२०८३ कार्तिक ८

सशस्त्रका दुई महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार अनिता कार्किले आज मे १७ तारिख बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११ बजेर ५५ मिनेटको समयमा  सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबु मा जन्म लिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरुले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् । आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरुको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।  

Read More

विश्व सडक सुरक्षा सप्ताहको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसरमा राष्ट्रिय सडक सुरक्षा परिषद् र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरणमा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमको समापन नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयका सचिव तथा राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपाल प्रसाद सिग्देल को प्रमुख आतिथ्यमा गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, रोटरी इन्टरनेशनल सडक सुरक्षा समितिका अध्यक्ष नुगल वैद्य तथा एनएआइएमए नेपालका कार्यकारी निर्देशक राज कुमार दुलाल लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी विभिन्न संघसंस्था, सुरक्षा निकाय, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।  बबरमहलबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला, नयाँ बाटो र भद्रकाली हुँदै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि सिग्देलसहित प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्राविधिक सल्लाहकार सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य राखेका थिए ।

Read More

कंगोमा इबोला संक्रमण फैलियो, अहिलेसम्म ८० जनाको मृत्यु

काठमाडौँ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी इतुरी प्रान्तमा इबोला संक्रमण फैलिँदा धेरै मानिसको मृत्यु भएको छ । संक्रमण फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपत्कालको अवस्था घोषणा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म २४६ वटा शंकास्पद संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको छ । यद्यपि यसलाई अहिलेको अवस्थामा ‘विश्वव्यापी महामारी आपत्काल’को श्रेणीमा नराखिएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकले संक्रमितको वास्तविक संख्या र रोग फैलिने अवस्थाबारे अझै धेरै अनिश्चितता रहेको चेतावनी दिएका छन् ।

यसपटक फैलिएको इबोला ‘बुन्डीबुग्यो’ नामक भाइरसका कारण भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस भाइरसविरुद्ध हालसम्म प्रभावकारी औषधि वा खोप उपलब्ध छैन ।

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायले संक्रमण कंगो बाहिर पनि फैलिन थालेको जनाएको छ। छिमेकी युगान्डा मा पनि दुई संक्रमित भेटिएको पुष्टि गरिएको छ । युगान्डाका अधिकारीहरूका अनुसार ५९ वर्षीय एक पुरुषको बिहीबार मृत्यु भएको थियो र उनको परीक्षण रिपोर्ट इबोला सङ्क्रमण पुष्टि भएको थियो ।

विशेषज्ञहरूले कंगोका छिमेकी देशहरू उच्च जोखिममा रहेको बताएका छन्। सीमावर्ती क्षेत्रमा मानिसहरूको आवतजावत, व्यापार तथा यात्रा धेरै हुने भएकाले संक्रमण थप फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

Read More

यी ६५ ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न ज्ञानेन्द्र शाहीको प्रधानमन्त्री बालेनलाई आग्रह

काठमाडौँ । राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले वर्तमान सरकारले देशमा चर्चामा रहेका ६५ वटा ठूला भ्रष्टाचार काण्डका मुख्य दोषीलाई कानुनी कठघरामा उभ्याउने विश्वास व्यक्त गरेका हुन् ।

उनले लाउडा विमान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, वाइडबडी विमान खरिद विवाद, सुडान एपीसी काण्ड, ३३ किलो सुन प्रकरण, मेलम्ची खानेपानी आयोजना विवाद तथा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डजस्ता बहुचर्चित घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।

त्यस्तै ओम्नी समूह स्वास्थ्य सामग्री खरिद विवाद, टेरामक्स काण्ड, बालुवाटार जग्गा प्रकरण, सहकारी घोटाला, नेपाल ट्रस्ट जग्गा विवाद, कर फर्छ्योट आयोग घोटाला, फास्ट ट्र्याक मुआब्जा प्रकरण, बुढीगण्डकी मुआब्जा काण्ड तथा एनसेल कर विवादलाई पनि उनले प्रमुख भ्रष्टाचार प्रकरणका रूपमा उल्लेख गरेका छन् ।

शाहीले नेपाल आयल निगम इन्धन खरिद विवाद, रेल्वे खरिद काण्ड, कृषि अनुदान घोटाला, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण तथा ठेक्का विवाद, कोभिड–१९ परीक्षण तथा क्वारेन्टिन खर्च अनियमितता, प्रश्नपत्र चुहावट, ढुंगा–गिटी उत्खनन काण्ड र रासायनिक मल खरिद घोटालामा पनि कारबाही आवश्यक रहेको बताएका छन् ।

उनले सांसद विकास कोष दुरुपयोग, नक्कली शैक्षिक प्रमाणपत्र, काठ तस्करी, गोर्खा फाइनान्स घोटाला, ओरियन्टल सहकारी काण्ड, युनिटी लाइफ घोटाला, नक्कली भ्याट बिल प्रकरण, भन्सार राजस्व चुहावट तथा विदेश रोजगार ठगी काण्डलगायतका विषयमा पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।

शाहीले सुशासन कायम गर्न सरकार कठोर रूपमा प्रस्तुत हुनुपर्ने र भ्रष्टाचारमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

Read More

भेनेजुएलाका मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी

काठमाडौँ । भेनेजुएलाको राजनीतिक घटनाक्रम फेरि तनावपूर्ण बनेको छ । अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ ।

एलेक्स साब धनी व्यवसायी हुन् र कोलम्बियामा जन्मिएका थिए । उनलाई मादुरोको अत्यन्त नजिकका सहयोगीमध्ये एक मानिन्छ ।

यसअघि फेब्रुअरीमा काराकासमा अमेरिकी र भेनेजुएला अधिकारीहरूको संयुक्त कारबाहीमा उनलाई पक्राउ गरिएको थियो । उनीमाथि लगाइएका आरोपबारे भने हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।

यसअघि सन् २०२० मा एलेक्स साबलाई पश्चिम अफ्रिकी देश केप भर्डेमा पक्राउ गरिएको थियो । त्यतिबेला उनीमाथि मनी लाउन्डरिङ (अवैध धन शुद्धीकरण) को आरोप लागेको थियो र उनलाई अमेरिकामा सुपुर्द गरिएको थियो । तर तीन वर्षपछि उनीलाई माफी दिइएको थियो ।

यसैबीच, गत जनवरीमा अमेरिकाले भेनेजुएलामा विशेष सैन्य अभियान सञ्चालन गर्दै निकोलस मादुरोलाई पक्राउ गरी अमेरिकामा लगेको दाबी गरिएको थियो ।

अमेरिकामा अदालत सुनुवाइका क्रममा मादुरोले आफूलाई भेनेजुएला गणराज्यको राष्ट्रपति भएको भन्दै आफूलाई घरबाट अपहरण गरेर लगिएको दाबी गरेका थिए । उनले आफूलाई काराकासस्थित घरबाटै पक्राउ गरिएको बताएका थिए ।

Read More

एलन मस्कको स्पेसएक्सले ल्याउँदै छ विश्वकै ठूलो आईपीओ

काठमाडौँ । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सले विश्वकै ठूलोमध्ये एक मानिने आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी जुन १२ मा सेयर बजारमा प्रवेश गर्दै ८० अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हाल निजी कम्पनीका रूपमा सञ्चालन भइरहेको स्पेसएक्सले रकेट प्रक्षेपण, मानव अन्तरिक्ष यात्रा र ‘स्टारलिंक’ इन्टरनेट सेवामार्फत विश्वभर ठूलो प्रभाव बनाइसकेको छ। पछिल्ला वर्षहरूमा कम्पनीको मूल्यांकन तीव्र रूपमा बढ्दै गएको छ।

आईपीओ सार्वजनिक भएमा लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, आम्दानी, ऋण, नाफा-नोक्सान तथा भविष्यका योजनाबारे विस्तृत विवरण हेर्न पाउनेछन्। विशेषगरी स्पेसएक्सको ‘स्टारलिंक’ सेवा र मस्कले सुरु गरेको एआई कम्पनी एक्स एआई प्रति लगानीकर्ताको चासो बढेको बताइएको छ।

स्पेसएक्स आईपीओको खबर बाहिरिएसँगै अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनीहरूको सेयर बजारमा पनि उछाल आएको छ। अमेरिकी कम्पनी रकेट ल्याबको सेयर मूल्य मात्रै ८ प्रतिशतभन्दा बढीले बढेको अन्तर्राष्ट्रिय रिपोर्टमा उल्लेख छ।

विश्लेषकहरूका अनुसार स्पेसएक्सको बजार प्रवेशले केही वर्षदेखि सुस्त रहेको प्रविधि कम्पनीहरूको आईपीओ बजारलाई फेरि चलायमान बनाउन सक्छ। हालसम्म कम्पनीले भने आईपीओबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

Read More

प्रदेश सरकारबारे प्रचण्डको स्पष्ट सन्देश: ‘एक्लाएक्लै गठबन्धन स्वीकार्य छैन’

काठमाडौँ । पुष्प कमल दाहाल प्रचण्डले प्रदेश सरकार गठनका विषयमा आफ्नो दलको स्पष्ट धारणा सार्वजनिक गर्दै सर्वदलीय सहमतिमा मात्र सरकारमा सहभागी हुने बताएका छन्।

वीरेन्द्रनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेसँग छुट्टाछुट्टै सत्ता समीकरण बनाएर सरकारमा जाने सम्भावना अस्वीकार गरेका हुन्।

प्रचण्डले प्रदेश सरकारलाई स्थिर, समावेशी र दीर्घकालीन बनाउन सबै दलको सहमति आवश्यक रहेको बताए। उनका अनुसार मधेसवादी दलसहित सबै राजनीतिक शक्तिहरू सहभागी हुने साझा सरकार बने मात्र नेकपा त्यसमा सहभागी हुनेछ।

“कांग्रेस र एमाले दुवै पक्षबाट सरकार गठनको प्रस्ताव आएको थियो, तर मैले अस्वीकार गरें,” प्रचण्डले भने, “देशको अहिलेको राजनीतिक अवस्था हेर्दा एकपक्षीय गठबन्धनभन्दा सहमतिमा आधारित सरकार आवश्यक छ।”

उनको यो अभिव्यक्तिलाई प्रदेशस्तरमा नयाँ सत्ता समीकरणको संकेतका रूपमा हेरिएको छ। पछिल्लो समय विभिन्न प्रदेशमा सरकार फेरबदलको चर्चा चलिरहेका बेला प्रचण्डले राखेको ‘सर्वदलीय सहमति’को अडानले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

विशेषगरी कांग्रेस–एमालेबीच केन्द्रदेखि प्रदेशसम्म सहकार्यको चर्चा भइरहेका बेला प्रचण्डले दुवै दलसँग अलग–अलग समीकरण अस्वीकार गर्नु अर्थपूर्ण मानिएको छ। यसले नेकपाले तत्काल कुनै एक पक्षसँग सत्ता साझेदारी गर्ने सम्भावना कमजोर देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रचण्डले प्रदेश सरकार गठनलाई केवल सत्ता बाँडफाँटको विषय नभई राजनीतिक स्थायित्व र जनविश्वाससँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेका छन्। उनले अहिलेको अवस्थामा प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखेका छन्।

Read More

लेबनानमा युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

काठमाडौँ । लेबनानमा जारी हिंसा, विस्थापन र त्रासदीपूर्ण घटनाको सबैभन्दा बढी असर बालबालिकामाथि परिरहेको भन्दै युनिसेफले गम्भीर चिन्ता व्यक्त गरेको छ । गत अप्रिल १७ मा युद्धविराम सहमति भए पनि पछिल्लो सात दिनमै कम्तीमा ५९ जना बालबालिका मारिएको वा घाइते भएको युनिसेफले जनाएको छ । 

युनिसेफका अनुसार शुक्रबार बिहान भएको एक आक्रमणमा एउटै परिवारका दुई बालबालिका र उनीहरूकी आमाको कारमै मृत्यु भएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविरामपछि हालसम्म कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ भने ९३ जना घाइते भएका छन् । मार्च २ यता कुल २०० बालबालिकाको ज्यान गएको र ८०६ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ । यो औसतमा दैनिक करिब १४ बालबालिका मारिने वा घाइते हुने अवस्था रहेको युनिसेफले जनाएको छ ।

युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेडरले बालबालिका विद्यालय फर्किनुपर्ने, साथीहरूसँग खेल्नुपर्ने र डर तथा अस्थिरताबाट मुक्त हुनुपर्ने समयमा उनीहरू नै हिंसाको सिकार भइरहेको बताएका छन् । उनले करिब एक महिनाअघि युद्ध रोक्ने र हिंसा अन्त्य गर्ने सहमति भए पनि वास्तविक अवस्था फरक देखिएको बताए । निरन्तरको आक्रमणले बालबालिकालाई मार्ने, घाइते बनाउने र उनीहरूको मानसिक आघात अझ गहिरो बनाइरहेको उनको भनाइ छ ।

युनिसेफका अनुसार बमबारी र हवाई आक्रमणको प्रत्यक्ष असरभन्दा बाहिर पनि करिब ७ लाख ७० हजार बालबालिका हिंसा, विस्थापन र परिवार गुमाउनुको मानसिक पीडाबाट प्रभावित छन् । बालबालिका तथा उनीहरूका अभिभावकमा अत्यधिक डर, चिन्ता, नराम्रो सपना देख्ने, निद्रा नलाग्ने तथा निराशा जस्ता समस्या देखिएको बताइएको छ । सुरक्षित वातावरणमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग नपाए ती बालबालिकामा दीर्घकालीन मानसिक समस्या विकास हुन सक्ने चेतावनी युनिसेफले दिएको छ ।

युनिसेफको सन् २०२५ को बालबालिकामुखी द्रुत मूल्यांकन प्रतिवेदनअनुसार सन् २०२४ को सैन्य तनावपछि बालबालिकाको मानसिक स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रिएको थियो। प्रतिवेदनमा ७२ प्रतिशत अभिभावकले आफ्ना बालबालिका अत्यधिक चिन्तित वा डराएको बताएका थिए भने ६२ प्रतिशतले बालबालिका उदास र निराश बनेको बताएका थिए ।

बेइगबेडरले पटक–पटकको द्वन्द्व, विस्थापन र असुरक्षाले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्ने बताएका छन् । तत्काल सहयोग नपाए अहिलेको संकटका मानसिक घाउ वर्षौंसम्म रहने र यसले बालबालिकाको भविष्यसँगै देशको भविष्यमा पनि असर पार्ने उनको भनाइ छ । युनिसेफले लेबनानभर सुरक्षित केन्द्र तथा समुदायमा आधारित कार्यक्रममार्फत मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग सेवा विस्तार गरिरहेको जनाएको छ । तर आवश्यकताको तुलनामा उपलब्ध स्रोत निकै कम रहेको संस्थाले उल्लेख गरेको छ ।

साथै युनिसेफले सबै पक्षलाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र युद्धविराम कार्यान्वयन कायम राख्न आग्रह गरेको छ।

Read More

अब विदेशबाटै नेपाली बजारमा लगानी गर्न सकिने, नबिलले थप्यो नयाँ सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)’ सेवा थप्दै लगानीलाई मोबाइलमै सीमित बनाउने रणनीति अघि बढाएको छ।

बैंकले ग्राहकलाई एउटै प्लेटफर्मबाट बैंकिङ र लगानी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ सेवा सुरु गरेको जनाएको छ। अब ग्राहकहरूले एनबैंक एपमार्फत सीधै एसआईपीमा दर्ता हुन र किस्ता रकम भुक्तानी गर्न सक्नेछन्।

बैंकका अनुसार यो सेवा प्रयोग गर्न कुनै अतिरिक्त शुल्क लाग्ने छैन। प्रयोगकर्ताले एनबैंकको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ आइकनमार्फत सहजै सेवा लिन सक्नेछन्।

नबिल बैंकले विदेशमा रहेका नेपालीलाई पनि लक्षित गर्दै यो सुविधा विस्तार गरिएको दाबी गरेको छ। बैंकका अधिकारीहरूका अनुसार अब विदेशबाटै नेपाली वित्तीय बजारमा जोडिन र नियमित लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

डिजिटल बैंकिङ सेवामा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नबिलले मोबाइल बैंकिङलाई लगानी प्लेटफर्मका रूपमा विस्तार गर्न थालेको यो कदमलाई बैंकको नयाँ डिजिटल रणनीतिका रूपमा हेरिएको छ।

Read More

कामिरिताले तोडे आफ्नै किर्तिमान, ३२औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय शेर्पाले आइतबार बिहान १० बजेर १२ मिनेटमा सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।

गत वर्ष जेठ १३ गते कामिरिताले ३१औँ पटक सगरमाथाको आरोहण पूरा गरेका थिए । उनले विस २०८१ को एकै सिजनमा २९ र ३०औं पटक आरोहण पूरा गरेका थिए । 

कामिरिताले विस २०७९ को वसन्त ऋतुमा पनि दुई पटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए । उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ ।

Read More