काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर सामान्यतया बदलीको अवस्था रहेकाले विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोदेखि रातिसम्म पनि अधिकांश प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। केही पहाडी भू–भागमा भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
कोशी प्रदेश
कोशी प्रदेशमा आज दिउँसो सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ।
मधेस प्रदेश
मधेस प्रदेशमा दिउँसो सामान्यतया बदली रहनेछ। प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ। हाल प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
बागमती प्रदेश
बागमती प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि हिमाली भू–भागका केही तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा आज दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ भने पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा जारी रहनसक्नेछ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। रातिको समयमा पहाडी भू–भागका केही तथा तराईका केही स्थानमा वर्षा हुनसक्नेछ। वर्षाका कारण दैनिक जनजीवन, कृषि तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशका पहाडी भू–भागका केही तथा हिमाली भू–भागका थोरै स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्नेछ। रातिको समयमा पनि पहाडी भू–भागका थोरै तथा हिमाली भू–भागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भू–भागका थोरै स्थानमा समेत वर्षा वा हिमपात हुनसक्नेछ। रातिको समयमा पनि पहाडी तथा हिमाली भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेको छ। वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।



