२०८३ कार्तिक ८

मदनको मृत्यु सामान्य दुर्घटना होइन, ‘मदनलाई बदनाम गर्न झुटा आरोप लगाइए’: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमाले नेता तथा मदन–आश्रित प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले टनकपुर सम्झौताको विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले “ढाँटेको” भन्दै त्यसविरुद्ध मदन भण्डारीले आन्दोलनको नेतृत्व गरेको बताएका छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा गरिएको संवादमा ज्ञवालीले मदन भण्डारीलाई राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका प्रमुख अभियन्ताका रूपमा स्मरण गर्दै यस्तो बताएका हुन् ।

ज्ञवालीका अनुसार टनकपुर विवादपछि मदन भण्डारी राष्ट्रियताको सवालमा झन् लोकप्रिय बनेका थिए। “गिरिजाप्रसादले सन्धि होइन, सामान्य समझदारी मात्र हो भनेर ढाँट्नुभयो, त्यसपछि मदनले आन्दोलन सुरु गर्नुभयो,” ज्ञवालीले भने।

ज्ञवालीले मदन भण्डारीको सबैभन्दा ठूलो योगदान ‘जनताको बहुदलीय जनवाद’ भएको उल्लेख गर्दै सोभियत संघ विघटनपछि विश्वभर कम्युनिस्ट आन्दोलन संकटमा रहेका बेला मदनले बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादको नयाँ बाटो देखाएको बताए।

उनले मदनको लोकप्रियताको अर्को कारण उनको प्रभावशाली वक्तृत्वकला र जनताको भाषामा बोल्ने शैली भएको पनि बताए। “उहाँले जटिल कुरा पनि जनताले बुझ्ने भाषामा भन्नुहुन्थ्यो,” ज्ञवालीको भनाइ छ।

दासढुंगा घटनाबारे बोल्दै ज्ञवालीले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु “सामान्य दुर्घटना जस्तो नदेखिने” दाबी गरे। उनले विभिन्न आयोगले समेत घटनालाई पूर्ण रूपमा स्वाभाविक भन्न नसकेको उल्लेख गर्दै चालक सकुशल हुनु, कपडा समेत नभिज्नु र अन्य परिस्थिति शंकास्पद रहेको बताए।

ज्ञवालीले दासढुंगा घटनाको सत्य अझै बाहिर नआएको स्वीकार गर्दै “कुनै न कुनै दिन रहस्य खुल्ने विश्वास” व्यक्त गरे। साथै, उनले मदन भण्डारीमाथि विगतमा विभिन्न झुटा आरोप र दुष्प्रचार गरिएको दाबी पनि गरे।

संवादमा ज्ञवालीले मदन भण्डारीलाई “अद्वितीय प्रतिभा भएका, समयको संकेत बुझ्ने र देशका लागि जीवन त्याग्न तयार नेता” का रूपमा स्मरण गरेका छन्।

Read More

पूर्वाधारका मुद्दा ६० दिनमै टुंग्याउने सरकारको तयारी, छुट्टै न्यायाधिकरण बनाउन सुझाव

काठमाडौँ । विकास आयोजना वर्षौँसम्म अदालतमा अल्झिँदा लागत बढ्ने र काम ठप्प हुने समस्या समाधानका लागि सरकारले विशेष ‘फास्ट ट्र्याक इजलास’ र ‘पूर्वाधार न्यायाधिकरण’ गठनको तयारी अघि बढाएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गठन गरेको अध्ययन समितिले पूर्वाधारसँग सम्बन्धित मुद्दा छिटो टुंग्याउन विशेष व्यवस्था आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा अदालतमा पर्ने मुआब्जा, ठेक्का र जग्गा विवादका कारण ठूला आयोजना दशकौँसम्म प्रभावित हुने गरेको उल्लेख छ।

समितिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा छुट्टै ‘फास्ट ट्र्याक पूर्वाधार इजलास’ गठन गरी ६० दिनभित्र मुद्दा टुंग्याउने व्यवस्था गर्न सुझाव दिएको छ। साथै फैसला भएको २१ दिनभित्र पूर्णपाठ तयार गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ।

प्रतिवेदनमा सिक्टा सिँचाइ आयोजना, सुनकोसी पुल तथा विभिन्न प्रसारण लाइनका उदाहरण दिँदै कानुनी विवादकै कारण आयोजना लम्बिएको र लागत दोब्बर–तेब्बर भएको उल्लेख गरिएको छ।

समितिले दीर्घकालीन समाधानका लागि पूर्वाधार, कानुन र अर्थतन्त्रका विज्ञ रहने विशेष ‘पूर्वाधार न्यायाधिकरण’ स्थापना गर्न सिफारिस गरेको छ। यस्ता विवादका कारण निर्माण नै रोकिने अवस्थालाई अन्त्य गर्न ‘काम नरोकिने सिद्धान्त’ लागू गर्नुपर्ने सुझाव पनि दिइएको छ।

प्रतिवेदनले सार्वजनिक खरिद ऐन, जग्गा प्राप्ति ऐनलगायतका कानुन संशोधन गरी विकास आयोजनामा पर्ने कानुनी अवरोध कम गर्न सरकारलाई सुझाव दिएको छ।

Read More

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दैछ । 

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सभापति गगन थापाको समुपस्थितिमा आज बिहान ११: ३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

Read More

मदन–आश्रितले जनताको पक्षमा उभिन प्रेरित गरिरहेका छन्- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा लेख्दै ओलीले  मदन भण्डारीलाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै नभई युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने र जनताको बहुदलीय जनवादको वैचारिक विरासतले निरन्तर जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेको बताएका हुन् ।

३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय घटनामा मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको स्मरण गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पनि त्यो पीडाको अनुभूति अझ गाढा बन्दै गएको बताएका छन् । उनले मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा रहेको उल्लेख गर्दै जीवराज आश्रितलाई कुशल संगठकका रूपमा स्मरण गरेका छन् ।

अध्यक्ष ओलीले मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादले विचारलाई समयअनुसार मौलिक परिष्कार गर्दै आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसम्म पुर्‍याउने मार्गचित्र तयार गरेको बताएका छन् ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पनि त्यही वैचारिक धरातलमा अघि बढाइएको उल्लेख गर्दै पछिल्लो दशकमा उक्त अभियानले मानवीय तथा भौतिक पूर्वाधार विकासमा परिवर्तन ल्याउन थालेको दाबी उनले गरेका छन् ।

ओलीले मदन भण्डारी, जीवराज आश्रित तथा आन्दोलनका अन्य अग्रजहरू शारीरिक रूपमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा दीपस्तम्भसरह रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद कुनै क्षणिक लोकप्रियताको औजार नभई यथार्थमा आधारित विचार भएको उनको भनाइ छ । 

भण्डारी र आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियो । 

Read More

म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ ।

त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।

Read More

काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली भलिबल टिमको घोषणा

काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।

Read More

आइपिएलमा गुजरातमाथि कोलकोता २९ रनले विजयी

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।

कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए ।

यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए ।

यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ ।र दोस्रो स्थानमा रहेको छ ।

जारि आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।

Read More

विश्व दूरसञ्चार दिवस मनाइदै

काठमाडौँ । आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।

सन् २००० अर्थात् १९ वर्षअघि नेपालमा १५ हजार व्यक्ति मात्रै टेलिफोनको पहुँचमा थिए । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । परिस्थिति अहिले अपत्यारिलो भइदिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो त गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ ।

नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुनरागमन पश्चात सबैभन्दा छिटो प्रगति भएका क्षेत्रहरू मध्ये सूचना प्रविधिको क्षेत्र प्रमुख हो । आधारभूत टेलिफोन सेवा, आधुनिक मोवाइल सेवा र इन्टरनेट सेवाको तिब्र विकास भएको छ ।

Read More

विश्व उच्च रक्तचाप दिवस मनाइदै

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर आज यो दिवस मनाइदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । 

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको भन्दै चिकित्सकहरुले यसप्रति सचेत गराउदै आएका छन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।

Read More

गोसाइँकुण्ड स्नान आजदेखि शुरु

रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला आजदेखि सुरूआत भएको छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहेको किम्वदन्ती छ ।  निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।

उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताइन्छ ।

Read More