काठमाडौं । वर्षायाममा मुक्तिनाथमा एकैदिन आठ वटा हेलिकप्टरले काठमाडौँ–मुक्तिनाथ उडान गरेका छन्। ती उडानमार्फत ३२ भारतीय दर्शनार्थी मुक्तिनाथ पुगेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार वर्षायाममा एकैदिन यति धेरै हेलिकप्टर उडान भएको यो पहिलोपटक हो। पाँचवटा निजी हेलिकप्टर कम्पनीले सेवा दिएका थिए।
यसैबीच, दुई महिनादेखि बन्द रहेको पोखरा–जोमसोम नियमित हवाई सेवा पनि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। पहिलो दिन समिट एयरले ४८ भारतीय यात्रुलाई सेवा दिएको जनाएको छ। हवाई सेवा पुनः सञ्चालनमा आएसँगै मुक्तिनाथ तथा मुस्ताङ क्षेत्रमा पर्यटक र दर्शनार्थीको आवागमन बढ्ने अपेक्षा गरिएको छ।




