२०८३ असार ३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा गिरावट

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा तीन सय रुपैयाँले बढी हो। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदी भने सस्तो भएको छ। सोमबार प्रतितोला पाँच हजार पन्ध्र रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर चार हजार नौ सय नब्बे रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको हो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार दरका आधारमा नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

Read More

शिशिर खनाल र वाङ हुनिङबीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता: नेपाल–चीन सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौं। चीनको औपचारिक चारदिने भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच बेइजिङमा औपचारिक भेटवार्ता भएको छ।

मंगलबार बिहान भएको उक्त छलफलमा नेपाल–चीन सम्बन्धका विभिन्न पक्षहरूबारे विस्तृत विचारविमर्श भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। वार्तामा विशेषगरी विकास सहकार्य, व्यापार विस्तार, लगानी प्रवर्द्धन, पर्यटन, राजनीतिक आदान–प्रदान तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको थियो।

भेटका क्रममा मन्त्री शिशिर खनाल ले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ मजबुत बनाउन चिनियाँ पक्षको निरन्तर प्रतिबद्धताको प्रशंसा गरेका थिए। उनले दुई देशबीचको परम्परागत सम्बन्ध आगामी दिनमा अझ सशक्त र गतिशील हुने विश्वास व्यक्त गरे।

भ्रमण कार्यक्रमअनुसार मन्त्री खनालले आज बेइजिङस्थित ‘ह्वाइट पागोडा’ को अवलोकन गर्नेछन्। त्यसपछि उनले चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्ससहितलाई अन्तर्वार्ता दिने कार्यक्रम रहेको छ। अपराह्न उनी बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुनेछन्।

मन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यी को निमन्त्रणामा आइतबार बेइजिङ पुगेका हुन्। यसअघि सोमबार दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता सम्पन्न भइसकेको थियो।

भ्रमण सम्पन्न गरी मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Read More

ठगी र चेक अनादर प्रकरणमा पक्राउ परेका सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

काठमाडौं । चेक अनादर तथा ठगीसम्बन्धी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।

काठमाडौंमा रेष्टुरेन्ट खरिदसँग सम्बन्धित कारोबारका क्रममा चेक अनादर तथा ठगीको आरोप लागेपछि उनलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धान प्रक्रिया अघि बढिरहेकै अवस्थामा उनी आइतबार हाजिरी जमानीमा छाडिएका हुन्।

काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक परे उपस्थित हुने शर्तसहित परिवारको जिम्मा लगाउँदै साहलाई हाजिरी जमानीमा रिहा गरिएको हो। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

उपत्यका ट्राफिक प्रहरीद्वारा २४ घण्टामा २,२९९ सवारी चालक कारबाही, २१ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २ सय ९९ सवारी चालकलाई कारबाही गरिएको छ। यस कारबाहीबाट राज्यकोषमा करिब रु २१ लाख ८६ हजार ५०३ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९५ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने ९९ जनामाथि पनि कारबाही गरिएको छ।

ट्राफिक नियमअनुसार संकेत बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १४७ चालकलाई समेत कारबाही गरिएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

यसैगरी लेन अनुशासन पालना नगर्ने १०८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११५ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ८७ जना र एकतर्फी सडकमा गलत दिशामा सवारी चलाउने ९८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सबैभन्दा बढी १ हजार ४२१ चालकलाई समेत कानुनी दायरामा ल्याइएको प्रहरीले स्पष्ट पारेको छ।

Read More

नेपाल दलित संघको नेतृत्वमा विपेन्द्र रामुदामु नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गतेको निर्णयअनुसार सभापति गगनकुमार थापा ले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको संघको नेतृत्व रामुदामुलाई सुम्पिएका हुन्।

नवनियुक्त अध्यक्ष रामुदामुलाई नेपाल दलित संघको पुनर्गठन गर्दै निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको छ। उनलाई ११ बुँदे कार्यविवरणसहित संगठन सुदृढीकरण र निर्वाचन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी प्रदान गरिएको पार्टीले जनाएको छ।

यो निर्णयबारे जानकारी नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Read More

नेपाल–चीन उच्चस्तरीय वार्ता : सहकार्य विस्तारमा जोड

काठमाडौँ । चीनको औपचारिक चारदिने भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यी बीच सोमबार बेइजिङ मा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ।

द्विपक्षीय सम्बन्ध र सहकार्यका प्राथमिक क्षेत्र

वार्तामा नेपाल–चीन सम्बन्धलाई पारस्परिक सम्मान, संवेदनशीलता र प्राथमिकताप्रतिको प्रतिबद्धताका आधारमा थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार–लगानी, कृषि, सूचना तथा प्रविधि, डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्धजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति व्यक्त गरेका छन्।

राजनीतिक प्रतिबद्धता र आपसी समर्थन

नेपाल पक्षले ‘एक चीन नीति’प्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेको छ।

त्यसैगरी चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति समर्थन पुनः व्यक्त गर्दै सुशासन र आर्थिक विकाससम्बन्धी नेपाली प्राथमिकतामा निरन्तर सहयोग रहने आश्वासन दिएको छ।

कार्यान्वयन र बहुपक्षीय सहकार्यमा जोड

दुवै पक्षले यसअघि सहमति भएका कार्यक्रम तथा परियोजनाको छिटो कार्यान्वयनमा जोड दिएका छन्। साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा चासोका विषयमा सहकार्य विस्तार गर्ने सहमति पनि भएको नेपाल दूतावास, बेइजिङ ले जनाएको छ।

अन्य भेटघाट र कार्यक्रम

वार्तापछि मन्त्री खनाल विदेशमन्त्री वाङद्वारा आयोजित रात्रिभोजमा सहभागी भएका थिए। उनले सोही दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग पनि भेटवार्ता गरेका थिए।

त्यसैगरी मन्त्री खनालले चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्च को अवलोकन गरेका छन्। उनी भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

Read More

सांसद खुश्बु ओलीद्वारा साइबर ब्युरोमा उजुरी, सामाजिक सञ्जालमा धम्की र दुर्व्यवहारप्रति कानुनी कदम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त अभिव्यक्तिको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेकी छन्।

ओलीका अनुसार संसद्मा उठाइएका जनसरोकारका विषयपछि सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा आक्रमण भएको थियो। सोही घटनालाई आधार बनाउँदै उनले कानुनी उपचारका लागि उजुरी दिएको बताएकी हुन्। उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइसकेको पनि उनले जानकारी दिएकी छन्।

सांसद ओलीले सामाजिक सञ्जालमा फैलाइएका धम्की, हिंसात्मक अभिव्यक्ति र दुर्व्यवहारप्रति “शून्य सहनशीलता” अपनाउने स्पष्ट धारणा राखेकी छन्। उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार भए पनि त्यसको नाममा हुने घृणायुक्त टिप्पणी, चरित्रहत्या र धम्की स्वीकार्य नहुने बताएकी हुन्।

सामाजिक सञ्जालमार्फत जारी गरिएको आफ्नो विस्तृत भनाइमा उनले विगत केही सातादेखि टिकटक, फेसबुक, युट्युब र मेसेन्जरजस्ता माध्यममा संगठित रूपमा आक्रमण, गालीगलौज र हिंसात्मक धम्कीहरू बढेको उल्लेख गरेकी छन्। उनका अनुसार यस्ता अभिव्यक्तिहरू सयौं प्रयोगकर्ताबाट बढेर हजारौंसम्म पुगेका थिए।

ओलीले व्यक्तिगत रूपमा ज्यान मार्ने धम्की, बलात्कारसम्बन्धी चेतावनी तथा शारीरिक आक्रमणका संकेतसमेत प्राप्त भएको दाबी गर्दै त्यसका आधारमा केही दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गरिएको स्पष्ट पारेकी छन्।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आपत्तिजनक सामग्री हटाउन चेतावनीसमेत दिएकी छन् र अन्यथा कानुनी कारबाही भोग्न तयार रहन आग्रह गरेकी छन्। उनका अनुसार सामाजिक सञ्जालमा हुने घृणायुक्त व्यवहार रोक्न कडा कानुनी कार्यान्वयन आवश्यक छ।

सांसद ओलीले यस्ता घटनाले सामाजिक सञ्जालमा फैलिँदो अराजकता नियन्त्रण गर्न राज्य, नागरिक र सम्बन्धित निकाय सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएकी छन्। साथै, गृहमन्त्री र साइबर ब्युरोले घटनामा देखाएको सक्रियताप्रति उनले आभार पनि व्यक्त गरेकी छन्।

Read More

संविधान संशोधनबारे सांसद वर्षमान पुनको टिप्पणी: उपलब्ध अधिकारमा कटौती अस्वीकार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद वर्षमान पुनले संविधान संशोधनको नाममा नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन्।

मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधनका बहानामा नागरिकले पहिले नै उपभोग गरिसकेका अधिकारमा कटौती हुन सक्ने संकेतप्रति चिन्ता व्यक्त गरे। उनका अनुसार २०७२ सालमा संविधान जारी हुनुअघि उठेका र सम्बोधन हुन बाँकी रहेका मुद्दाहरूलाई समेटेर संविधानलाई परिष्कृत गर्न सकिए पनि प्राप्त अधिकार फिर्ता गर्ने प्रयास भने अस्वीकार्य हुने बताए।

पुनले संघीयता, समावेशी व्यवस्था तथा भाषा र संस्कृतिसम्बन्धी अधिकारबाट सरकार वा राजनीतिक दलहरू पछि हट्न सक्ने आशंका पनि व्यक्त गरे। उनले २०५२ सालबाट सुरु भएको सशस्त्र आन्दोलनले राज्यबाट उत्पीडनमा परेका समुदायलाई सशक्त बनाएको दाबी गर्दै ती उपलब्धिहरूको संरक्षण आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार हाल सरकारले ‘बहसपत्र’ तयार गर्न कार्यदल गठन गरेपछि संविधान संशोधनसम्बन्धी छलफल अघि बढेको छ। उनले संविधानले नपुगेका अधिकार थप्न सकिने तर प्राप्त अधिकार खोस्ने प्रयास भएमा जनस्तरबाट प्रतिवाद हुने चेतावनी दिए।

पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले चालू आर्थिक वर्षको बजेटमा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको बजेट कटौतीप्रति आपत्ति जनाए। साथै, भाषा आयोगले लुम्बिनी प्रदेशमा बहुसंख्यक मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस नगरेको विषयमा पनि उनले असन्तुष्टि जनाए।

उनले संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रूपमा स्वीकार गरेको उल्लेख गर्दै प्रदेश तथा स्थानीय तहमा मातृभाषाको प्रयोगलाई व्यवहारिक रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, आदिवासी समुदायका भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै उनीहरूको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता र परम्परागत उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताए।

Read More

स्वास्थ्य बीमा दाबी भुक्तानीका लागि ९१ करोड रुपैयाँ निकासा प्रक्रिया अघि बढाइयो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दाबी भुक्तानी अन्तर्गत विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसअघि गत जेठ १३ गते स्वास्थ्य बीमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकका लागि औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

सरकारले विगत आर्थिक वर्षदेखि संचित रहेका स्वास्थ्य बीमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी बक्यौता भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन तथा भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थाहरूको बक्यौता नियमित रूपमा फर्छ्यौट गर्दै स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको विश्वास सुदृढ गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

Read More

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् तथा प्रमुख स्वास्थ्य निकायका रिक्त पदमा आवेदन आह्वान

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्यसम्बन्धी परिषद् तथा महत्वपूर्ण राष्ट्रिय स्वास्थ्य निकायहरूमा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न परिषद् तथा स्वास्थ्य संस्थाहरूमा नेतृत्व तहका रिक्त पदमा योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

मन्त्रालयका अनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य तथा सदस्य–सचिव, र नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रार पदका लागि आवेदन खुलाइएको छ।

त्यसैगरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा पनि अध्यक्ष तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रका दुई प्रमुख संस्थाहरू शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि पनि मन्त्रालयले इच्छुक तथा योग्य उम्मेदवारहरूलाई दरखास्त पेस गर्न आग्रह गरेको छ।

Read More