२०८३ श्रावण १

लाहोरको ट्युसन सेन्टरमा छत भत्किँदा १४ बालबालिकाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं। पाकिस्तानको पञ्जाब प्रान्त अन्तर्गत पर्ने लाहोरमा मंगलबार एक ट्युसन सेन्टरको छत अचानक भत्किँदा १४ जना बालबालिकाको मृत्यु भएको छ। उक्त दुर्घटनामा घाइते भएका थप पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।

घटना लगत्तै सुरु गरिएको खोज तथा उद्धार कार्यका क्रममा २० जना बालबालिकालाई जीवितै बाहिर निकालिएको अधिकारीहरूले जनाएका छन्। बीबीसी उर्दूका अनुसार कमिश्नर मरियम खानले दुर्घटनाको समयमा भवनभित्र करिब ३५ जना बालबालिका रहेको जानकारी दिएकी छन्। घाइते हुनेमा एक जना शिक्षक पनि रहेका छन्।

यसैबीच, पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले घटनाप्रति गम्भीर ध्यान दिँदै प्रहरीसँग विस्तृत अनुसन्धान प्रतिवेदन माग गरेकी छन्। प्रहरीले हालसम्म घरधनीसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

डीआईजी अपरेसन फैसल कमरानले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र जिम्मेवारहरू पहिचान गर्नका लागि आवश्यक प्रमाणहरू संकलन भइरहेको बताएका छन्।

उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी दोषी ठहरिएकाहरूमाथि कडा कारबाही गरिनेछ।