२०८३ श्रावण १०

नेप्से परिसूचक ४४ अंकले उकालो, कारोबार रकम ३ अर्ब ८६ करोड पुग्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ। निरन्तर गिरावटपछि बजारमा पुनः सुधार देखिँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय अंकले बढेर बन्द भएको हो।

नेप्से परिसूचक आज ४४.59 अंकले बढेर २६५२.93 विन्दुमा पुगेको छ, जुन १.70 प्रतिशतको वृद्धि हो। अघिल्लो कारोबार दिन मंगलबार परिसूचक २४.63 अंकले घटेर २६०८.33 विन्दुमा झरेको थियो भने सोमबार पनि १६.54 अंकले गिरावट आएको थियो।

यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बढेर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज ३६२ वटा कम्पनीका ९५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भए। बजारमा अधिकांश स्टकहरूमा हरियाली देखिँदा २५२ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको घटेको छ। ६ वटा समूहको उपसूचक स्थिर रह्यो। सबै १३ वटै समूहका उपसूचक सकारात्मक देखिएका छन्, जसमा हाइड्रोपावर र ट्रेडिङ समूह करिब २ प्रतिशतले बढेका छन्।

विशेषगरी स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १४.22 प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको १३.90 प्रतिशत र कुथेली बुखारी स्माल हाइड्रोपावरको ९.73 प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ, जसको २८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सले १७ करोड ५१ लाख, आँखु खोला जलविद्युतले १७ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले करिब १६ करोड रुपैयाँको कारोबार गरेका छन्।

Read More

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण सम्पन्न

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। शपथ ग्रहणपछि सभापति लामिछानेले उनीहरूलाई पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए।

रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए भने अन्य ६ पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचन प्रक्रियामार्फत चयन भएका थिए।

शपथ ग्रहणसँगै रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ। बैठकमा पार्टी विधानअनुसार मनोनयन गर्न बाँकी रहेका ५१ जना केन्द्रीय सदस्यको चयन प्रक्रिया तथा मापदण्डबारे छलफल हुने बताइएको छ।

Read More

मूल्य घटेपछि देशभर इन्धन संकट: पेट्रोल पम्प बन्द, काठमाडौँमा उपभोक्ता घण्टौँ लाइनमा

काठमाडौँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै काठमाडौँ उपत्यकासहित देशभर पेट्रोल पम्पहरूमा गम्भीर इन्धन अभाव देखिएको छ, जसले उपभोक्तामा ठूलो असन्तुष्टि र आक्रोश पैदा गरेको छ।

निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको घोषणा गरेपछि बजारमा ठूलो हलचल देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएको भन्दै उपभोक्तालाई राहत दिने निर्णय गरिए पनि त्यसको ठीक उल्टो प्रभाव देखिएको छ।

मूल्य घट्ने पूर्वअनुमानमै घाटा हुने डरले धेरै पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट तेल नउठाएको आरोप लागेको छ। सोही कारण काठमाडौँसहित देशका विभिन्न सहरमा निजी पेट्रोल पम्पहरूले “पेट्रोल छैन” भन्दै साइनबोर्ड टाँसेर सेवा बन्द गरेका छन्।

अचानक पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण सवारी चालकहरू सरकारी पम्पहरूमा घण्टौँ लामो लाइन बस्न बाध्य भएका छन्। राजधानीका विभिन्न क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएपछि यातायात सञ्चालनमै असर परेको छ।

निगम स्रोतका अनुसार बजारमा मूल्य घट्ने हल्ला फैलिएसँगै केही व्यवसायीले नोक्सानीको डरले तेल उठाउन बन्द गरेका हुन्, जसका कारण कृत्रिम अभाव सिर्जना भएको हो।

यसैबीच, नेपाल आयल निगमले उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्ने कार्य सह्य नहुने चेतावनी दिएको छ। निगमले यस्ता गतिविधिमा संलग्न पम्पहरूलाई कडा कारबाही गरिने जनाएको छ।

इन्धन संकट र कालोबजारीको गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष अनुगमन टोली परिचालन गरी आकस्मिक छानबिन सुरु गरेको छ। अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।

Read More

राष्ट्रियसभामा उठेका प्रश्नको समयमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको समयमै जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको भन्दै सबै मन्त्रीहरूलाई संसद्मा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन्।

रुलिङ गर्दै अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।”

यसअघि सोही बैठकमा शून्य समयमा उठाइएका जनताका समस्या तथा समसामयिक विषयमा सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै उठाइएका विषयमा समयमै जवाफ दिन माग गरेका थिए।

सांसदहरूले संसद्मा उठाइएका प्रश्नहरूको उत्तर नदिँदा संसदीय गरिमा र संसद्को अनुगमनकारी भूमिकामाथि नै प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारलाई संसद्प्रति थप जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका छन्।

Read More

२४ घण्टामा २,१५७ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व संकलन

काठमाडौं। बितेको २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार १५७ सवारीचालक कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा रु २१ लाख ४० हजार ५४६ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ जना र तीव्र गतिमा सवारी चलाउने ११७ जनालाई कारबाही गरिएको हो।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ सवारी, एकतर्फी सडकमा सवारी चलाउने ५४ जना तथा अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ५३८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

Read More

बैंक सीईओको पारिश्रमिकमा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनसँग जोडेर नयाँ सीमा लागू

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको उच्च पारिश्रमिकलाई लिएर उठ्दै आएको आलोचना र लगानीकर्तालाई अपेक्षित लाभ नदेखिएको गुनासोपछि नेपाल राष्ट्र बैंकले नयाँ कडाइपूर्ण व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले अब सीईओको तलब तथा सुविधा सञ्चालक समितिको स्वतन्त्र निर्णयमा मात्र आधारित नराखी संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सुशासन र समग्र कार्यसम्पादनसँग अनिवार्य रूपमा जोड्नुपर्ने व्यवस्था गरेको छ।

कार्यसम्पादन आधारित पारिश्रमिक

नयाँ मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा योग्यता, अनुभव, संस्थाको पुँजी प्रतिफल, नाफा, व्यवसायको आकार, सञ्चालन प्रदर्शन, जोखिम स्तर तथा संस्थाभित्र तल्लो र उच्च तहबीचको तलब अन्तरसमेत मूल्यांकन गर्नुपर्नेछ।

कार्यसम्पादनमा आधारित अतिरिक्त पारिश्रमिक अब निश्चित तलब र भत्ताको अधिकतम २० प्रतिशतसम्म मात्र सीमित गरिएको छ। तोकिएका लक्ष्य पूरा नभए यस्तो बोनस नपाइने व्यवस्था पनि स्पष्ट गरिएको छ।

पारदर्शिताका लागि स्वतन्त्र समिति अनिवार्य

सीईओको पारिश्रमिक सिफारिस गर्न स्वतन्त्र सञ्चालकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्नुपर्नेछ। सञ्चालक समितिले उक्त सिफारिसका आधारमा मात्र अन्तिम निर्णय गर्न पाउनेछ, जसले प्रक्रिया बढी पारदर्शी र निष्पक्ष हुने अपेक्षा गरिएको छ।

बैंकको वर्गअनुसार पारिश्रमिक सीमा

राष्ट्र बैंकले बैंकको वर्गअनुसार अधिकतम सीमा पनि निर्धारण गरेको छ।

  • ‘क’ वर्ग वाणिज्य बैंक: कर्मचारी खर्च वा कुल सम्पत्तिको निश्चित प्रतिशतमध्ये कम हुने आधार
  • ‘ख’ वर्ग विकास बैंक: कर्मचारी खर्चको ३% वा कुल सम्पत्तिको ०.०२%
  • ‘ग’ वर्ग वित्त कम्पनी: कुल सम्पत्तिको ०.१०%
  • ‘घ’ वर्ग लघुवित्त: कुल सम्पत्तिको ०.०५%

यी सीमाले संस्थाको क्षमता र आकारभन्दा अस्वाभाविक रूपमा बढी पारिश्रमिक निर्धारण गर्ने प्रवृत्ति रोक्ने अपेक्षा गरिएको छ।

सुविधा तथा खर्चमा नियन्त्रण

नयाँ नियमअनुसार सीईओले सीमित सुविधा मात्र पाउनेछन्। एक मोबाइल र एक ल्यापटप मात्र उपलब्ध हुनेछ भने सेवा अवधिभर एक सवारी साधन, इन्धन र चालक सुविधा मात्र दिन पाइनेछ।

टेलिफोन, इन्टरनेट र अन्य प्रशासनिक खर्चका लागि पनि निश्चित तलबको अधिकतम ०.५ प्रतिशतसम्म मात्र अनुमति दिइएको छ। सीमा नाघिएमा अतिरिक्त रकम सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ।

रिपोर्टिङ र कार्यान्वयनमा कडाइ

बैंकहरूले सीईओको सम्पूर्ण पारिश्रमिक विवरण वार्षिक प्रतिवेदनमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। नयाँ नियम नयाँ नियुक्तिमा तत्काल लागू हुने भए पनि पुराना सम्झौतामा केही छुट रहनेछ।

राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता बढाउने तथा पारिश्रमिक र कार्यसम्पादनबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्य राखिएको छ।

Read More

लाहोरको ट्युसन सेन्टरमा छत भत्किँदा १४ बालबालिकाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं। पाकिस्तानको पञ्जाब प्रान्त अन्तर्गत पर्ने लाहोरमा मंगलबार एक ट्युसन सेन्टरको छत अचानक भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका थप पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटना लगत्तै सुरु गरिएको खोज तथा उद्धार कार्यका क्रममा २० जना बालबालिकालाई जीवितै बाहिर निकालिएको अधिकारीहरूले जनाएका छन्। बीबीसी उर्दूका अनुसार कमिश्नर मरियम खानले दुर्घटनाको समयमा भवनभित्र करिब ३५ जना बालबालिका रहेको जानकारी दिएकी छन्। घाइते हुनेमा एक जना शिक्षक पनि रहेका छन्।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले घटनाप्रति गम्भीर ध्यान दिँदै प्रहरीसँग विस्तृत अनुसन्धान प्रतिवेदन माग गरेकी छन्। प्रहरीले हालसम्म घरधनीसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

डीआईजी अपरेसन फैसल कमरानले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र जिम्मेवारहरू पहिचान गर्नका लागि आवश्यक प्रमाणहरू संकलन भइरहेको बताएका छन्।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी दोषी ठहरिएकाहरूमाथि कडा कारबाही गरिनेछ।

Read More

९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार निर्णय गरेको हो।

निर्णयअनुसार दोलखाको ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि सबैभन्दा लामो अवधिसम्म कालोसूचीमा राखिएको छ। यस्तै लोहनी एण्ड ब्रदर्श प्रालि (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र/थेगिम जेभी (कैलाली) लाई एक वर्ष छ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका/बेहडाबाबा जेभी (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रालि (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। कालोसूची अवधिभर ती कम्पनीहरूले देशभरका कुनै पनि सरकारी तथा सार्वजनिक खरिद, ठेक्का वा बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

Read More

तीन संसदीय समितिको बैठक आज, विविध विधेयक र नीतिगत विषयमा छलफल

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (बुधबार) बस्ने भएका छन्। बैठकमा पर्यटन, श्रम तथा उपभोक्ता हित र शिक्षा–स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारीबारे छलफल हुनेछ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्था र प्राप्त उपलब्धिहरूको समीक्षा पनि गरिनेछ।

यस्तै, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि र विविध विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

Read More

पूर्व डीआईजी अर्जुन चन्दको उपचारका क्रममा निधन

काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ।

ललितपुर महानगरपालिका–१८ नख्खु श्रीजनामार्गस्थित आफ्नै निवासमा असार ५ गते राति लडेर घाइते भएका चन्दलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि सोही दिन डिस्चार्ज गरिएको भए पनि पछि स्वास्थ्य अवस्था बिग्रिएपछि असार १० गते पुनः अस्पताल भर्ना गरिएको थियो।

आईसीयूमा उपचाररत रहेका चन्दको बुधबार बिहान निधन भएको अस्पताल स्रोतले जनाएको छ।

चन्द उमेरहदका कारण गत वर्ष नेपाल प्रहरी सेवाबाट डीआईजी पदबाट अवकाश प्राप्त गरेका थिए।

Read More