२०८३ श्रावण १०

राष्ट्रियसभामा उठेका प्रश्नको समयमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको समयमै जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको भन्दै सबै मन्त्रीहरूलाई संसद्मा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन्।

रुलिङ गर्दै अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु।”

यसअघि सोही बैठकमा शून्य समयमा उठाइएका जनताका समस्या तथा समसामयिक विषयमा सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। विशेषगरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै उठाइएका विषयमा समयमै जवाफ दिन माग गरेका थिए।

सांसदहरूले संसद्मा उठाइएका प्रश्नहरूको उत्तर नदिँदा संसदीय गरिमा र संसद्को अनुगमनकारी भूमिकामाथि नै प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारलाई संसद्प्रति थप जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका छन्।