२०८३ श्रावण ११

९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त निकायले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) अनुसार मंगलबार निर्णय गरेको हो।

निर्णयअनुसार दोलखाको ओमबुद्ध कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि सबैभन्दा लामो अवधिसम्म कालोसूचीमा राखिएको छ। यस्तै लोहनी एण्ड ब्रदर्श प्रालि (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र/थेगिम जेभी (कैलाली) लाई एक वर्ष छ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका/बेहडाबाबा जेभी (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन प्रालि (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन कम्पनी (इलाम) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कार्यालयका अनुसार सम्बन्धित सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। कालोसूची अवधिभर ती कम्पनीहरूले देशभरका कुनै पनि सरकारी तथा सार्वजनिक खरिद, ठेक्का वा बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।