२०८३ असार ३

मुद्रास्फीति नियन्त्रणका लागि बैंक अफ जापानको कडाइ, ब्याजदर ३१ वर्षयताकै उच्च

काठमाडौं  । जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ (बीओजे) ले मौद्रिक नीतिमा कडाइ गर्दै नीतिगत ब्याजदरलाई ३१ वर्षयताकै उच्च स्तरमा पुर्‍याएको छ। मंगलबार सम्पन्न दुई दिने मौद्रिक नीति बैठकले अल्पकालीन ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १.० प्रतिशत कायम गर्ने निर्णय गरेको हो।

यो दर सन् १९९५ यताकै उच्च भएको बताइएको छ। बैंकले बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने र कमजोर बन्दै गएको जापानी येनलाई समर्थन दिने उद्देश्यले यस्तो कदम चालिएको स्पष्ट पारेको छ।

गभर्नर काजुओ उएडा स्वास्थ्य कारणले बैठकमा अनुपस्थित रहे पनि बोर्ड सदस्यहरूले सर्वसम्मत रूपमा ब्याजदर बढाउने निर्णय गरेका हुन्। सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति अन्त्य गरेयता यो पाँचौँ पटकको दर वृद्धि हो।

यसअघि सन् २०२५ डिसेम्बरमा अन्तिम पटक ब्याजदर समायोजन गरिएको थियो। बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा कच्चा तेलको मूल्य वृद्धिले उत्पादन लागत बढाउँदै उपभोक्ता मूल्यमा थप दबाब सिर्जना गर्ने जोखिम देखिएको उल्लेख गरिएको छ।

बीओजेका अनुसार आधारभूत मुद्रास्फीति बैंकको २ प्रतिशत लक्ष्यभन्दा माथि रहने सम्भावना बढेपछि नीतिगत कडाइ आवश्यक भएको हो। आगामी दिनमा आर्थिक अवस्था, मूल्यवृद्धि र वित्तीय बजारको विकासअनुसार थप ब्याजदर वृद्धि गर्न सकिने संकेत पनि बैंकले दिएको छ।

यसैबीच, बैंकले सरकारी ऋणपत्र खरिदमा क्रमिक कटौती गर्ने नीति निरन्तर राख्ने निर्णय गरेको छ। दीर्घकालीन ब्याजदरमा देखिएको उतारचढावलाई ध्यानमा राख्दै सन् २०२७ मार्चसम्म हालको गति कायम राखिने र त्यसपछि मात्र कटौतीको दर घटाइने बताइएको छ।

बीओजेले सन् २०२४ अगस्टदेखि नै मासिक ऋणपत्र खरिदमा कटौती सुरु गरिसकेको छ, जसलाई मौद्रिक नीतिको सामान्यीकरणतर्फको चरणका रूपमा लिइएको छ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपगभर्नर सिनिची उचिडाले अन्तर्राष्ट्रिय स्तरमा देखिएका भूराजनीतिक र आपूर्ति शृंखला सम्बन्धी अनिश्चितता कायमै रहेको बताएका छन्। उनले कच्चा तेलको मूल्य वृद्धिले विभिन्न क्षेत्रमा लागत बढाएर महँगी थप चर्किन सक्ने जोखिम रहेको उल्लेख गर्दै २ प्रतिशत मुद्रास्फीति लक्ष्य हासिल गर्न कडाइयुक्त मौद्रिक नीति आवश्यक रहने बताएका छन्।

Read More

कालीमाटी–बल्खु क्षेत्रमा यात्रु दुर्व्यवहारविरुद्ध प्रहरीको विशेष अभियान, ३५ जना पक्राउ

काठमाडौं । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती सवारीमा चढाउने, तानातान गर्ने तथा भाडादरमा मोलमोलाइ गर्दै बढी रकम असुल्ने गतिविधिमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहान सञ्चालन गरेको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। काउन्टर तथा आसपास क्षेत्रमा यात्रुहरूलाई अनावश्यक दबाब दिने, सवारी साधनमा जबर्जस्ती चढाउने र तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रयास गर्ने गतिविधि बढेपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार यात्रुहरूलाई लक्षित गरी हुने यस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न विशेष कारबाही गरिएको हो। उनका अनुसार पक्राउ परेकाहरूमाथि सार्वजनिक हितविरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।

प्रहरीले उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरेको छ।

Read More

बजारमा सुन–चाँदीको मूल्य घट्यो, तोलामा उल्लेख्य गिरावट

काठमाडौं नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १,२०० रुपैयाँले घटेको हो।

नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यो गिरावटले बजारमा हल्का उतारचढाव देखिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९८० रुपैयाँमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन र आन्तरिक माग–आपूर्तिको अवस्थाले दैनिक दरमा प्रभाव पारिरहेको जनाएको छ।

Read More

मध्यपूर्व तनावबीच इरान, इजरायल र अमेरिका कूटनीतिक मतभेद गहिरिँदै

काठमाडौं । मध्यपूर्वमा लेबनन केन्द्रित सैन्य तनाव र इरानको आणविक कार्यक्रमबारे भइरहेका कूटनीतिक प्रयासहरूबीच प्रमुख शक्ति राष्ट्रहरूबीच मतभेद थप स्पष्ट बनेका छन्। इरान, इजरायल, संयुक्त राज्य अमेरिका तथा युरोपेली देशहरूले एकअर्कासँग फरक–फरक अडान सार्वजनिक गरेका छन्, जसले सम्भावित शान्ति प्रयासलाई जटिल बनाएको देखिन्छ।

इरानले लेबननमा जारी द्वन्द्व र अमेरिका–इरान सम्भावित शान्ति सम्झौताको सफलताका लागि इजरायलले सैन्य कारबाहीका क्रममा कब्जा गरेका क्षेत्रबाट सेना फिर्ता लिनुपर्ने शर्त अघि सारेको छ। विदेशमन्त्री अब्बास अराघचीले ती भूभागबाट इजरायली सेना नहटेसम्म युद्ध समाप्त भएको मान्न नसकिने बताएका छन्। हेजबोल्लाहसँग सम्बद्ध एक अधिकारीका अनुसार आगामी अमेरिका–इरान वार्तामा लेबननबाट इजरायली फौज फिर्ता गराउने विषय पनि उठाइनेछ।

इजरायलले भने लेबननमा आफ्नो सैन्य गतिविधिलाई सुरक्षा आवश्यकतासँग जोड्दै निरन्तरता दिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार हालै भएको ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ। रिपोर्टहरूअनुसार पहिलो आक्रमणपछि घटनास्थलमा भेला भएका मानिसहरूलाई लक्षित गर्दै दोस्रो आक्रमण गरिएको थियो, जसले नागरिक क्षतिबारे थप चिन्ता उत्पन्न गरेको छ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले इजरायलको लेबननमा भइरहेको सैन्य कारबाहीप्रति मिश्रित प्रतिक्रिया दिएको छ। जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थप जिम्मेवार बन्न आग्रह गर्दै केही आक्रमणलाई “कठोर” भनेका छन्। उनले आवासीय क्षेत्रमा गरिएको अत्यधिक बल प्रयोगप्रति असन्तुष्टि व्यक्त गर्दै सबै प्रभावित व्यक्तिहरू हेजबोल्लाहसँग सम्बन्धित नहुन सक्ने बताएका छन्।

ट्रम्पले अमेरिका–इरानबीच प्रस्तावित ६० दिने युद्धविराम प्रयास इजरायलको गतिविधिका कारण जोखिममा पर्न सक्ने चेतावनी पनि दिएका छन्। यद्यपि, उनले नेतन्याहूसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको स्पष्ट पारेका छन्।

युरोपेली नेताहरूले प्रस्तावित शान्ति ढाँचाको दीर्घकालीन प्रभावकारिता र कार्यान्वयनबारे प्रश्न उठाएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि थप कडा नियन्त्रण आवश्यक रहेको बताएका छन्, जसले पश्चिमी देशहरूको चासोलाई झल्काउँछ।

त्यसैगरी, केही अरब मुलुकहरूले इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता पूरा गरेमा करिब ३०० अर्ब अमेरिकी डलर बराबरको लगानी प्रस्तावबारे छलफल गरिरहेको बताइएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सका अनुसार यस्तो लगानी इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त गरी अन्तर्राष्ट्रिय निरीक्षणका लागि खुला भएमा मात्र कार्यान्वयन हुनेछ।

Read More

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ आजदेखि निष्काशन

काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ। कम्पनीले कुल १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर निष्काशन गरेको हो, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ। आईपीओ छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म खुला रहनेछ, मागअनुसार छिटो बन्द हुन सक्ने कम्पनीले जनाएको छ।

ऊर्जा क्षेत्रमा क्रियाशील कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख २० हजार ४२ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख ४३ हजार रुपैयाँ रहेको उल्लेख छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २८ वर्ष ९ महिना बाँकी छ। आर्थिक प्रतिवेदनअनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.४० वर्ष र डिस्काउण्टेड क्यास फ्लो आधारमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Read More

रास्वपाको महाधिवेशनअघि सभापति लामिछानेद्वारा मधेस प्रदेश सांसदसँग छलफल

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न प्रथम राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राख्दै पार्टी सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार बिहान सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा भएको छलफलमा महाधिवेशनको तयारी, संसदीय गतिविधि, तथा समसामयिक राजनीतिक अवस्थालगायत विषयमा विस्तृत विचार–विमर्श भएको पार्टी स्रोतले जनाएको छ।

छलफलका क्रममा मधेस प्रदेशसभाका सांसदहरूले प्रदेश सभाको कार्यसम्पादनलाई अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

सभापति लामिछानेले संसद र प्रदेश सभालाई जनउत्तरदायी र प्रभावकारी बनाउन पार्टीभित्र आन्तरिक समन्वय र संघीय संरचनाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। उनले महाधिवेशनलाई संगठन सुदृढीकरण र नीतिगत दिशानिर्देशनका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। पार्टीले यसलाई आफ्नो संगठनात्मक संरचना विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ।

Read More

झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गएराति गौरादह नगरपालिका–१ स्थित पाडाजुंगी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि दुर्घटना भएको हो।

डिपु चोकबाट पेट्रोलपम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईंलाई उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न टिपर चालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।

Read More

अध्ययन बिदापछि सेवामा नफर्किएका प्राध्यापक–कर्मचारीलाई त्रिविको १५ दिनको अल्टिमेटम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि सेवामा पुनः उपस्थित नभएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि तोकिएको नियमानुसार सेवामा नफर्किएका वा सेवा अवधि पूरा नगरी बाहिरिएका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो।

सूचनामा निर्धारित समयसीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।

विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएका ५० जना प्राध्यापकबाट हालसम्म करिब ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वय र त्रिविको सक्रियतामा यो प्रक्रिया अघि बढाइएको जनाइएको छ।

त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति विकासका लागि प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ। तर केही प्राध्यापकहरूले अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको विश्वविद्यालयको भनाइ छ।

त्रिविले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।

Read More

प्रतिनिधि सभाको २५औँ बैठक आज, विभिन्न मन्त्रालयका प्रश्नमा मन्त्रीहरूको जवाफ प्रस्तुत हुने

काठमाडौं ।  संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २५ औँ बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा मन्त्रीहरूको जवाफ केन्द्रित रहनेछ।

विनियोजन विधेयकसँग सम्बन्धित विभिन्न मन्त्रालयका शीर्षकमाथिको छलफल यसअघि सम्पन्न भइसकेको थियो, र आजको बैठकमा सोही छलफलका निष्कर्ष तथा जिज्ञासाहरूको सम्बोधन गरिनेछ।

Read More

पाँच सय रुपैयाँका नयाँ नोट आजदेखि प्रचलनमा, सुरक्षा विशेषता थप बलियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका नयाँ नोट आजदेखि औपचारिक रूपमा बजारमा प्रचलनमा ल्याएको छ। नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत समावेश गरिएको छ भने आकार, रंग र डिजाइन पुरानै संस्करणसँग मिल्दोजुल्दो राखिएको छ।

राष्ट्र बैंकका अनुसार झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका संकेत नम्बर भएका नोटहरू क्रमशः बजारमा पठाइएका हुन्। नेपाली नोट छपाइ प्रणालीअनुसार प्रत्येक संकेत अक्षरअन्तर्गत करिब १० लाख थान नोट उत्पादन हुने भएकाले यसपटक करिब ३० लाख थान नयाँ पाँच सय रुपैयाँका नोट चलनचल्तीमा आउने अनुमान गरिएको छ।

यसअघि २०७८ पुस ९ गते २०२० सिरिजअन्तर्गत २ लाख ४८ हजार थान पाँच सय रुपैयाँका नोट जारी गरिएको थियो। हाल जारी गरिएको नयाँ श्रृंखला भने तुलनात्मक रूपमा ठूलो परिमाणमा बजार प्रवेश गरेको हो।

नयाँ नोटमा सगरमाथा र लालीगुराँसको चित्र समावेश गरिएको छ। अगाडिको भागमा बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा र दायाँतर्फ राष्ट्रिय फूल लालीगुराँसको पानी छाप राखिएको छ भने तल ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ।

नोटलाई दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिले सजिलै पहिचान गर्न सकून् भन्ने उद्देश्यले पानी छापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ।

सुरक्षा पक्षलाई थप मजबुत बनाउन सगरमाथाको दायाँतर्फ अण्डाकार भित्र कुबेरको चित्र समावेश गरिएको छ, जसले प्रकाशअनुसार रंग परिवर्तन गर्ने विशेषता राख्छ। साथै, ३.५ मिलिमिटर चौडा सुरक्षण धागो प्रयोग गरिएको छ, जसले कोणअनुसार रातो र हरियो रङ देखाउँछ।

पछाडिको भागमा नेपालको राष्ट्रिय वन्यजन्तु पाटेबाघको चित्र राखिएको छ। त्यस भागमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ भने ‘रुपैयाँ पाँच सय’ र ‘२०२५ एडी’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोट प्रयोग गर्दा सुरक्षा चिन्हहरूको जानकारी लिएर मात्र कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Read More