२०८३ श्रावण १६

मदनको मृत्यु सामान्य दुर्घटना होइन, ‘मदनलाई बदनाम गर्न झुटा आरोप लगाइए’: प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमाले नेता तथा मदन–आश्रित प्रतिष्ठानका अध्यक्ष प्रदीप ज्ञवालीले टनकपुर सम्झौताको विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले “ढाँटेको” भन्दै त्यसविरुद्ध मदन भण्डारीले आन्दोलनको नेतृत्व गरेको बताएका छन्।

३३ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा गरिएको संवादमा ज्ञवालीले मदन भण्डारीलाई राष्ट्रियता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका प्रमुख अभियन्ताका रूपमा स्मरण गर्दै यस्तो बताएका हुन् ।

ज्ञवालीका अनुसार टनकपुर विवादपछि मदन भण्डारी राष्ट्रियताको सवालमा झन् लोकप्रिय बनेका थिए। “गिरिजाप्रसादले सन्धि होइन, सामान्य समझदारी मात्र हो भनेर ढाँट्नुभयो, त्यसपछि मदनले आन्दोलन सुरु गर्नुभयो,” ज्ञवालीले भने।

ज्ञवालीले मदन भण्डारीको सबैभन्दा ठूलो योगदान ‘जनताको बहुदलीय जनवाद’ भएको उल्लेख गर्दै सोभियत संघ विघटनपछि विश्वभर कम्युनिस्ट आन्दोलन संकटमा रहेका बेला मदनले बहुदलीय प्रतिस्पर्धामार्फत समाजवादको नयाँ बाटो देखाएको बताए।

उनले मदनको लोकप्रियताको अर्को कारण उनको प्रभावशाली वक्तृत्वकला र जनताको भाषामा बोल्ने शैली भएको पनि बताए। “उहाँले जटिल कुरा पनि जनताले बुझ्ने भाषामा भन्नुहुन्थ्यो,” ज्ञवालीको भनाइ छ।

दासढुंगा घटनाबारे बोल्दै ज्ञवालीले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु “सामान्य दुर्घटना जस्तो नदेखिने” दाबी गरे। उनले विभिन्न आयोगले समेत घटनालाई पूर्ण रूपमा स्वाभाविक भन्न नसकेको उल्लेख गर्दै चालक सकुशल हुनु, कपडा समेत नभिज्नु र अन्य परिस्थिति शंकास्पद रहेको बताए।

ज्ञवालीले दासढुंगा घटनाको सत्य अझै बाहिर नआएको स्वीकार गर्दै “कुनै न कुनै दिन रहस्य खुल्ने विश्वास” व्यक्त गरे। साथै, उनले मदन भण्डारीमाथि विगतमा विभिन्न झुटा आरोप र दुष्प्रचार गरिएको दाबी पनि गरे।

संवादमा ज्ञवालीले मदन भण्डारीलाई “अद्वितीय प्रतिभा भएका, समयको संकेत बुझ्ने र देशका लागि जीवन त्याग्न तयार नेता” का रूपमा स्मरण गरेका छन्।