काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै काठमाडौँ उपत्यकासहित देशभर पेट्रोल पम्पहरूमा गम्भीर इन्धन अभाव देखिएको छ, जसले उपभोक्तामा ठूलो असन्तुष्टि र आक्रोश पैदा गरेको छ।
निगमले मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाएको घोषणा गरेपछि बजारमा ठूलो हलचल देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएको भन्दै उपभोक्तालाई राहत दिने निर्णय गरिए पनि त्यसको ठीक उल्टो प्रभाव देखिएको छ।
मूल्य घट्ने पूर्वअनुमानमै घाटा हुने डरले धेरै पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट तेल नउठाएको आरोप लागेको छ। सोही कारण काठमाडौँसहित देशका विभिन्न सहरमा निजी पेट्रोल पम्पहरूले “पेट्रोल छैन” भन्दै साइनबोर्ड टाँसेर सेवा बन्द गरेका छन्।
अचानक पम्पहरू बन्द भएपछि इन्धन भर्न पुगेका सर्वसाधारण सवारी चालकहरू सरकारी पम्पहरूमा घण्टौँ लामो लाइन बस्न बाध्य भएका छन्। राजधानीका विभिन्न क्षेत्रमा बिहानैदेखि लामो लाइन देखिएपछि यातायात सञ्चालनमै असर परेको छ।
निगम स्रोतका अनुसार बजारमा मूल्य घट्ने हल्ला फैलिएसँगै केही व्यवसायीले नोक्सानीको डरले तेल उठाउन बन्द गरेका हुन्, जसका कारण कृत्रिम अभाव सिर्जना भएको हो।
यसैबीच, नेपाल आयल निगमले उपभोक्तालाई सास्ती दिने गरी इन्धन लुकाउने वा पम्प बन्द गर्ने कार्य सह्य नहुने चेतावनी दिएको छ। निगमले यस्ता गतिविधिमा संलग्न पम्पहरूलाई कडा कारबाही गरिने जनाएको छ।
इन्धन संकट र कालोबजारीको गुनासो बढेपछि निगमले काठमाडौँ उपत्यकामा मात्रै तीनवटा विशेष अनुगमन टोली परिचालन गरी आकस्मिक छानबिन सुरु गरेको छ। अनुगमनका क्रममा नियतवश पम्प बन्द गरेको वा तेल लुकाएको पाइएमा पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीअनुसार कडा कारबाही गरिने निगमले स्पष्ट पारेको छ।




