद्योग दर्ता हुँदा धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ उद्योग दर्ता भएका छन्। एक वर्षमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्।

वाणिज्यतर्फ ६ हजार १२२ निजी फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ फर्म नवीकरण भएका छन्। दर्ता तथा नवीकरणलगायतका शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।

मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी र पूँजी अभावले व्यवसाय सञ्चालनमा चुनौती बढाएको छ। स्थानीय तहबाट समेत उद्योग दर्ता हुने क्रम बढेकाले प्रदेश सरकारको अभिलेखबाट उद्योगको लगत कट्टा हुने संख्या बढेको उनको भनाइ छ।

Read More

१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, सात सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । आज देशका १५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ती जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती तथा सडक क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।

ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, नुवाकोट, रसुवा, तनहुँ, लमजुङ, कास्की, दैलेख र सुर्खेत तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ।

यसैबीच, देशभरका सात सडक पूर्णरूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। मेची राजमार्गको इलाम खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड तथा जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध छन्।

सिन्धुपाल्चोकको लिपिङ र रसुवाको खाल्टेमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्चालनमा आउन सकेको छैन। यस्तै, सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका बीपी राजमार्ग, कान्ति लोकपथ र टोखा–छहरे सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

Read More

मुक्तिनाथमा एकैदिन आठ हेलिकप्टर उडान, पोखरा–जोमसोम सेवा पुनः सुरु

काठमाडौं । वर्षायाममा मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले काठमाडौँ–मुक्तिनाथ उडान गरेका छन्। ती उडानमार्फत ३२ भारतीय दर्शनार्थी मुक्तिनाथ पुगेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार वर्षायाममा एकैदिन यति धेरै हेलिकप्टर उडान भएको यो पहिलोपटक हो। पाँचवटा निजी हेलिकप्टर कम्पनीले सेवा दिएका थिए।

यसैबीच, दुई महिनादेखि बन्द रहेको पोखरा–जोमसोम नियमित हवाई सेवा पनि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। पहिलो दिन समिट एयरले ४८ भारतीय यात्रुलाई सेवा दिएको जनाएको छ। हवाई सेवा पुनः सञ्चालनमा आएसँगै मुक्तिनाथ तथा मुस्ताङ क्षेत्रमा पर्यटक र दर्शनार्थीको आवागमन बढ्ने अपेक्षा गरिएको छ।

Read More

संसद्मा उठेका सांसदका सवालको अब ‘फलोअप’

काठमाडौं। सांसदहरूले उठाएका जनसरोकारका विषयलाई सम्बन्धित मन्त्रालयमार्फत तत्काल ‘फलोअप’ गर्ने प्रणाली सरकारले सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सदनमा उठेको विषय सोही दिन सम्बन्धित मन्त्रालयमा पठाउने र त्यसको प्रगति सांसद तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने व्यवस्था गरिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार गत असार २६ गतेदेखि सुरु गरिएको यो अभ्यास प्रभावकारी बन्दै गएको छ। मन्त्रालयले विषयको प्रकृतिअनुसार समाधान गर्ने वा तत्काल समाधान सम्भव नभए कारण, विद्यमान अवस्था र सम्भावित उपायबारे सम्बन्धित सांसदलाई जानकारी गराउने व्यवस्था छ।

सांसदहरूले उठाएका विषयको साप्ताहिक प्रगति प्रधानमन्त्री कार्यालयमा पठाइने गरिएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार चालु आवको पहिलो महिनामा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँच–पाँच बैठकमा २८२ सांसदले विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय उठाएका थिए। अधिकांश विषय सम्बोधन भइसकेको र केहीको अवस्थाबारे सांसदलाई जानकारी गराइएको कार्यालयले जनाएको छ।

साउनमा गृह मन्त्रालयसँग सम्बन्धित विषय ६६ सांसदले उठाएका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा ६० र परराष्ट्रसँग सम्बन्धित विषयमा ४८ सांसदले धारणा राखेका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता, कृषि, वन तथा पर्यावरणलगायतका मन्त्रालयसँग सम्बन्धित विषय पनि उल्लेख्य संख्यामा उठेका थिए।

यो प्रक्रिया समन्वय गर्न प्रधानमन्त्री कार्यालयका चार र विभिन्न मन्त्रालयका ४१ गरी ४५ कर्मचारी परिचालन गरिएको छ। संसद्मा खटिएका कर्मचारीले सांसदका सवाल सम्बन्धित मन्त्रालयका सचिवलाई जानकारी गराउँछन्। सचिवमार्फत मन्त्रीसमक्ष ‘ब्रिफिङ’ भएपछि आवश्यक कारबाही अघि बढाइन्छ र त्यसको जानकारी सांसद तथा प्रधानमन्त्री कार्यालयलाई दिइन्छ।

Read More

संसद् बैठक आज : प्रतिनिधिसभा र राष्ट्रियसभामा यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ। दुवै सदनका बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायतका विषय कार्यसूचीमा छन्। बैठकमार्फत कानुन निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण प्रक्रियालाई अघि बढाउने तयारी गरिएको छ।

प्रतिनिधिसभामा विधेयक प्रस्तुत तथा समितिमा पठाउने प्रस्ताव

सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक

बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कानुन निर्माण प्रक्रियालाई अघि बढाउने तयारी

प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठकमा विभिन्न विधेयक तथा सम्झौतासम्बन्धी विषय अघि बढ्ने भएकाले कानुन निर्माण प्रक्रियाका दृष्टिले बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुवै सदनबाट सम्बन्धित विधेयकहरू समितिमा पठाइएपछि तिनमा थप दफावार छलफल र आवश्यक प्रक्रिया अघि बढ्नेछ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर सामान्यतया बदलीको अवस्था रहेकाले विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोदेखि रातिसम्म पनि अधिकांश प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। केही पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कोशी प्रदेश

कोशी प्रदेशमा आज दिउँसो सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ।

मधेस प्रदेश

मधेस प्रदेशमा दिउँसो सामान्यतया बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। हाल प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती प्रदेश

बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ भने पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा जारी रहनसक्नेछ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। रातिको समयमा पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा वर्षा हुनसक्नेछ। वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका पहाडी भू–भागका केही तथा हिमाली भू–भागका थोरै स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ। रातिको समयमा पनि पहाडी भू–भागका थोरै तथा हिमाली भू–भागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका थोरै स्थानमा समेत वर्षा वा हिमपात हुनसक्नेछ। रातिको समयमा पनि पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

आजको राशिफल

२०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) मंगलवार
श्रावण शुक्लपक्ष द्वादशी तिथि, प्रातः ५ः४३ बजेपछि त्रयोदशी। उत्तराषाढा नक्षत्र र चन्द्रराशि मकर रहेको आजको दिन विभिन्न राशिका जातकका लागि फरक–फरक प्रभाव लिएर आएको छ। ग्रह–नक्षत्रको अवस्थाअनुसार कसैका लागि काममा सफलता, मानसम्मान, आर्थिक लाभ तथा नयाँ अवसर प्राप्त हुने योग देखिन्छ भने कसैका लागि गोपनीयता, खर्च तथा परिस्थितिजन्य चुनौतीप्रति सचेत रहनुपर्ने समय छ। मेहनत, विवेक र सही निर्णयका साथ अघि बढ्दा आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ। विशेषगरी कार्यक्षेत्र, व्यवसाय, अध्ययन, सम्बन्ध र आर्थिक गतिविधिमा आफ्नो परिस्थिति बुझेर कदम चाल्नु लाभदायी हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूकाे कामना पूर्ण हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका छ। तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

Read More