२०८३ श्रावण १५

सांसद हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन माग, विभिन्न घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेको एक अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउने माग यथावत् रहेको उल्लेख गर्दै सभामुखले आवश्यक निर्णय कहिले गर्ने हो भन्ने प्रतीक्षामा आफूहरू रहेको बताए।

बैठकमा सांसद राईले सीमा क्षेत्र सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले प्रवेश गरी अतिक्रमण प्रयास गरेको तथा स्थानीय नेपाली नागरिकलाई त्रास सिर्जना गर्ने गतिविधि भएको दाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

त्यसैगरी, माइतीघरमा प्रदर्शनरत राष्ट्रभक्त युवा अजय सोडारी र दीर्जन विकलाई पक्राउ गरी हिरासतमा राखिएको र उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको भन्ने जानकारी आएको उल्लेख गर्दै उनले गृहमन्त्रीलाई यस विषयमा ध्यान दिन आग्रह गरे। साथै, उनले ती युवालाई अनावश्यक दुःख नदिन सरकारसँग अनुरोध गरे।

राईले एसईई परीक्षाका क्रममा विद्यार्थीका मोबाइल फोन जफत गरी नष्ट गरिएको घटनाप्रति पनि आपत्ति जनाउँदै यस्तो कार्यको आदेश दिने जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गरे।

त्यसैगरी, एक महिलालाई टेम्पुबाट भीरमा खसालिएको भनिएको घटनाप्रति आफू गम्भीर रूपमा मर्माहत भएको उल्लेख गर्दै उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

सांसद राईले घरमाथि ढुंगामुढा प्रहार गरिएको भिडियो सार्वजनिक भएको प्रसङ्ग उल्लेख गर्दै यस्ता घटनाको पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

अन्त्यमा उनले मुलुकमा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुनिश्चितताका लागि सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा राखे।

Read More

संसदमा कूटनीतिक अभिव्यक्ति र अर्थमन्त्रीको टिप्पणीबारे तीव्र विवाद, एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधिसभामा पछिल्ला छलफलका क्रममा सरकारका मन्त्रीहरूका अभिव्यक्तिहरूलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच चर्को बहस देखिएको छ। विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालका भनाइहरूलाई लिएर नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणका क्रममा दिएको भनिएको “इतिहासको बोझ अब बोक्न सक्दैनौँ” भन्ने टिप्पणीबारे स्पष्टिकरण माग गर्दै एमालेले उक्त अभिव्यक्तिको अर्थ र सन्दर्भबारे सरकारको जवाफ आवश्यक रहेको बताएको छ। सो भनाइले कूटनीतिक सन्देशबारे प्रश्न उठाएको एमालेको तर्क छ।

त्यसैगरी, अर्थमन्त्री वाग्लेको संसदमा व्यक्त भनाइ पनि विवादको केन्द्रमा परेको छ। सांसदहरूले कर संरचना हेरफेर र सूचना चुहावटमा उनको संलग्नता हुनसक्ने आशंका गर्दै संसदीय छानबिन समिति गठनको माग उठाएपछि वाग्लेले आफूविरुद्धका आरोप अस्वीकार गरेका थिए। उनले गम्भीर आर्थिक अनियमितता प्रमाणित भएमा पद त्याग गर्न तयार रहेको दाबी गर्दै, विपक्षी नेताहरूका विषयमा पनि सरकारसँग जानकारी रहेको संकेत गरेका थिए।

उनको यही अभिव्यक्तिलाई लिएर संसदभित्र असन्तुष्टि चुलिएको हो।

नेकपा एमालेकी सचिव तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदमा सांसदहरूलाई “फाइल खोल्ने” शैलीमा धम्की दिनु लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरिन्। उनले सरकारलाई यस्तो चेतावनीपूर्ण भाषा प्रयोग नगर्न आग्रह गर्दै, उठाइएका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिइन्।

अर्यालले प्रधानमन्त्रीसँग सम्बन्धित केही विषय संसदको अभिलेखबाट हटाउनुपर्ने माग पनि लामो समयदेखि उठ्दै आएको उल्लेख गरिन्। संसदभित्र प्रश्नहरूको जवाफ दिनुको सट्टा धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नहुने उनको भनाइ थियो।

Read More

धादिङमा नागढुङ्गा–मुग्लिन सडक आयोजनाको अनुगमन : निर्माणमा ढिलाइ नगर्न मन्त्रीको कडा निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्।

आइतबार आयोजना क्षेत्रमा गरिएको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायामलाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका उपाय अपनाएर भए पनि काम निरन्तर अघि बढाउन निर्माण कम्पनीलाई आग्रह गरे। उनले आयोजना समयमै सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै लापरबाही वा काममा सुस्तता कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए।

अनुगमनका क्रममा मन्त्री लम्सालले कामको गति र गुणस्तरप्रति असन्तुष्टि जनाउँदै कडा शब्दमा निर्देशन दिएका थिए। उनका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चा र मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति कठोर असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् भने केहीले सार्वजनिक पदधारीबाट प्रयोग भएको भाषा उपयुक्त नभएको टिप्पणी गरेका छन्।

मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या र अवरोधहरू समाधान गर्न मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे। राष्ट्रिय महत्त्व बोकेको उक्त सडक आयोजना समयमै सम्पन्न गर्न सरकार, निर्माण व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।

यसअघि बिटुमिन आपूर्तिमा देखिएको अभाव तथा केही प्राविधिक चुनौतीका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको काम पछिल्ला दिनहरूमा पुनः तीव्र गतिमा अघि बढिरहेको छ। बिटुमिन आपूर्ति सहज भएसँगै विभिन्न खण्डहरूमा कालोपत्रे कार्यसमेत तीव्र रूपमा भइरहेको आयोजनाले जनाएको छ।

Read More

सेयर बजारको प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ।

यस अवधिमा नेप्से परिसूचक ३.६० अंकले घटेर २,७२०.४३ विन्दुमा कायम भएको छ।

प्रि-ओपन सेसनमा ५८ वटा कम्पनीका कुल ३३ हजार ९७ कित्ता सेयर २१ करोड ७ लाख ७८ हजार ३१३ रुपैयाँ बराबरमा कारोबार भएका छन्।

रोबार भएका स्टकहरूमध्ये २३ वटाको मूल्य बढेको छ भने ३१ वटाको घटेको छ। बाँकी ४ वटा स्टकको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Read More

स्विडेनको ५–१ को सानदार जित, ट्युनिसियामाथि फराकिलो प्रदर्शन

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन ले ट्युनिसिया लाई ५–१ गोलले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। मेक्सिकोस्थित मोन्टेरी स्टेडियममा भएको खेलमा स्विडेनले पहिलो हाफमा २–१ को अग्रता लिँदै दोस्रो हाफमा थप तीन गोल गरेको हो।

स्विडेनका यासिन अयारीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको सुरुवातमा नै टोलीलाई अग्रता दिलाए भने अतिरिक्त समयको अन्तिम मिनेटमा अर्को गोल थपे।

अलेक्जेन्डर इसाकले ३०औं मिनेटमा दोस्रो गोल गरे भने भिक्टर ग्योकेरेसले ५९औं मिनेटमा तेस्रो गोल गरे। माटियास स्वानबर्गले मैदान प्रवेश गरेको केही सेकेन्डमै चौथो गोल थपे। पछि उक्त गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले ८६औं मिनेटमा आधिकारिक रूपमा मान्यता दिएको थियो।

ट्युनिसियाका लागि ओमर रेकिकले ४३औं मिनेटमा एक मात्र गोल फर्काए।

यसअघि समूह ‘एफ’ कै खेलमा जापान र नेदरल्यान्ड्स ले २–२ को बराबरी खेलेका थिए। सो नतिजापछि स्विडेन समूहको शीर्ष स्थानमा पुगेको छ।

Read More

इक्वेडरलाई १–० ले हराउँदै आइभरी कोस्टको रोमाञ्चक जित

काठमाडौँ । २०२६ फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को दोस्रो खेलमा आइभरी कोस्टले इक्वेडरलाई १–० ले पराजित गरेको छ। फिलाडेल्फियामा सम्पन्न यो खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जहाँ अन्तिम समयसम्म पनि दुवै टोलीले गोल गर्ने अवसर पाए तर सफल हुन सकेनन्।

खेलको ११ औँ मिनेटमै इक्वेडरले अग्रता लिने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। १४ औँ मिनेटमा स्ट्राइकरले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो। त्यसपछि १७ औँ मिनेटमा आइभरी कोस्टको प्रयास पनि गोलमा परिणत हुन सकेन।

३० औँ मिनेटमा इक्वेडरले अर्को सुनौलो अवसर गुमायो, जहाँ प्रहार बारमा लागेर रिबाउन्ड भएको थियो। पहिलो हाफभरि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेनन्।

दोस्रो हाफमा आइभरी कोस्टले खेलमा बढी दबाब बनाउँदै आक्रामक प्रदर्शन गर्‍यो। निरन्तर आक्रमण गरेको आइभरी कोस्टले अन्ततः नियमित ९० मिनेटको खेलको अन्तिम मिनेटमा निर्णायक गोल गर्‍यो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले उत्कृष्ट फिनिस गर्दै टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।

यसअघि समूह ‘ई’ को पहिलो खेलमा जर्मनीले कुराकाओलाई ७–१ ले पराजित गरेको थियो। त्यस्तै आजै भएको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीचको खेल २–२ को बराबरीमा सकिएको थियो।

Read More

इरान–अमेरिका बीच प्रस्तावित १४-बुँदे सम्झौता मस्यौदा सार्वजनिक

काठमाडौं  । इरानले संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित १४-बुँदे सम्झौता मस्यौदा सार्वजनिक गरेको छ। इरानी सञ्चारमाध्यम मेहरका अनुसार यो मस्यौदालाई दुवै देशबीच जारी गम्भीर कूटनीतिक वार्ताको परिणामस्वरूप तयार गरिएको प्रारम्भिक शान्ति तथा सहकार्यको खाकाका रूपमा व्याख्या गरिएको छ।

रिपोर्टअनुसार, उक्त दस्तावेजमा इरानका प्रमुख मागहरू समेटिएको दाबी गरिएको छ। यसलाई आगामी वार्ताका लागि आधार दस्तावेजको रूपमा अघि सारिएको बताइएको छ, जसमा आर्थिक प्रतिबन्ध हटाउनेदेखि लिएर क्षेत्रीय सुरक्षा व्यवस्थासम्मका विषय समेटिएका छन्।

प्रस्तावित १४-बुँदे सम्झौताको मुख्य सारांश

बुँदाविषयविवरण
प्रतिबन्ध फुकुवाइरानको तेल, पेट्रोकेमिकल तथा सम्बन्धित निर्यातमा लगाइएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने
वित्तीय पहुँचइरानले रोकिएका सबै वित्तीय स्रोत तथा सम्पत्तिमा पूर्ण पहुँच पुनः प्राप्त गर्ने
रोकिएको रकम फुकुवा६० दिनको वार्ता अवधिमा रोकिएको करिब २४ अर्ब अमेरिकी डलर फुकुवा गरिने, जसमध्ये १२ अर्ब डलर वार्ता सुरु हुनुअघि नै उपलब्ध गराइने
पुनर्निर्माण योजनाअमेरिकासहित सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि करिब ३०० अर्ब डलरको योजना प्रस्तुत गर्ने
युद्धविरामलेबनानसहित सबै मोर्चामा जारी युद्ध तुरुन्त र स्थायी रूपमा अन्त्य गरिने
हस्तक्षेप निषेधअमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सार्वभौमिकताको सम्मान गर्ने
नौसैनिक नाकाबन्दी अन्त्यअमेरिकी नौसैनिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा हटाइने
सैनिक फिर्ताइरान वरपर तैनाथ अमेरिकी सेनाहरू फिर्ता गरिने
होर्मुज जलमार्ग खुलाहोर्मुज जलडमरूलाई ३० दिनभित्र इरानी व्यवस्थापन अन्तर्गत पुनः सञ्चालनमा ल्याइने
१०वार्ता अवधिआणविक मुद्दा र प्रतिबन्ध हटाउने अन्तिम सम्झौताका लागि ६० दिनको औपचारिक वार्ता अवधि सुरु गरिने
११आणविक प्रतिबद्धताइरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो आणविक अप्रसार सन्धिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने
१२सैन्य नियन्त्रणवार्ताको अवधिमा थप सैन्य तैनाथी वा नयाँ प्रतिबन्ध नलगाउने सहमति हुने
१३अनुगमन संयन्त्रसम्झौता कार्यान्वयनका लागि विशेष अनुगमन संयन्त्र गठन गरिने र अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट अनुमोदन गरिने
१४मिसाइल तथा प्रतिरोध समूहइरानको मिसाइल कार्यक्रम तथा प्रतिरोध समूहहरूलाई दिइने समर्थन यस सम्झौताको औपचारिक दायरामा समावेश नगरिने

मेहरका अनुसार यो मस्यौदा अन्तिम सम्झौता नभई प्रारम्भिक प्रस्तावित ढाँचा हो। यसले आगामी चरणका विस्तृत वार्ताहरूलाई दिशा दिने अपेक्षा गरिएको छ, जसपछि मात्र अन्तिम सहमति र कार्यान्वयनको सम्भावना रहनेछ।

Read More

२४ घण्टामा २ हजार २५ सवारी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लंघन गर्ने दुई हजार २५ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ४८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने १६५ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १०५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११७ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रवक्ता सुवेदीका अनुसार विभिन्न अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार १२८ जनासहित कुल दुई हजार २५ जना चालक कारबाहीको दायरामा परेका हुन्। ट्राफिक प्रहरीले सवारी नियमको प्रभावकारी कार्यान्वयन तथा सडक सुरक्षालाई थप सुदृढ बनाउन नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

Read More

अधिकमास समापनसँगै सोमबारे औँसीको विशेष धार्मिक महत्व

काठमाडौं । सोमबार परेको औँसी अर्थात् सोमबारे औँसीका अवसरमा देशभरका वैदिक सनातन धर्मावलम्बीहरूले बिहान मौन रहँदै स्नान गरी पर्व मनाएका छन्। परम्पराअनुसार यस दिन सूर्योदयअघि बोल्नुअघि स्नान गर्ने चलन रहिआएको छ।

धर्मशास्त्रीय मान्यताअनुसार सोमबार परेको औँसीमा मौन स्नान गरे मनोकामना पूरा हुने विश्वास छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यस्तो संयोग वर्षमा सामान्यतया दुईदेखि तीनपटकसम्म पर्न सक्छ।

उनले विभिन्न धार्मिक ग्रन्थहरूमा सोमबारे औँसीका दिन गरिने स्नानलाई दाम्पत्य सुख, पुण्य प्राप्ति तथा आध्यात्मिक कल्याणसँग जोडेर व्याख्या गरिएको उल्लेख गरे। औँसी तिथि श्राद्ध, तर्पण र पितृस्मरणका लागि पनि विशेष महत्व राख्ने मानिन्छ।

धार्मिक मान्यताअनुसार माता–पिता जीवित भएका वा नभएका सबैले यस दिन स्नान गर्नु शुभ मानिन्छ। माता–पिता दिवंगत भइसकेकाहरूले श्राद्ध, तर्पण तथा दानपुण्यका कार्यक्रममार्फत औँसी पर्व मनाउने परम्परा रहेको बताइएको छ।

पर्वका अवसरमा देशका विभिन्न तीर्थस्थलमा स्नान र पूजा–आराधना गर्ने श्रद्धालुको उल्लेखनीय उपस्थिति देखिएको छ। विशेषगरी काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा रहेको मत्स्यनारायण मन्दिर तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा भक्तजनको चहलपहल बढेको छ।

यसैबीच, जेठ ३ गतेदेखि प्रारम्भ भएको अधिकमास (पुरुषोत्तममास) पनि आजबाट सम्पन्न भएको स्वीकृत पात्रोहरूमा उल्लेख गरिएको छ। अधिकमास समापनको अवसरसँगै सम्बन्धित धार्मिक मेला तथा अनुष्ठानहरू पनि अन्तिम चरणमा पुगेका छन्।

Read More

संघीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयक र बजेटमाथि छलफल हुने

काठमाडौं संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छन्। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सचिवालयका अनुसार विभिन्न मन्त्रालय तथा निकायका लागि विनियोजित बजेट शीर्षकमाथि समूहीकृत रूपमा छलफल गरिनेछ।

आजको छलफलमा युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षक समावेश छन्।

यता, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहनेछ। बैठकमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

Read More