काठमाडौं। झापाको दमकमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पुर्याई यौन शोषणमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भनिने पार्वती ऋषिका र दमक नगरपालिका–८ का ५५ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन्।
प्रहरीका अनुसार गत साउन ३१ गते घरबाट निस्किएपछि बालिका सम्पर्कविहीन भएकी थिइन्। आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। खोजतलासका क्रममा भदौ ४ गते बालिका फेला परेकी थिइन्।
अनुसन्धानका क्रममा पार्वती ऋषिकाले बालिकालाई प्रलोभनमा पारी गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्याएको खुलेको प्रहरीले जनाएको छ। त्यहाँ बालिकालाई यौन शोषणमा लगाइएको आरोप छ।
प्रहरीले दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा म्याद थप अनुमति लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


