काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज (बुधबार) बस्ने भएका छन्। बैठकमा पर्यटन, श्रम तथा उपभोक्ता हित र शिक्षा–स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यसूची छ।
बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारीबारे छलफल हुनेछ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएका निर्देशनको कार्यान्वयन अवस्था र प्राप्त उपलब्धिहरूको समीक्षा पनि गरिनेछ।
यस्तै, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि र विविध विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।




