२०८३ श्रावण १०

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न शपथ कार्यक्रम आयोजना गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुने कार्यक्रममा ९९ जना केन्द्रीय सदस्यले सभापति रवि लामिछानेबाट पद तथा गोपनीयताको शपथ लिनेछन्। यसअघि उपसभापति सोविता गौतम, महामन्त्री विपीन आचार्य, सहमहामन्त्री हरि ढकाल, असिम शाह र निशा डाँगीलगायत पदाधिकारीहरूले शपथ लिइसकेका छन्।

शपथपछि नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्नेछ। उक्त बैठकमा सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अघि बढाउन सक्ने व्यवस्था पार्टी विधानमा रहेको छ।

विधानअनुसार मनोनीत प्रक्रिया पूरा भएपछि उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता तथा सहप्रवक्तालगायत पदाधिकारीहरू थप औपचारिक रूपमा मनोनीत हुने व्यवस्था रहेको छ।

Read More

बागलुङमा ‘कुकुर होस्टेल’ सञ्चालन, सामुदायिक कुकुरको व्यवस्थित व्यवस्थापन सुरु

काठमाडौं । बागलुङ नगरपालिकाले सामुदायिक तथा छाडा कुकुरको व्यवस्थापनका लागि आवासीय सुविधा सहितको ‘कुकुर होस्टेल’ सञ्चालनमा ल्याएको छ। बजार क्षेत्रमा बढ्दो समस्या समाधान गर्न उद्धार तथा व्यवस्थापन कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिका–३ सिम्लेमा पाँच रोपनी सार्वजनिक जग्गामा करिब एक करोड रुपैयाँ लागतमा तारबारसहित आवास र खुला खेलमैदानसहितको संरचना निर्माण गरिएको हो। प्रारम्भिक चरणमा ५० वटा कुकुर राख्न सकिने सुविधायुक्त उक्त होस्टेलमा अहिले २० वटा बेवारिसे, बिरामी र अशक्त कुकुर राखिएको छ।

नगरपालिकाका अनुसार बागलुङबाट ३५ लाख र मुख्यमन्त्री कार्यालयबाट ६५ लाख रुपैयाँ लागत साझेदारीमा संरचना तयार गरिएको हो। कुकुरको हेरचाहका लागि कर्मचारी, खानपान तथा आवश्यक स्वास्थ्य सेवा समेत व्यवस्था गरिएको छ।

नगर प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार छाडा कुकुर नियन्त्रणसँगै बन्ध्याकरण, उपचार र दीर्घकालीन व्यवस्थापन कार्यक्रम पनि अघि बढाइएको छ। घरपालुवा कुकुर बिरामी भएपछि सडकमा छोड्ने प्रवृत्तिले दुर्घटना र जनस्वास्थ्यमा समस्या देखिएपछि यस्तो संरचना निर्माण गरिएको उनले बताए।

नगरपालिकाले घरपालुवा कुकुरको दर्ता अनिवार्य गरेको छ, जसअनुसार प्रत्येक दर्ताका लागि २०० रुपैयाँ शुल्क तोकिएको छ। दर्ता प्रणालीमार्फत कुकुरको पहिचान, खोप र औषधि व्यवस्थापन पनि व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ।

Read More

वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द

काठमाडौं । वर्षायाम सुरु भएसँगै आजदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा बन्द गरिएको छ। वर्षाका कारण भलबाढी आउने, रुख ढलेर वनमार्ग अवरुद्ध हुने तथा पर्यटकको सुरक्षामा जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्म सफारी सेवा स्थगित गरिएको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि उपयुक्त समय भएकाले पनि सफारी बन्द गर्ने निर्णय गरिएको हो। साथै, निकुञ्जभित्रका कच्ची वनमार्ग बिग्रिने, स–साना खोलाखोल्सीमा बाढी आउने र रुख ढलेर आवतजावत अवरुद्ध हुने अवस्था रहने भएकाले यो निर्णय गरिएको उनले बताए।

चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष वर्षायाममा जङ्गल सफारी बन्द गर्दै आएको छ। मौसममा सुधार आएपछि प्रायः दसैँ आसपासबाट सफारी सेवा पुनः सञ्चालन गर्ने परम्परा रहेको छ।

यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने नियमित रूपमा जारी रहने निकुञ्जले जनाएको छ। सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न क्षेत्रबाट पर्यटक बोकेका जीपहरू सामुदायिक वन क्षेत्रमा सफारी गराउँदै आएका छन्।

Read More

स्विडेनलाई ३–० ले हराउँदै फ्रान्स विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ४५औँ र ७४औँ मिनेटमा दुई गोल गरे। यस्तै, खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले अर्को गोल थप्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

यससँगै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब फ्रान्सले प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि अन्तिम–३२ अन्तर्गत भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। यस्तै, आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच प्रतिस्पर्धा हुनेछ।

Read More

आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

अमेरिकाको डलास रङ्गशालामा भएको प्रतिस्पर्धामा नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले पहिलो गोल गरे। खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका अमाद डियाल्लोले बराबरी गोल फर्काउँदै खेल १–१ को अवस्थामा पुर्‍याए।

तर खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नर्वे अन्तिम १६ मा पुग्न सफल भयो।

अब अन्तिम १६ मा नर्वेले ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै, अन्तिम–३२ अन्तर्गत आज राति २ः४५ बजे फ्रान्स र स्विडेन तथा बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुनेछ।

Read More

इन्धनको मूल्यमा भारी कटौती, पेट्रोल २० र डिजेल ३० रुपैयाँ सस्तो

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर एलपी ग्यास २,०६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको नेपाल आयल निगमले जनाएको छ।

Read More

मौसम पूर्वानुमान: देशभर मनसुन सक्रिय, अधिकांश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण क्षेत्रमा मनसुन फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पूर्णतया बदली रहनेछ र अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश

हाल सामान्यदेखि आंशिक बदली रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रमा मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि पहाडी भूभागका केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ।

मधेस प्रदेश

प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि केही स्थानमा वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बागमती प्रदेश

प्रदेशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। केही स्थानमा अहिले नै वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि पहाडी क्षेत्रमा वर्षा जारी रहने अनुमान छ।

गण्डकी प्रदेश

प्रदेशभर मनसुन सक्रिय रहेकाले पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

लुम्बिनी प्रदेश

अधिकांश क्षेत्रमा पूर्ण बदली रहेको छ र केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ भने तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ। राति पहाडी क्षेत्रमा पुनः भारी वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश

प्रदेशभर मनसुन पूर्ण रूपमा सक्रिय छ। अधिकांश स्थानमा बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

सुदूरपश्चिम प्रदेश

प्रदेशभर अधिकांश स्थानमा बदली रहेको छ। केही स्थानमा अहिले नै वर्षा भइरहेको छ। दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्छ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

सावधानी अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

Read More

आजको राशिफल :२०८३ असार १७ गते (१ जुलाई २०२६), बुधवार

आषाढ कृष्णपक्ष प्रतिपदा तिथि, ६ः३७ बजेपछि द्वितीया। पूर्वाषाढा नक्षत्र, ६ः४२ बजेपछि उत्तराषाढा। चन्द्रमा धनु राशिमा सञ्चाररत, १३ः१६ बजेपछि मकर राशिमा प्रवेश गर्नेछ।

आषाढ कृष्णपक्षको प्रतिपदा तिथिबाट सुरु भएको आजको दिन बिहानसम्म पूर्वाषाढा नक्षत्रको प्रभाव रहनेछ भने त्यसपछि उत्तराषाढा नक्षत्रको प्रभाव सक्रिय हुनेछ। चन्द्रमा प्रारम्भमा धनु राशिमा सञ्चार गर्दै दिउँसोपछि मकर राशिमा प्रवेश गर्ने भएकाले बिहान उत्साह, नयाँ अवसर र सामाजिक सक्रियता बढ्ने संकेत छ भने दिउँसोपछि जिम्मेवारी, अनुशासन र व्यवहारिक सोचको प्रभाव बलियो बन्नेछ। ग्रह–नक्षत्रको यस अवस्थाले केही राशिका व्यक्तिहरूलाई प्रतिष्ठा, आम्दानी, व्यापार तथा करियरमा उल्लेखनीय उपलब्धि दिलाउन सक्छ भने केही राशिले स्वास्थ्य, खर्च व्यवस्थापन, सम्बन्ध र निर्णयमा संयम अपनाउनु उपयुक्त हुनेछ। धैर्य, निरन्तर प्रयास र विवेकका साथ अघि बढे आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो,

आज समाजमा प्रशंसायोग्य कार्य गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सकिनेछ। आवश्यक स्रोत–साधन जुट्दा नयाँ योजना अघि बढ्नेछन्। दिउँसोपछि केही काममा दोहोर्याएर प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नु लाभदायी हुनेछ। निरन्तर मेहनतले प्रतिष्ठा, सफलता तथा पेशागत लाभ दिलाउने सम्भावना छ।

वृष – Taurus

, , , , वा, वि, वु, वे, वो

स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्ने भएकाले आराम र खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ। नयाँ काम सुरु गर्नुभन्दा पुराना कार्यलाई निरन्तरता दिनु लाभदायी रहनेछ। चुनौती आए पनि सहयोगीहरूको साथले समस्या समाधान हुनेछ। दिउँसोपछि परिस्थितिमा सुधार आउनेछ र समाज तथा कार्यक्षेत्रमा राम्रो प्रभाव जमाउन सफल भइनेछ। पेशागत क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत छन्।

मिथुन – Gemini

का, कि, कु, , , , के, को, हा

प्रियजनसँग रमाइलो भेटघाट तथा मनोरञ्जनको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध र मित्रता अझ सुदृढ बन्नेछ भने व्यापार–व्यवसायबाट आम्दानी बढ्ने सम्भावना छ। दिउँसोपछि केही योजनामा अपेक्षाभन्दा कम उपलब्धि प्राप्त हुन सक्छ। स्वास्थ्य तथा खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ। आफ्नै मेहनतको प्रतिफल अरूले लिन खोज्न सक्ने भएकाले काममा सतर्कता आवश्यक रहनेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। आवश्यक स्रोत–साधन जुट्दा दीर्घकालीन योजना अघि बढ्नेछ। आफ्नै मेहनतबाट अरूले लाभ लिन खोजे पनि बुद्धिमत्तापूर्वक परिस्थिति आफ्नो पक्षमा बनाउन सकिनेछ। दिउँसोपछि व्यापार तथा व्यवसायमा उल्लेखनीय प्रगति हुनेछ। नयाँ आम्दानीका स्रोत फेला पर्नेछन् भने प्रेम सम्बन्ध तथा मित्रतामा पनि मधुरता बढ्नेछ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज मेहनतले अध्ययन, करियर तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता दिलाउन सक्छ। गुरुजनको सुझाव तथा सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष कामको आधार तयार गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोपछि भौतिक साधन जुट्ने तथा नयाँ योजना सुरु गर्न अनुकूल समय रहनेछ। प्रतिस्पर्धीहरू सक्रिय भए पनि विवेकपूर्ण व्यवहारले सबैलाई साथमा लिएर सफलता हासिल गर्न सकिनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, , , , पे, पो

हतारमा निर्णय गर्दा समस्या आउन सक्ने भएकाले सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ। शुभचिन्तकहरूको साथले अप्ठ्यारा परिस्थिति सहज बन्नेछ। केही काम प्रक्रिया नमिल्दा दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि, वाहन वा पारिवारिक सम्पत्तिबाट लाभ प्राप्त हुने सम्भावना छ। दिउँसोपछि बौद्धिक क्षमता र निर्णयशक्ति बढ्नेछ। पुराना अन्योल हट्दै आर्थिक अवसर विस्तार हुने संकेत छन्।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुने तथा प्रतिष्ठा, सम्मान र आर्थिक लाभ हासिल गर्ने अवसर छ। उद्योग, व्यापार तथा पेशामा उल्लेखनीय प्रगति हुनेछ। दिउँसोपछि आफन्त तथा साथीभाइसँग व्यवहारमा सन्तुलन कायम गर्नु राम्रो हुनेछ। अरूका लागि समय खर्च गर्नुपरे पनि आफ्ना काममा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान–सम्मान तथा सामाजिक प्रतिष्ठा बढ्ने समय रहेको छ। प्रभावशाली बोली र विचारका कारण धेरैको विश्वास जित्न सकिनेछ। सहयोगीहरूको साथले महत्वपूर्ण काम सफलतापूर्वक सम्पन्न हुनेछन्। दिउँसोपछि नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन, व्यापार तथा पेशामा प्रगति हुँदै व्यक्तित्वमा निखार आउनेछ। नाम, दाम र सम्मान प्राप्त हुने सम्भावना बलियो देखिन्छ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मेहनती व्यक्तिहरूका लागि आज उत्साहजनक दिन रहनेछ। ज्ञान, कला तथा व्यक्तित्वमा निखार आउनेछ। मेहनतको उचित मूल्यांकन हुँदै प्रतिष्ठा र आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। पारिवारिक जमघट तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। दिउँसोपछि प्रतीक्षित परिणाम अनुकूल आउनेछन्। नयाँ आम्दानीका स्रोत फेला पर्ने तथा बचत बढाउने अवसर प्राप्त हुनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

खर्च बढे पनि त्यसबाट भविष्यका लागि लाभदायी काम सम्पन्न हुने संकेत छन्। केही त्याग गर्नुपरे पनि त्यसले दीर्घकालीन फाइदा दिलाउनेछ। मेहनतको प्रतिफल भविष्यमा राम्रो रूपमा प्राप्त हुनेछ। दिउँसोपछि पारिवारिक भेटघाटले खुसी बढाउनेछ। प्रतिष्ठित कार्य सम्पन्न गर्दै नाम, सम्मान तथा आर्थिक लाभ प्राप्त गर्ने अवसर मिल्नेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो,

आज मेहनतअनुसार आम्दानीका नयाँ स्रोत फेला पर्ने सम्भावना छ। आवश्यक भौतिक साधन सहजै जुट्नेछन् भने व्यापारमा पनि उल्लेखनीय प्रगति हुनेछ। श्रमको उचित मूल्यांकनले आत्मविश्वास बढाउनेछ। दिउँसोपछि खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु उचित हुनेछ। दीर्घकालीन योजना सुरु गर्ने तथा यात्राको अवसर प्राप्त हुने संकेत पनि देखिन्छ।

मीन – Pisces

दि, दु, , , , दे, दो, चा, चि

आज नयाँ तथा महत्वपूर्ण काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। भेटघाटले उत्साह बढाउनेछ भने मेहनतले प्रतिष्ठा, सम्मान र आर्थिक लाभ दिलाउने सम्भावना छ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ। दिउँसोपछि आम्दानीका नयाँ स्रोत खुल्ने तथा कामबाट राम्रो लाभ प्राप्त हुनेछ। कृषि, पशुपालन, व्यापार तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता मिल्ने संकेत छन्।

Read More