काठमाडौँ । काठमाडौँको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एक महिने पुरुषोत्तम मास अर्थात् ‘मलमास मेला’ सुरु भएको छ। धार्मिक महत्व बोकेको यो मेलामा उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरूको ठूलो भीड लाग्न थालेको छ।
धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पाप नष्ट हुने र पुण्य प्राप्त हुने मान्यता छ। यही आस्थाका कारण हरेक मलमासमा मच्छेनारायण क्षेत्रमा विशेष धार्मिक चहलपहल देखिने गर्छ।
मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुड द्वार र माछाको मुखबाट प्रकट भएको भगवान् मत्स्यनारायणको मूर्ति भक्तजनका लागि मुख्य आकर्षण बनेको छ। चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्तिलाई भगवान् विष्णुको मत्स्य अवतारको प्रतीक मानिन्छ।
धार्मिक ग्रन्थअनुसार भगवान् विष्णुले लिएका दश अवतारमध्ये मत्स्य अवतार पहिलो अवतार हो। प्रलयकालमा वेदको रक्षा गर्न भगवान् विष्णुले मत्स्य रूप धारण गरेको विश्वास हिन्दु धर्मावलम्बीमा रहिआएको छ।
मेलालाई लक्षित गर्दै मन्दिर क्षेत्रमा सुरक्षा, सरसफाइ र भक्तजन व्यवस्थापनका तयारी पनि तीव्र पारिएको छ। आयोजकका अनुसार आगामी एक महिनासम्म दैनिक हजारौँ श्रद्धालु मन्दिर पुग्ने अपेक्षा गरिएको छ।




