२०८३ श्रावण १६

‘गणतन्त्र मास्ने खेल भइरहेको छ’: माधव नेपालको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय निधनले देश र कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा जारी सन्देशमा नेपालले मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनका मौलिक चिन्तक र दूरदर्शी नेताका रूपमा स्मरण गरेका छन्। उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ ले संकटग्रस्त अवस्थामा रहेको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको दाबी गरेका छन्।

नेपालले विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको समयमा मदनले बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादको नयाँ अवधारणा अघि सारेको उल्लेख गरेका छन्। उनले जीवराज आश्रितको संगठन निर्माण र पार्टी सञ्चालनमा रहेको भूमिकाको पनि प्रशंसा गरेका छन्।

सन्देशमा नेपालले वर्तमान राजनीतिक अवस्थाप्रति समेत तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद र विसर्जनवादविरुद्ध संघर्ष जारी रहने चेतावनी दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने प्रयास भइरहेको आरोप लगाए।

नेपालले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धि उल्ट्याउने खेल भइरहेको भन्दै नेता–कार्यकर्तालाई सतर्क रहन आग्रह गरेका छन्।