२०८३ भाद्र ९

संसद् बैठक आज : प्रतिनिधिसभा र राष्ट्रियसभामा यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि बोलाइएको छ। दुवै सदनका बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायतका विषय कार्यसूचीमा छन्। बैठकमार्फत कानुन निर्माणसँग सम्बन्धित महत्त्वपूर्ण प्रक्रियालाई अघि बढाउने तयारी गरिएको छ।

प्रतिनिधिसभामा विधेयक प्रस्तुत तथा समितिमा पठाउने प्रस्ताव

सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पनि बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक

बिहान १०ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कानुन निर्माण प्रक्रियालाई अघि बढाउने तयारी

प्रतिनिधिसभा र राष्ट्रियसभाका आजका बैठकमा विभिन्न विधेयक तथा सम्झौतासम्बन्धी विषय अघि बढ्ने भएकाले कानुन निर्माण प्रक्रियाका दृष्टिले बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुवै सदनबाट सम्बन्धित विधेयकहरू समितिमा पठाइएपछि तिनमा थप दफावार छलफल र आवश्यक प्रक्रिया अघि बढ्नेछ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर सामान्यतया बदलीको अवस्था रहेकाले विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोदेखि रातिसम्म पनि अधिकांश प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। केही पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कोशी प्रदेश

कोशी प्रदेशमा आज दिउँसो सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ।

मधेस प्रदेश

मधेस प्रदेशमा दिउँसो सामान्यतया बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। हाल प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती प्रदेश

बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ भने पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा जारी रहनसक्नेछ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। रातिको समयमा पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा वर्षा हुनसक्नेछ। वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशका पहाडी भू–भागका केही तथा हिमाली भू–भागका थोरै स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ। रातिको समयमा पनि पहाडी भू–भागका थोरै तथा हिमाली भू–भागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका थोरै स्थानमा समेत वर्षा वा हिमपात हुनसक्नेछ। रातिको समयमा पनि पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

आजको राशिफल

२०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) मंगलवार
श्रावण शुक्लपक्ष द्वादशी तिथि, प्रातः ५ः४३ बजेपछि त्रयोदशी। उत्तराषाढा नक्षत्र र चन्द्रराशि मकर रहेको आजको दिन विभिन्न राशिका जातकका लागि फरक–फरक प्रभाव लिएर आएको छ। ग्रह–नक्षत्रको अवस्थाअनुसार कसैका लागि काममा सफलता, मानसम्मान, आर्थिक लाभ तथा नयाँ अवसर प्राप्त हुने योग देखिन्छ भने कसैका लागि गोपनीयता, खर्च तथा परिस्थितिजन्य चुनौतीप्रति सचेत रहनुपर्ने समय छ। मेहनत, विवेक र सही निर्णयका साथ अघि बढ्दा आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ। विशेषगरी कार्यक्षेत्र, व्यवसाय, अध्ययन, सम्बन्ध र आर्थिक गतिविधिमा आफ्नो परिस्थिति बुझेर कदम चाल्नु लाभदायी हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद-प्रतिष्ठा प्राप्त गर्ने बेला छ। धेरैले कामको तारिफ गर्नेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन्। कर्मयोगले मन प्रफुल्लित गराउनेछ।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूकाे कामना पूर्ण हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका छ। तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

Read More