काठमाडौं । सरकारले लामो समयदेखि समस्याग्रस्त रहेको उदयपुर सिमेन्ट उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ। उद्योग सञ्चालनका लागि महत्वपूर्ण मानिएको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
उदयपुर सिमेन्टको चुनढुंगा उत्खनन अनुमतिपत्र यसअघि २०८१ असोजमा रद्द गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अनुमतिपत्र रद्द भएपछि उद्योगको सञ्चालन थप प्रभावित बनेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ फागुन १ गते उदयपुर सिमेन्ट उद्योगलाई पत्र पठाउँदै खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अनुसार अनुमतिपत्र रद्द गरिएको जानकारी दिएको थियो।
मन्त्रिपरिषद्ले खोल्यो उद्योग सञ्चालनको बाटो
सरकारले १८ असार २०८३ मा गरेको निर्णयमार्फत उदयपुर सिमेन्ट उद्योगको साविकमा रद्द भएको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र पुनः जारी गर्ने बाटो खोलेको हो।
मन्त्रिपरिषद्ले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२ को उपदफा (३) बमोजिम अनुमतिपत्र जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिएको छ।
त्यस्तै, उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्न बाँकी रहेको ७४ लाख ९७ हजार ३३१ रुपैयाँ ९५ पैसा सरकारले नै उपलब्ध गराउने निर्णयसमेत भएको छ।
सरकारको निर्णयअनुसार उदयपुर सिमेन्ट उद्योगले तिर्नुपर्ने बक्यौता रकमसमेत राज्यले बेहोर्ने भएको छ। स्रोतका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै अर्थ मन्त्रालयले उक्त रकम खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराइसकेको छ।
यससँगै उद्योगलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रशासनिक र कानुनी प्रक्रिया अघि बढाउने वातावरण बनेको छ।
महाप्रबन्धक नियुक्त गरेर पूर्ण क्षमतामा चलाउने योजना
सरकारले अब उदयपुर सिमेन्ट उद्योगका लागि महाप्रबन्धक नियुक्त गर्ने तयारी गरेको छ। त्यसपछि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना सरकारको छ।
हाल उद्योगको दैनिक उत्पादन क्षमता ८०० मेट्रिक टन रहेको छ। उद्योगलाई नियमित रूपमा सञ्चालन गरेर उत्पादन क्षमता उपयोग गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ।
उदयपुर सिमेन्ट उद्योग २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो नेपालकै ठूलो सिमेन्ट उद्योग कम्पनीका रूपमा स्थापित भएको थियो।
उदयपुरको त्रियुगा नगरपालिका–११, जलजलेमा रहेको उद्योगका लागि आवश्यक चुनढुंगा उत्तरी क्षेत्रको सुकौराबाट रोपवेमार्फत ल्याउने पूर्वाधार निर्माण गरिएको छ।
एसियाकै ठूला सिमेन्ट उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्टलाई पुनः पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको प्रयास सफल भएमा लामो समयदेखि समस्यामा रहेको सरकारी उद्योग पुनर्जीवित हुने अपेक्षा गरिएको छ।




