२०८३ जेष्ठ २७

बर्डफ्लु नियन्त्रणका लागि सरकारको आकस्मिक अभियान, १० जिल्लामा पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा थप फैलावट रोक्न आकस्मिक अभियान सञ्चालन गरेको छ। रोग पुष्टि भएका १० जिल्लामा हालसम्म ७२ वटा फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार प्रभावित पन्छीमध्ये सबैभन्दा बढी लेयर्स कुखुरा तथा स्थानीय जातका कुखुरा रहेका छन्। सरकारको निर्देशनमा परिचालित ‘द्रुत कार्य टोली’ले रोग नियन्त्रणका क्रममा करिब सात लाख अण्डा र १८३ टन दाना पनि नष्ट गरेको छ।

केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु क्रमशः महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लासहित पछिल्लो समय नवलपरासीसम्म फैलिएको विभागले जनाएको छ।

महानिर्देशक दाहालले बर्डफ्लुको कुनै प्रभावकारी उपचार नभएको उल्लेख गर्दै रोग देखिएलगत्तै नियन्त्रणमा लिनु नै यसको प्रमुख उपाय भएको बताए। “रोग फैलिन नदिन संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। त्यसैले पशु चिकित्सक र पशु स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा खटिएर नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन्,” उनले भने।

विभागका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। यद्यपि चितवनसहित मुलुकका अन्य अधिकांश प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणको अवस्थामा पुगेको जनाइएको छ।

थप संक्रमण रोक्न प्रभावित क्षेत्रका सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट गरिएको मितिबाट करिब दुई महिनापछि मात्रै व्यवसाय पुनः सञ्चालन गर्न पाइने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था

बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार रोग नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने व्यवस्था छ। लागत मूल्य जिल्ला तथा स्थानीय अवस्थाअनुसार फरक हुन सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसहितका सरोकारवाला निकायको बैठकले राहत रकम निर्धारण गर्ने महानिर्देशक दाहालले जानकारी दिए।

Read More

सम्पर्कविहीन प्रहरी निरीक्षक डा. विवेक पन्थीलाई गृहको सातदिने अल्टिमेटम

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी निरीक्षक डा. विवेक पन्थीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले उनलाई गैरहाजिरीबारे सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

गृह मन्त्रालयका अनुसार कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक डा. पन्थीले गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गरेका थिए। तर बिदा अवधि समाप्त भएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा हाजिर नभएको तथा कुनै जानकारीसमेत नगराई गैरहाजिर रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित कार्यालय र स्थानीय तहमार्फत खोजतलास गर्दा समेत उनको सम्पर्क स्थापित हुन नसकेपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी भएको मितिबाट बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिरीको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रहरी नियमावलीको नियम ११३(१)(च) र नियम १०९(ख)(१) बमोजिम ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी मन्त्रालयले दिएको छ।

Read More

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक, सरकारका कामकारबाहीबारे समीक्षा हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ।

बैठकमा देशको समसामयिक राजनीतिक तथा प्रशासनिक अवस्थाबारे छलफल हुनुका साथै सरकारका कामकारबाहीको समीक्षा र अन्य महत्वपूर्ण विषयमा निर्णय तथा विचार-विमर्श गरिने जनाइएको छ।

Read More

ट्रम्पको नेतन्याहूलाई एक्लै पर्नसक्ने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिँदै तनाव बढ्दै गए ईरानको विषयमा उनी एक्लै पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

इजरायलको च्यानल बाह्रलाई दिएको अन्तर्वार्तामा ट्रम्पले नेतन्याहूलाई यस्तो चेतावनी दिएका हुन् । नेतन्याहूले आइतबार ईरानमाथि आक्रमण गर्ने अन्तिम निर्णयको योजना बारे ट्रम्पलाई अन्तिम चरणसम्म पूर्ण जानकारी नदिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आइतबार ट्रम्पले नेतन्याहूलाई ईरानमाथि जवाफी आक्रमण नगर्न आग्रह गरेका थिए ।

यसअघि इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि ईरानले इसराइलमाथि प्रतिआक्रमण गरेको थियो । च्यानल बाह्रको विवरण अनुसार दुई नेताबीचको कुराकानी कुनै सहमतिबिना नै सकिएको थियो र नेतन्याहूले आफ्नो अन्तिम निर्णय ट्रम्पलाई स्पष्ट रूपमा जानकारी गराएका थिएनन् । पछि नेतन्याहूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई आफूले ईरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए । ट्रम्पले च्यानल बाह्रसँग कुरा गर्दै आफूले उक्त आक्रमणको ‘परिमाण घटाउन’ सफल भएको दाबी गरेका छन् । ट्रम्पले नेतन्याहूलाई ईरानसँग जारी तनावलाई पूर्ण युद्धमा बदलिन नदिन पनि चेतावनी दिएका थिए । उनले च्यानल बाह्रलाई भनेका छन्- ‘मैले बीबीलाई भनेँ, तपाईंले के गरिरहनुभएको छ भन्ने कुरामा निकै सावधान हुनुपर्छ, किनकि धेरै छिट्टै यस्तो अवस्था आउन सक्छ कि तपाईं ईरानको सामु एक्लै पर्न सक्नुहुन्छ ।’

सोमबार बिहान इरान र इजरायलले एक अर्कामाथि मिसाइल आक्रमण गरेपनि अहिले भने दुवै पक्षले आक्रमण रोकेका छन् । 

Read More

मानवतामूलक सहरको पहिचानतर्फ काठमाडौं : सहयोगापेक्षी मानवमुक्त क्षेत्र घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई ‘सडक सहयोगापेक्षी मानवमुक्त’ क्षेत्र घोषणा गरेको छ। सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक औपचारिक समारोहबीच ‘जो बेसहारा, महानगरपालिकाको अभिभारा’ भन्ने नारासहित महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त घोषणा गरेकी हुन्।

घोषणासँगै यसको प्रभावकारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र मानव सेवा आश्रमबीच सहकार्य सम्झौता पनि सम्पन्न भएको छ।

सडक तथा सार्वजनिक स्थलमा भेटिने सहयोगापेक्षी व्यक्तिहरूको उद्धार, संरक्षण, पुनःस्थापना तथा व्यवस्थापनलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने उद्देश्यले गरिएको सम्झौतामा महानगरपालिकाका तर्फबाट कार्यवाहक प्रमुख डंगोल, नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल तथा मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै जारी गरिएको संयुक्त प्रतिबद्धतामा ‘बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौं महानगर क्षेत्र घोषणा–२०८३’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण, संयन्त्र विकास तथा सम्बन्धित निकाय र सरोकारवालामाझ सूचनाको प्रभावकारी सम्प्रेषणमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई सांस्कृतिक सहरका साथै मानवतामूलक सहरका रूपमा स्थापित गर्ने उद्देश्यले सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको बताइन्।

उनले महानगरले विगत नौ वर्षदेखि सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापनका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी बनाइने बताइन्।

“आजसम्म सहरमा भेटिएका सबै सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरेका छौं। आगामी दिनमा पनि सडक वा सार्वजनिक स्थलमा यस्ता व्यक्ति भेटिए तत्काल उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित संयन्त्र परिचालन गरिनेछ,” डंगोलले भनिन्।

समारोहमा पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवता प्रवर्द्धनका क्षेत्रमा विगतमा हुनुपर्ने काम पर्याप्त रूपमा हुन नसकेको स्वीकार गर्दै अब कुनै कमजोरी हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

उनले विगतका कमीकमजोरीलाई आगामी दिनका सकारात्मक कार्यमार्फत सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै मानवतामूलक समाज निर्माणमा सबैको साझा प्रयास अपरिहार्य रहेको बताए।

Read More

बेड संख्याअनुसार शुल्क नतिर्ने यी ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल गर्ने निर्णय

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।

जस अनुसार चितवन मेडिकल कलेज भरतपुर, चितवनसँग ७ लाख, नेपाल मेडिसिटी अस्पतालसँग १८ लाख, गण्डकी मेडिकल कलेज पोखरासँग १० लाख, नोबेल मेडिकल कलेज, विराटनगरसँग २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज (विराटनगर/काठमाडौँ) सँग १० लाख असुल गर्ने निर्णय भए छ ।

त्यस्तै किष्ट मेडिकल कलेज (ललितपुर) सँग १८ लाख, धुलिखेल अस्पताल (काभ्रे) सँग १७ लाख र मणिपाल कलेज (पोखरा) सँग १८ लाख, काठमाडौँ मेडिकल कलेज (काठमाडौँ) सँग १८ लाख, देवदह मेडिकल कलेज (देवदह) सँग ८ लाख र युनिभर्सल मेडिकल कलेज (भैरहवा) सँग ३० लाख असुल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

Read More

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप सहज, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्य राखिएको छ । नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई डिजिटल कर्जा प्रवाहका क्रममा प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पनि अनुमति दिएको छ ।

संशोधनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकको विद्युतीय कारोबार, भुक्तानीसम्बन्धी विवरण तथा व्यवसायिक सूचनाका आधारमा कर्जा विश्लेषण गर्न सक्नेछन् । यसका लागि प्रविधि सेवा प्रदायक संस्थासँग सहकार्य गर्न पाइने भए पनि त्यससँग सम्बन्धित जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले डिजिटल कर्जाको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थामा तलब, पेशागत वा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिले अधिकतम ५ लाख रुपैयाँसम्म डिजिटल कर्जा लिन सक्नेछन् । अन्य प्राकृतिक व्यक्तिका लागि यस्तो सीमा २ लाख रुपैयाँ तोकिएको छ । दुवै प्रकारका कर्जाको भुक्तानी अवधि अधिकतम ३ वर्षसम्म हुनेछ ।

त्यस्तै, लघु, साना तथा मझौला व्यवसायीलाई अल्पकालीन चालु पुँजी कर्जाअन्तर्गत अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिनेछ, जसको भुक्तानी अवधि १ वर्ष तोकिएको छ । यस्तै, दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाअन्तर्गत अधिकतम १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीतिअनुसार निर्धारण गर्नेछन् ।

संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध व्यापारीको सहमतिमा उनीहरूको व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण प्राप्त गरी कर्जा विश्लेषणका लागि उपयोग गर्न सक्नेछन् ।

यसबाहेक, बैंक तथा वित्तीय संस्थाले प्रविधि सेवा प्रदायक संस्थामार्फत ग्राहकको सहमतिमा व्यवसाय तथा कारोबारसम्बन्धी आवश्यक विवरण संकलन गर्न सक्नेछन् । तर त्यस्ता कर्जामा निहित सम्पूर्ण जोखिम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, विवरण प्राप्ति प्रक्रिया, गोपनीयता, आधिकारिकता तथा ग्राहकको सहमतिसम्बन्धी विषय समेटेर प्रविधि सेवा प्रदायकसँग सम्झौता गर्नुपर्ने र त्यसको जानकारी राष्ट्र बैंकलाई दिनुपर्ने प्रावधान पनि थपिएको छ ।

राष्ट्र बैंकले यो संशोधनमार्फत डिजिटल कर्जाको पहुँच विस्तार गर्दै विशेषगरी लघु, साना तथा मझौला व्यवसायीलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

Read More

एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ

काठमाडौं । प्रविधि कम्पनी एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’लाई ठूलो स्तरमा रूपान्तरण गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता प्रणालीयुक्त ‘सिरी एआई’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ संस्करणले प्रयोगकर्तालाई अझ प्रभावकारी, व्यक्तिगत र संवादमुखी अनुभव प्रदान गर्नेछ ।

कम्पनीको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलनमा यो घोषणा गरिएको हो । सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको अन्तिम सम्मेलन पनि बनेको छ । उनी आगामी सेप्टेम्बरमा १५ वर्षे कार्यकालपछि पदबाट बाहिरिने भएका छन् । उनको स्थानमा जोन टर्नसले नेतृत्व सम्हाल्नेछन् ।

सिरीमा कृत्रिम बुद्धिमत्ताको नयाँ युग

एप्पलले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछि परेको आलोचना खेपिरहेको थियो । त्यसैबीच कम्पनीले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दै आफ्नो रणनीतिक दिशा स्पष्ट गरेको छ ।

नयाँ सिरी एआईले एप्पलका विभिन्न उपकरण र एपबीच एकीकृत रूपमा काम गर्नेछ । साथै, कम्पनीले कृत्रिम बुद्धिमत्ता सहायकका लागि छुट्टै एप पनि ल्याउने घोषणा गरेको छ, जसले अन्य अग्रणी प्रविधि कम्पनीहरूले उपलब्ध गराउँदै आएका सेवासँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार सिरी एआईले प्रयोगकर्ताको अघिल्लो प्रयोग, तस्बिरहरूको बुझाइ, विश्वव्यापी जानकारी तथा व्यक्तिगत आवश्यकता समेटेर काम गर्नेछ । यसले हालको सिरीभन्दा धेरै सक्षम र स्वाभाविक संवाद गर्न सक्ने सहायकको भूमिका निर्वाह गर्ने दाबी गरिएको छ ।

हाल एप्पल इन्टेलिजेन्समार्फत लेखन सहयोग र तस्बिर सम्पादनजस्ता सुविधा उपलब्ध भए पनि सिरीको उन्नत संस्करण सार्वजनिक गर्न कम्पनीले अपेक्षाकृत लामो समय लगाएको थियो ।

प्रविधि विश्लेषक बेन वुडले एप्पलले कृत्रिम बुद्धिमत्तासम्बन्धी कमजोरीको जवाफ दिनैपर्ने अवस्था रहेको र सम्मेलनमार्फत केही उत्तर दिएको बताए । उनका अनुसार अब कम्पनीले गोपनीयतामा आधारित तथा एकीकृत प्रणालीले प्रयोगकर्ताको दैनिक अनुभव वास्तवमै सुधार्न सक्छ भन्ने प्रमाणित गर्नुपर्ने चुनौती छ ।

नयाँ सिरी एआईको परीक्षण संस्करण यसै वर्ष अंग्रेजी भाषामा चल्ने समर्थित उपकरणमा उपलब्ध गराइनेछ । यद्यपि युरोपेली सङ्घका देशहरूमा भने तत्काल उपलब्ध नहुने एप्पलले जनाएको छ ।

कम्पनीका अनुसार पछिल्ला केही महिनादेखि युरोपेली नियामक निकायहरूसँग छलफल भए पनि अन्य भर्चुअल सहायक सेवासँग सुरक्षित रूपमा सहअस्तित्व कायम गर्ने प्रस्ताव स्वीकार नभएकाले त्यहाँ सेवा विस्तार रोकिएको हो ।

यस वर्षको सुरुवातमा एप्पलले गुगलसँग सहकार्य गर्दै गुगलको जेमिनी मोडल र क्लाउड प्रविधिमा आधारित एप्पल फाउन्डेसन मोडल सार्वजनिक गरेको थियो ।

बालबालिकाको सुरक्षामा नयाँ कदम

एप्पलले आफ्नो आगामी सञ्चालन प्रणाली ‘आईओएस २७’ अन्तर्गत बालबालिकाको सुरक्षासम्बन्धी नयाँ व्यवस्था पनि घोषणा गरेको छ । कम्पनीले ‘आस्क’ नामक सुविधा विस्तार गर्दै अभिभावकलाई आफ्ना बालबालिकाले कससँग कुरा गर्न पाउने वा नपाउने भन्ने नियन्त्रण दिने जनाएको छ । अब अपरिचित व्यक्तिसँग कुराकानी गर्नुअघि अभिभावकको स्वीकृति आवश्यक हुनेछ ।

त्यस्तै, बालबालिकाको उपकरणमा पठाइने तस्बिर कम्पनीको प्रणालीले यौनजन्य वा हिंसात्मक सामग्री भएको आशङ्का गरेमा स्वतः सेन्सर गरिनेछ । फेडेरिघीले अभिभावकलाई बालबालिकाले के हेर्ने, कससँग कुरा गर्ने र कहिले पहुँच पाउने भन्ने व्यवस्थापन गर्न शक्तिशाली तथा प्रयोग गर्न सजिलो उपकरण उपलब्ध गराइएको बताए । बालबालिका सुरक्षाका पक्षधर समूहहरूले भने एप्पलले पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएका छन् ।

सम्मेलन सुरु हुनुअघि एप्पलको आगन्तुक केन्द्रबाहिर केही प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका थिए । ‘हिट इनिसिएटिभ’ नामक अभियान समूहकी सारा गार्डनरले एप्पलको एप स्टोरबाट सबै प्रकारका नग्न तस्बिर सिर्जना गर्ने प्रविधि हटाउन माग गर्दै विरोध जनाइन् ।

उनले कम्पनीको क्लाउड सेवाबाट बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री हटाउन पनि माग गरिन् । उनका अनुसार यस्ता कृत्रिम बुद्धिमत्तामा आधारित अश्लील तस्बिर बनाउने एपबाट कम्पनीले कम्तीमा १७ करोड ७० लाख अमेरिकी डलर आम्दानी गरेको छ ।

एप्पलले भने यस्ता एप आफ्ना नियमविपरीत रहेको र धेरै अनुप्रयोग पहिल्यै हटाइसकेको जनाएको छ ।

टिम कुकको भावुक बिदाइ

यस वर्षको सम्मेलन एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका लागि विशेष रह्यो । एप्पलका सहसंस्थापक स्टिभ जब्स स्वास्थ्य समस्याका कारण पदबाट हटेपछि कुकले सन् २०११ मा नेतृत्व सम्हालेका थिए । १५ वर्ष नेतृत्व गरेका कुकलाई एप्पल पार्कमा उपस्थित हजारौँ कर्मचारी र विकासकर्ताले उभिएर सम्मान व्यक्त गरेका थिए । मञ्चमा उनले मजाक गर्दै ‘यति धेरै आईफोन मैले पहिले कहिल्यै देखेको थिइनँ’ भनेका थिए ।

बिदाइका क्रममा उनी भावुक पनि देखिए । उनले विश्वभरका मानिसहरूको जीवन सहज बनाउन विकासकर्ताहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै विगत १५ वर्षको यात्राका लागि आभार व्यक्त गरे । कुकले एप्पलको नेतृत्व गर्नु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताए ।

उनका उत्तराधिकारी जोन टर्नस मुख्य प्रस्तुतीकरण कार्यक्रममा बोल्न भने आएनन् । तर उनी सञ्चारकर्मीसँगको कार्यक्रममा कुकको छेउमै अगाडि बसेका थिए । 

बजार अनुसन्धान संस्था आईडीसीका विश्लेषक फ्रान्सिस्को जेरोनिमोका अनुसार सन् २०२६ को विकासकर्ता सम्मेलनले जोन टर्नसलाई थप व्यक्तिगत उपकरण, सन्दर्भ बुझ्ने सफ्टवेयर, बुद्धिमान सेवा तथा चिप, हार्डवेयर र कृत्रिम बुद्धिमत्ताबीचको गहिरो एकीकरणतर्फ अघि बढ्ने स्पष्ट मार्ग प्रदान गरेको छ ।

विश्लेषकहरूको भनाइमा एप्पलले प्रयोगकर्ताले अपेक्षा गरेअनुसारको विश्वसनीय, आकर्षक र सुरक्षित अनुभव दिन सके सिरी एआई र एप्पल इन्टेलिजेन्स कम्पनीको भविष्यको केन्द्रबिन्दु बनेको क्षणका रूपमा यो सम्मेलन सम्झिनेछ ।

Read More

यी चर्चित खेलाडीले गर्दैछन् विश्वकप फुटबलमा डेभ्यु

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२६ नजिकिदै गर्दा सबै चासो अब फुटबलको यस महाकुम्भतर्फ भएको छ । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुन लागेको यो संस्करण अहिलेसम्मकै ठूलो मानिएको छ । यसपटक ४८ टोली सहभागी हुँदैछन्, जसले गर्दा पहिलो पटक धेरै नयाँ र चर्चित खेलाडीहरू विश्व मञ्चमा देखिन लागेका छन् ।

लामो समयदेखि प्रतीक्षा गरिरहेका केही खेलाडी उमेर वा चोटका कारण पहिलेका विश्वकप गुमाएका थिए भने केही आफ्नो देशले छनोट नपाउँदा बाहिर थिए । अब उनीहरू पहिलो पटक विश्वकपको दबाब र चमकबीच मैदानमा उत्रिँदैछन् ।

इर्लिङ हालान्ड (नर्वे)

नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । टोलीमा मार्टिन ओडेगार्ड, एन्टोनियो नुसा र अलेक्जेन्डर सर्लोथजस्ता नाम भए पनि सबैभन्दा ठूलो आकर्षण स्ट्राइकर इर्लिङ हालान्ड रहनेछन् । हालान्डको अन्तर्राष्ट्रिय रेकर्ड निकै रोचक छ, ४९ खेलमा ५५ गोल । तर यो उनको पहिलो विश्वकप मात्र होइन, अहिलेसम्म कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नखेलेको पनि पहिलो अवसर हो । नर्वे समूह चरणमा इराक, सेनेगल र फ्रान्ससँग खेल्नेछ। विशेषगरी फ्रान्ससँगको खेलमा उनीमाथि ठूलो नजर रहनेछ ।

लामिन यमल (स्पेन)

१८ वर्षका यामल अहिले स्पेनको भविष्य मात्र होइन, वर्तमानका पनि निर्णायक खेलाडी बनिसकेका छन् । बार्सिलोनाबाट १५ वर्षमै डेब्यु गरेर चर्चामा आएका उनले युरो २०२४ मा स्पेनलाई उपाधि जिताउन निर्णायक भूमिका खेलेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध गरेको शानदार गोल र निर्णायक पासहरूले उनलाई विश्व फुटबलको केन्द्रमा ल्याएको थियो । अब विश्वकपमा पनि स्पेनको मुख्य आक्रमण यिनै युवा खेलाडीमा निर्भर रहनेछ ।

फ्लोरियन भिर्ट्ज (जर्मनी)

लिभरपुलले भारी रकममा अनुबन्ध गरेका भिर्ट्ज जर्मनीको आक्रमणको मुख्य मस्तिष्क हुन् । चोटका कारण उनले सन् २०२२ विश्वकप गुमाएका थिए । युरो २०२४ मा उनले दुई गोल गर्दै आफ्नो क्षमता देखाइसकेका छन् । अहिले उनी जर्मनीका लागि खेल सिर्जना गर्ने मुख्य खेलाडी मानिन्छन् । जामाल मुसियालासँगको उनको जोडीले जर्मनीको आक्रमणलाई नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ ।

लुइस डियाज (कोलम्बिया)

२९ वर्षका डियाजले पहिलो पटक विश्वकप खेल्दैछन् । अचम्मको कुरा के हो भने यति अनुभवी खेलाडीले अहिलेसम्म विश्वकप खेल्न पाएनन्, किनभने कोलम्बिया सन् २०२२ मा छनोट हुन सकेको थिएन । लिभरपुल र बायर्न म्युनिख दुवै क्लबमा उनले उच्च स्तरको प्रदर्शन गरिसकेका छन् । पछिल्लो सिजन उनले २६ गोल र १९ असिस्ट गरेका थिए । यदि उनले यही लय कायम राखे भने कोलम्बियालाई गहिरो चरणसम्म पुर्‍याउने प्रमुख आधार बन्न सक्छन् ।

माइकल ओलिस (फ्रान्स)

बायर्न म्युनिखका ओलिसे पछिल्लो सिजन युरोपको सबैभन्दा प्रभावशाली खेलाडीमध्ये एक बने । २५ गोल र २८ असिस्टसहित उनले आफ्नो नाम विश्व फुटबलको शीर्ष सूचीमा लेखाइसकेका छन् । फ्रान्स टोलीमा उनी अब पहिलो रोजाइको हिस्सा बन्ने सम्भावना बलियो छ । डिजिरे डुएजस्ता प्रतिभालाई समेत पछि पार्दै उनले आफ्नो स्थान मजबुत बनाएका छन् ।

जोआओ नेभेस (पोर्चुगल)

२१ वर्षमै युरोपका उत्कृष्ट मिडफिल्डरमध्ये एक बनेका नेभेस पिएसजीसँग दुई पटक च्याम्पियन्स लिग जितिसकेका छन् । पोर्चुगल टोलीमा धेरै मिडफिल्ड विकल्प भए पनि उनले आफ्नो मेहनत र लगातार प्रदर्शनबाट स्थान बनाइरहेका छन् । कहिलेकाहीँ राइट ब्याकमा पनि खेल्न बाध्य भए पनि अब उनी मिडफिल्डमा पूर्ण रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

निको पास (अर्जेन्टिना)

अर्जेन्टिनाका लागि नयाँ र महत्वपूर्ण नाम बनेका निको पास अहिले युरोपमा सबैभन्दा खोजिने प्लेमेकरमध्ये एक हुन् । कोमो क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै उनले इटालियन लिगमा उत्कृष्ट मिडफिल्डरको उपाधि समेत जितेका छन् । रियल मड्रिडले उनलाई पुनः फर्काउने तयारी गरिरहेको छ । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउने योजनामा उनी महत्त्वपूर्ण हिस्सा बन्न सक्छन् ।

फोलारिन बालोगुन (संयुक्त राज्य अमेरिका)

अमेरिकाको आक्रमणमा लामो समयदेखि समस्या रहँदै आएको थियो । त्यही खाली ठाउँ पूरा गर्न बालोगुनलाई मुख्य आशा मानिएको छ । मोनााकोबाट खेल्ने उनले यस सिजन १९ गोल गरेका छन् र लगातार गोल गर्ने क्षमताका कारण चर्चामा छन् । इंग्ल्यान्डबाट राष्ट्रियता परिवर्तन गरेर अमेरिकी टोलीमा आएका उनले कोपा अमेरिकामा पनि आफ्नो क्षमता देखाइसकेका छन् ।

आर्दा ग्युलर (टर्की)

रियल मड्रिडका २१ वर्षीय ग्युलर टर्कीका लागि सबैभन्दा ठूलो आशा हुन्। युरो २०२४ मा उनले गोल, असिस्ट र सिर्जनात्मक खेलबाट सबैको ध्यान तानेका थिए । क्लब स्तरमा उनले किलियन एमबाप्पेसँग राम्रो समझदारी बनाउँदै १६ असिस्ट र ७ गोल गरेका छन्। टर्कीको आक्रमण यिनै युवा खेलाडीको वरिपरि घुम्नेछ ।

यान डियोमान्डे (आइभोरी कोस्ट)

१९ वर्षका डियोमान्डे अहिले युरोपका सबैभन्दा चर्को रूपमा हेरिएका युवा विङ्गर हुन् । लिभरपुल र पिएसजीले उनलाई पछ्याइरहेका छन् । अफ्रिका कप अफ नेसन्समा राम्रो प्रदर्शन गरेका उनी अब विश्वकपमा आफ्नो क्षमता प्रमाणित गर्न तयार छन् । गति, ड्रिब्लिङ र आक्रमणमा उनको प्रभाव टोलीका लागि निर्णायक हुन सक्छ । 

Read More

सुदूरपश्चिममा काँग्रेसका मन्त्री फेरिए

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन् ।

यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ । एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो । 

 मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन् । काँग्रेसमा मुख्यमन्त्रीबाट शाहलाई हटाउने तयारी शुरु भएपछि उनले मन्त्री फेरेको बताइएको छ ।

Read More