२०८३ कार्तिक ८

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा

पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् ।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको थियो ।

नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाईएको सशस्त्रले जानकारी दिएको छ ।

Read More

सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४५ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३०  रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५३९० मा कारोबार भएको थियो ।

Read More

कम्युनिष्ट आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन मदन–आश्रितको अभूतपूर्व योगदान छ- भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन अभूतपूर्व योगदान दिएको उल्लेख गरेकी छन् ।

आफ्ना श्रीमान तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दौ भण्डारीले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्‍याउन अभूतपूर्व योगदान दिएको उल्लेख गरेकी हुन् ।

जेठ ३ गतेको अवसरमा जारी सन्देशमा उनले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति उच्च सम्मान प्रकट गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले  जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गरेको उनको भनाइ छ ।

उनले उक्त विचारले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको पनि बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको उल्लेख गर्दै चुनौती सामना गर्न सुदृढ संगठनात्मक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताएकी छन् ।

साथै उनले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने तथा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरेकी छन् ।

जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले त्यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।

Read More

पुरुषोत्तम माससँगै एक महिने मच्छेनारायण मेला सुरु, ‘पाप नाश र पुण्य प्राप्ति’को विश्वास

काठमाडौँ । काठमाडौँको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् ‘मलमास मेला’ सुरु भएको छ। धार्मिक महत्व बोकेको यो मेलामा उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरूको ठूलो भीड लाग्न थालेको छ।

धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता छ। यही आस्थाका कारण हरेक मलमासमा मच्छेनारायण क्षेत्रमा विशेष धार्मिक चहलपहल देखिने गर्छ।

मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुड द्वार र माछाको मुखबाट प्रकट भएको भगवान् मत्स्यनारायणको मूर्ति भक्तजनका लागि मुख्य आकर्षण बनेको छ। चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्तिलाई भगवान् विष्णुको मत्स्य अवतारको प्रतीक मानिन्छ।

धार्मिक ग्रन्थअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये मत्स्य अवतार पहिलो अवतार हो। प्रलयकालमा वेदको रक्षा गर्न भगवान् विष्णुले मत्स्य रूप धारण गरेको विश्वास हिन्दु धर्मावलम्बीमा रहिआएको छ।

मेलालाई लक्षित गर्दै मन्दिर क्षेत्रमा सुरक्षा, सरसफाइ र भक्तजन व्यवस्थापनका तयारी पनि तीव्र पारिएको छ। आयोजकका अनुसार आगामी एक महिनासम्म दैनिक हजारौँ श्रद्धालु मन्दिर पुग्ने अपेक्षा गरिएको छ।

Read More

चेल्सीको मुख्य प्रशिक्षक बन्दै जाबी अलोन्सो

काठमाडौँ । जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन्  । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ  । 

उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् र चेल्सीले छिट्टै यस बारेमा आधिकारीक घोषणा गर्ने बताइएको छ । उनको सम्झौता जुलाई १ देखि शुरु हुने भएपनि उनले खेलाडी ट्रान्सफर लगायतका विषयमा तत्कालदेखि काम शुरु गर्ने भएका छन्  । 

अलोन्सोले यसअघि रियल म्याड्रिड र बायर लिभरकुसनको प्रशिक्षक बनेका थिए । रियल म्याड्रिडमा उनको कार्यकाल सफल नभए पनि लिभरकुसनमा भने उनले टिमलाई जर्मन लिग, डिएफबी पोकाल र डिएफएल सुपर कपको उपाधि जिताएका थिए  । 

४४ बर्षिय स्पेनिस मिडफिल्डर अलोन्सोले आफ्नो खेल जीवनको ६ बर्ष लिभरपुल र ६ बर्ष रियल म्याड्रिडमा बिताएका थिए । उनले ३ बर्ष बायर्न म्युनिखमा खेलेपछि सन्यास लिदै प्रशिक्षणतर्फ लागेका थिए । खेलाडीको रुपमा उनले स्पेनको राष्ट्रिय टिमबाट भने २००३ देखि २०१४ सम्म ११४ खेल खेलेका थिए । उनी स्पेनले २०१० को विश्व्कप तथा २००८ र २०१२ को युरोकप जित्दा टिमको महत्वपूर्ण सदस्य थिए  । 

Read More

सिरहाबाट १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

गएराती सशस्त्रले सिरहाका ५० बर्षिय राजेश यादव र ३९ बर्षिय आनन्द यादवलाई नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडि समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिएकाहरु गाडीका चालक र सहचालक हुन् ।

नियन्त्रणमा लिईएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाईएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको छ ।

Read More

सुनपछि भारतको चाँदी आयातमा कडाई

काठमाडौँ । भारत सरकारले चाँदी आयातसम्बन्धी नियम तत्कालबाट कडा बनाएको छ । बहुमूल्य धातुमा भन्सार शुल्क वृद्धि गरेको केही दिनमै सरकारले यस्तो निर्णय लिएको हो । यसबाट आन्तरिक बजार तथा व्यापार सन्तुलनमा असर पर्ने अपेक्षा गरिएको छ ।

विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै चाँदीको आयात नीतिलाई ‘मुक्त’ श्रेणीबाट ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको जनाएको छ । यो व्यवस्थामा सुन तथा प्लाटिनमको जलप लगाइएको चाँदी पनि समावेश गरिएको छ ।

प्रतिबन्धित श्रेणीमा परेका वस्तु आयात गर्न अब सरकारबाट अनुमति पत्र लिन अनिवार्य हुने भएको छ। नयाँ व्यवस्था तत्कालै लागू भएको जनाइएको छ ।

यसअघि गत मे १३ मा सरकारले बहुमूल्य धातुमा लगाइने आयात शुल्कमा ठूलो वृद्धि गरेको थियो। ६ प्रतिशत रहेको भन्सार शुल्क बढाएर १५ प्रतिशत पुर्‍याइएको थियो । यो निर्णय सुनसहित अन्य बहुमूल्य धातुमा पनि लागू गरिएको थियो ।

सरकारको पछिल्लो कदमले चाँदीको आयात प्रक्रिया थप नियन्त्रणमुखी र जटिल बन्ने देखिएको छ । पहिले चाँदी ‘मुक्त’ श्रेणीमा रहेकाले सहज रूपमा आयात गर्न सकिन्थ्यो। अब भने आयातकर्ताले चाँदी भित्र्याउन सरकारी अनुमति लिनुपर्नेछ ।

विशेषज्ञहरूका अनुसार भन्सार शुल्क वृद्धि र आयातमा कडाइका कारण बहुमूल्य धातुको आयात महँगो हुने सम्भावना छ । यसले भारतभित्रको चाँदी व्यापार तथा बजार मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

Read More

युद्धविरामको वीचमै लेबनानमाथि इजरायलको आक्रमण जारी

काठमाडौँ । युद्धविराम अवधि थप गरिएको भए पनि इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा ३० भन्दा बढी हमला गरिएको छ ।

लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौं नागरिक विस्थापित हुन थालेका छन् । विशेषगरी सैदाबाट बेरुत जाने राजमार्गमा ठूलो संख्यामा मानिसहरू घर छाडेर सुरक्षित स्थानतर्फ गइरहेको दृश्य देखिएको बताइएको छ ।

पछिल्ला केही सातादेखि लेबनानमा युद्धविराम लागू रहे पनि इजरायली आक्रमण भने रोकिएको छैन । लगातारको हमला र खाली गर्न जारी गरिएका आदेशका कारण दक्षिण लेबनानका बासिन्दा त्रसित बनेका छन् ।

स्थानीय प्रतिवेदनअनुसार हवाई आक्रमणपछि धेरै परिवारले आफ्नो घर छाड्न बाध्य भएका छन् भने सीमावर्ती क्षेत्रमा तनाव अझ बढ्दै गएको छ ।

अमेरिकामा दुई दिन भएको वार्तामा शुक्रबार राति इजरायल र लेबनानबीच युद्धविराम ४५ दिनका लागि बढाउने र राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु गर्ने सहमति भएको थियो । मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताइएको थियो ।

Read More

‘गणतन्त्र मास्ने खेल भइरहेको छ’: माधव नेपालको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय निधनले देश र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी सन्देशमा नेपालले मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनका मौलिक चिन्तक र दूरदर्शी नेताका रूपमा स्मरण गरेका छन्। उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ ले संकटग्रस्त अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको दाबी गरेका छन्।

नेपालले विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको समयमा मदनले बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादको नयाँ अवधारणा अघि सारेको उल्लेख गरेका छन्। उनले जीवराज आश्रितको संगठन निर्माण र पार्टी सञ्चालनमा रहेको भूमिकाको पनि प्रशंसा गरेका छन्।

सन्देशमा नेपालले वर्तमान राजनीतिक अवस्थाप्रति समेत तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादविरुद्ध संघर्ष जारी रहने चेतावनी दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

नेपालले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धि उल्ट्याउने खेल भइरहेको भन्दै नेता–कार्यकर्तालाई सतर्क रहन आग्रह गरेका छन्।

Read More

दक्षिण कोरियाको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । दक्षिण कोरियाले फिफा विश्वकप फुटबलका लागि आफ्नो टोली घोषणा गरेको छ । टोलीको कप्तान तथा पूर्व टोटनह्याम हटस्पर फरवार्ड सन ह्युङ मिन लगातार चौथोपटक विश्वकप टोलीमा परेका छन् ।

३३ वर्षीय सनले गत वर्ष टोटनह्याम छाडेका थिए र हाल अमेरिकी मेजर लिग सकर क्लब लस एन्जलस फुटबल क्लबबाट खेलिरहेका छन् । प्रशिक्षक हङ म्युङ बोले घोषणा गरेको टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता रहेको छ । टोलीमा वुल्भ्सका फरवार्ड ह्वाङ ही चान, स्टोक सिटीका बे जुन हो, बर्मिङ्घमका पैक सुङ हो, सेल्टिकका याङ ह्युन जुन तथा स्वान्सीका इओम जी सुङ पनि समावेश छन्।

यस्तै पिएसजीका ली काङ इन, बायर्न म्युनिखका रक्षक किम मिन जे र बोरुसिया मोनचेनग्लाडबाखका जेन्स कास्ट्रोपलाई पनि टोलीमा स्थान दिइएको छ । जर्मन पिता र कोरियन आमाबाट जन्मिएका कास्ट्रोप दक्षिण कोरियाको विश्वकप टोलीमा पर्ने दोहोरो नागरिकता भएका पहिलो खेलाडी बनेका छन् । उनले यसअघि जर्मनीको उमेर समूह टोलीबाट खेलेका थिए । तर गत वर्षबाट दक्षिण कोरियाबाट खेल्न थालेपछि उनले पाँच अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

दक्षिण कोरियाले जुन १२ मा चेक गणतन्त्रविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि जुन १९ मा सह आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । यी दुवै खेल ग्वाडालाजारामा हुनेछन् । समूह चरणको अन्तिम खेल दक्षिण अफ्रिकाविरुद्ध जुन २५ मा मोन्टेरेमा हुनेछ ।

दक्षिण कोरियाको विश्वकप टोली

गोलरक्षक:
जो ह्योन उ, किम सुङ ग्यु, सङ बुम क्युन

डिफेन्डर: 
किम मुन ह्वान, किम मिन जे, किम ते ह्योन, पार्क जिन सोब, सोल योङ उ, जेन्स कास्ट्रोप, ली कि ह्युक, ली ते सोक, ली हान बोम, चो यु मिन

मिडफिल्डर:
किम जिन ग्यु, बे जुन हो, पैक सुङ हो, याङ ह्युन जुन, इओम जी सुङ, ली काङ इन, ली दोङ ग्युङ, ली जे सुङ, ह्वाङ इन बोम, ह्वाङ ही चान

फरवार्ड:
सन ह्युङ मिन, ओ ह्योन ग्यु, चो ग्यु सुङ

Read More