२०८३ असार ३

खुकुरी देखाई कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागूऔषधसहित पक्राउ, थप एक जना नियन्त्रणमा

काठमाडौं । सामाजिक सञ्जालमा खुकुरी देखाई एक युवतीलाई कुटपिट गरेको भिडियो पोस्ट गरेको आरोपमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् भने घटनासँग सम्बन्धित थप एक जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डरधम्की दिई कुटपिट गरेको आरोप लागेको छ। सोही घटनाको भिडियो उनले मंगलबार साँझ आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेको प्रहरीले जनाएको छ।

भिडियो सार्वजनिक भएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति करिब २२:४० बजे उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियन्त्रणका क्रममा उनको साथबाट विभिन्न प्रकारका लागूऔषधजन्य ट्याब्लेटहरू बरामद गरिएको छ।

घटनासम्बन्धी अनुसन्धानका क्रममा तुलसीपुर–२ बालापुरका २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

Read More

वर्षाको भेलले बगाउँदा बेपत्ता भएका दुई दाजुभाइको शव फेला, गाउँ शोकमा

काठमाडौं । मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बर्खे भेलले बगाएर बेपत्ता भएका दुई स्कुले दाजुभाइको शव फेला परेको छ। प्युठानको नौबहिनी गाउँपालिका–५ का मिलन खत्री र विमल खत्रीको शव भेटिएको हो।

काँटेस्थित जनता प्राथमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै फेला परेको स्थानीयले बताएका छन्। त्यस्तै, उनका दाजु तथा कक्षा ३ का विद्यार्थी मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल भेटिएको हो।

वर्षाका कारण एक्कासि आएको भेलले उनीहरूलाई बगाएको जानकारी पाएपछि स्थानीयवासी र प्रहरीले तत्काल खोजी तथा उद्धार कार्य सुरु गरेका थिए।

एकै परिवारका दुई बालकको निधनपछि स्थानीय गाउँ शोकमग्न बनेको छ।

Read More

नागढुङ्गा–नौबिसे सुरुङमार्ग सञ्चालनको तयारी तीव्र, साउनदेखि सेवा सुरु गर्ने लक्ष्य

काठमाडौं । बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सवारी सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी तीव्र पारिएको छ। सञ्चालनमा आएपछि नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने यातायात आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश निर्माण तथा प्राविधिक काम सम्पन्न भइसकेका छन् भने हाल आपतकालीन उद्धार, सुरक्षा परीक्षण तथा सवारी व्यवस्थापनसम्बन्धी अभ्यासहरू सञ्चालन भइरहेका छन्। सुरुङमार्ग बाहिर पहिरो नियन्त्रणको काम भने अझै बाँकी रहेको जनाइएको छ।

आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ। उनका अनुसार टोल सङ्कलन प्रणालीका लागि बैंक छनोट, कार्ड छपाइ तथा डिजिटल भुक्तानी प्रणालीको प्रक्रिया समेत अघि बढाइएको छ।

सुरुङमार्गमा शुल्क सङ्कलनका लागि नगद, क्यूआर कोड तथा सवारीसाधनमा जडान गरिने स्टिकरमार्फत स्वचालित पहिचान प्रणाली प्रयोग गरिनेछ। व्यवस्थापन तथा सञ्चालनको जिम्मा युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि पाएको छ।

आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा करिब १५० जना जनशक्ति परिचालन गरिनेछ भने अत्यधिक चाप हुने समयमा ठूलो संख्यामा कर्मचारी खटाइनेछ। सुरुङमार्ग चौबीसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

निर्देशक नेपालका अनुसार हाल औसत दैनिक करिब आठ हजारभन्दा बढी सवारीसाधन नागढुङ्गा–नौबिसे सडक प्रयोग गर्छन्, जसको करिब ६० प्रतिशत सवारी सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। तर, दुई पाङ्ग्रे सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

सरकारले राजपत्रमार्फत जारी गरेको सूचनाअनुसार सवारी वर्गअनुसार सुरुङमार्ग प्रयोग शुल्क पनि निर्धारण गरिएको छ, जसअनुसार हलुका सवारीदेखि भारी सवारीसम्मका लागि प्रवेश र निकासमा फरक–फरक दर लागू हुनेछन्।

Read More

५० प्रतिशत अनुदानमा अलैँचीका बिरुवा र कृषि सामग्री वितरण

काठमाडौं ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई लक्षित गर्दै अलैँचीका बिरुवा तथा सिँचाइ र स्प्रेयर लगायतका कृषि सामग्री वितरण गरेको छ।

गाउँपालिकाको वडा नं २ फूलबारीका करिब ५० परिवारलाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको हो। पालिकाको कृषि विकास शाखा प्रमुख सञ्जु दाहाल पौडेलका अनुसार अलैँचीका बिरुवा, सिँचाइ सामग्री तथा स्प्रेयर किसानलाई उपलब्ध गराइएको हो।

उनका अनुसार कार्यक्रमका लागि गाउँपालिकाको १७ लाख रुपैयाँ र किसानको साझेदारी १७ लाख रुपैयाँ गरी कुल ३४ लाख रुपैयाँको लगानी गरिएको हो। रामसाई र भार्लाङ्गे प्रजातिका अलैँचीका बिरुवा इलामबाट फूलबारी बहुउद्देश्यीय सहकारी संस्था मार्फत खरिद गरी वितरण गरिएको जनाइएको छ।

कार्यक्रमको अनुगमन उपाध्यक्ष शान्ताकुमारी आङवुहाङ नेतृत्वको अनुगमन समितिले गरेको थियो। अनुगमनपछि गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू, प्रमुख प्रशासकीय अधिकृत अजय राजवंशी, वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ, कार्यपालिका सदस्य शारदाकुमारी बिमली लगायतको उपस्थितिमा किसानलाई सामग्री वितरण गरिएको फूलबारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गुलसन प्रधानले जानकारी दिए।

वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोमूले प्राप्त अनुदानको उचित सदुपयोग गर्दै किसानहरू आर्थिक उपार्जनतर्फ केन्द्रित हुने विश्वास व्यक्त गरे।

Read More

२४ घण्टामा २,५३५ चालक कारबाहीमा, राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५३५ जना चालकलाई कारबाही गरिएको छ। सो कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न किसिमका ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई कारबाही गरिएको हो।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०१ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने १३८ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ८१ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४१ जना, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ११३ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ६०९ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

Read More

नेपाल–भारत सीमा निगरानी सुदृढ गर्न जीपीएस प्रविधि जडानमा सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र, दशगजा र सीमास्तम्भहरूको संयुक्त स्थलगत अध्ययन सम्पन्न भएपछि सीमाक्षेत्रको निगरानीलाई आधुनिक प्रविधिमार्फत सुदृढ गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। संयुक्त फिल्ड सर्भे टिम (एफएसटी)का अधिकारीहरूले सीमा स्तम्भहरूमा जीपीएस (सेटलाइट) आधारित निगरानी प्रणाली जडान गर्ने प्रारम्भिक सहमति गरेका हुन्।

बाँके, बर्दिया, दाङ र कपिलवस्तु जोडिएका सीमावर्ती क्षेत्रमा गरिएको अध्ययनपछि नेपालगन्जमा सम्पन्न बैठकले सीमास्तम्भहरूको अवस्था र गतिविधि अनुगमन गर्न डिजिटल प्रणाली आवश्यक रहेको निष्कर्ष निकालेको हो।

नापी विभागका प्रमुख नापी अधिकृत खिमबहादुर रानाका अनुसार जीपीएस प्रणाली लागू भएपछि सीमा निगरानी विश्वव्यापी सर्भे नेटवर्कसँग जोडिनेछ, जसले निरन्तर अनुगमनलाई थप प्रभावकारी बनाउनेछ।

यसअघि टोलीले नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न स्थानमा रहेका प्राइमरी स्टेशनहरूबाट तथ्यांक संकलन गरेको थियो। ती स्टेशनहरूलाई भविष्यमा जीपीएस प्रणालीसँग एकीकृत गर्ने तयारी गरिएको छ।

देशभर परिचालित चार वटा फिल्ड सर्भे टिमले पूर्वदेखि पश्चिमसम्मका सीमा क्षेत्रमा अध्ययन सम्पन्न गरी सम्बन्धित प्रतिवेदन नापी विभागमा बुझाइसकेको जनाइएको छ।

नयाँ प्रणाली लागू भएपछि सीमास्तम्भमा हुने क्षति, स्थान परिवर्तन वा अन्य गतिविधि २४ सै घण्टा निगरानी गर्न सकिने र आपतकालीन अवस्थामा तुरुन्त सूचना नियन्त्रण कक्षमा पुग्ने बताइएको छ। यसले सीमा अतिक्रमण तथा अनधिकृत गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तर, प्रणाली कहिले कार्यान्वयनमा आउने भन्ने विषयमा नेपाल–भारतको उच्चस्तरीय प्राविधिक संयन्त्रले अन्तिम निर्णय गर्नेछ।

यसैबीच, सीमा कार्य समूहको निर्देशनअनुसार देशभर प्राविधिक टोली परिचालन भए पनि कालापानी, लिम्पियाधुरा र सुस्ता जस्ता संवेदनशील क्षेत्रमा भने विस्तृत काम अघि बढ्न सकेको छैन। ती क्षेत्रमा प्राविधिक कार्य राजनीतिक तहबाट समाधान भएपछि मात्र अघि बढाइने जनाइएको छ।

नेपाल र भारतबीच करिब १ हजार ८ सय ८० किलोमिटर लामो खुला सीमा रहेको छ, जसको दीर्घकालीन व्यवस्थापन तथा प्राविधिक समाधानबारे विगतका बैठकहरूमा विभिन्न सहमति भए पनि कार्यान्वयन ढिलाइ हुँदै आएको छ।

Read More

चार दशकको तनावपछि नयाँ अध्याय, अमेरिका–इरान सम्झौताले खोल्यो ३०० अर्ब डलर लगानीको ढोका

काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित ऐतिहासिक समझदारी भएको छ। प्रारम्भिक सहमतिअनुसार इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि करिब ३०० अर्ब अमेरिकी डलर बराबरको निजी लगानी कोष स्थापना गरिने भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार दुवै देशले आगामी शुक्रबार उक्त सम्झौतामा औपचारिक हस्ताक्षर गर्ने तयारी गरेका छन्। सम्झौता सार्वजनिक हुनुअघि नै विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट १५० अर्ब डलरभन्दा बढीको प्रारम्भिक प्रतिबद्धता प्राप्त भइसकेको बताइएको छ।

गत फेब्रुअरी २८ मा भएको सैन्य तनावपछि सुरु भएको द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको यस सहमतिले इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने र महत्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।

प्रस्तावित कोष पूर्ण रूपमा निजी क्षेत्रको लगानीमा आधारित रहनेछ। अमेरिका, खाडी मुलुक, एसिया, दक्षिण अमेरिका र अफ्रिकाका निजी कम्पनीहरूले ऊर्जा, पूर्वाधार, उद्योग र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना रहेको छ।

ह्वाइट हाउसका अनुसार कोषमा पहुँचका लागि इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा निष्क्रिय पार्नुपर्ने, संवर्धित सामग्री नष्ट गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय निरीक्षण स्वीकार गर्नुपर्ने सर्त राखिएको छ।


लगानी कोषको क्षेत्रगत कार्यान्वयन खाका:

क्षेत्रप्रमुख कार्यक्रमहरू
ऊर्जा क्षेत्रतेल तथा ग्यास पूर्वाधार आधुनिकीकरण, सौर्य र पवन ऊर्जा विस्तार, विद्युत् प्रसारण तथा वितरण सुधार
पूर्वाधार तथा यातायातराजमार्ग तथा एक्सप्रेसवे निर्माण, रेलमार्ग विस्तार, विमानस्थल र बन्दरगाह स्तरोन्नति, शहरी यातायात प्रणाली विकास
औद्योगिक विकासऔद्योगिक करिडोर स्थापना, उत्पादनमूलक उद्योगमा विदेशी लगानी, निर्यातमुखी उद्योग प्रवर्द्धन, साना तथा मझौला उद्योग सुदृढीकरण
प्रविधि तथा डिजिटल अर्थतन्त्रडिजिटल पूर्वाधार विस्तार, आईटी पार्क स्थापना, दूरसञ्चार आधुनिकीकरण, स्टार्टअप तथा नवप्रवर्तन समर्थन
कृषि तथा खाद्य सुरक्षाआधुनिक कृषि प्रविधि विस्तार, सिँचाइ तथा भण्डारण पूर्वाधार विकास, खाद्य प्रशोधन उद्योग विस्तार, कृषि निर्यात प्रवर्द्धन
स्वास्थ्य तथा शिक्षाअस्पताल तथा स्वास्थ्य सेवा सुधार, मेडिकल उपकरणमा लगानी, प्राविधिक शिक्षा विस्तार, अनुसन्धान तथा उच्च शिक्षा विकास
आवास तथा शहरी विकासकिफायती आवास परियोजना, स्मार्ट सिटी विकास, खानेपानी तथा सरसफाइ सुधार, वातावरणमैत्री शहरी योजना
रोजगार तथा सीप विकासयुवा रोजगार कार्यक्रम, सीपमूलक तालिम, महिला तथा युवा उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रसँग साझेदारीमा रोजगारी सिर्जना

Read More

मेस्सीको ऐतिहासिक ह्याट्रिकसँगै अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । कप्तान लियोनल मेस्सीको शानदार प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अभियानको सुरुवात प्रभावशाली जितसहित गरेको छ। अमेरिकाको कान्सास सिटीमा बुधबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को सहज जित दर्ता गरेको हो।

जितसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ। टोलीको जितमा मेस्सी एक्लैले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे।

खेलको १७औं मिनेटमा पहिलो गोल गरेका मेस्सी भावुक देखिएका थिए। गोलपछि उनको अनुहारमा भावनात्मक क्षण झल्किएको थियो। त्यसपछि उनले ६०औं र ७६औं मिनेटमा थप दुई गोल गर्दै विश्वकप करिअरको पहिलो ह्याट्रिक पूरा गरे।

यो उपलब्धिसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा नयाँ कीर्तिमान बराबरी गरेका छन्। विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याउँदै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेका हुन्।

अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै मेस्सीले विश्वकपमा छैटौं संस्करण खेल्ने पहिलो फुटबलर बन्ने गौरवसमेत हासिल गरे। सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका उनले सन् २०१० बाहेकका पाँच फरक संस्करणमा गोल गर्न सफल भएका छन्।

चार वर्षअघि कतारमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले २०२६ संस्करणको सुरुवात पनि सम्झनलायक प्रदर्शनमार्फत गरेका छन्। उनकाे उत्कृष्ट खेलसँगै अर्जेन्टिना उपाधि रक्षा अभियानमा बलियो दाबेदारका रूपमा देखिएको छ।

Read More

मेलम्चीको पानी वितरण विस्तार गर्न सुन्दरीजलमा ठूला पाइप बिछ्याउने काम सुरु

काठमाडौं मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्ने उद्देश्यले सुन्दरीजल क्षेत्रमा १८ सय मिलिमिटर व्यासका पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार खानेपानी वितरणका लागि प्रयोग गरिने यो हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप हो।

निर्देशनालयका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारको प्रक्रिया अघि बढाइएको छ। पाँच क्षेत्रका लागि बोलपत्र आह्वान भइसकेको र अन्य प्रक्रिया पनि चाँडै सुरु हुने उनले बताए।

मेलम्चीको पानी उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन दिन तथा रात दुवै सिफ्टमा काम भइरहेको निर्देशनालयले जनाएको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेका छन्।

पाइपलाइन परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई हस्तान्तरण गरिनेछ। प्रणाली हस्तान्तरणपछि उपत्यकावासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण हुने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठले बताए।

Read More

फ्रान्सको प्रभावशाली जित, एम्बाप्पेको दुई गोल

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चार गोल भएका थिए।

फ्रान्सका लागि खेलको ६६औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले सान्त्वना गोल गर्दै अन्तर घटाए पनि त्यसको लगत्तै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

Read More