२०८३ श्रावण ११

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, बोलकबोलका लागि आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ‘ङ’’ का लागि अनलाइन माध्यमबाट बोलकबोल गर्न सकिने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा सहभागी हुने संस्थाले आफूले खरिद गर्न चाहेको ऋणपत्रको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । ब्याजदर दशमलवपछिको चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले बोलकबोलका लागि न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन रकम पाँच करोड रुपैयाँले निःशेष भाग जाने गरी पेश गर्नुपर्नेछ ।

प्राप्त बोलमध्ये सम्पूर्ण वा आंशिक रकम स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासनसम्बन्धी सर्तअनुसार तोकिएको अवधिमा प्राप्त हुने ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने बताइएको छ ।

Read More

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गतको पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । ग्रेडवृद्धिका लागि सञ्चालन गरिएको पूरक परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरिएको हो ।

कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षामा सहभागी परीक्षार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना वर्गीकृत हुन सफल भएका छन् ।

पूरक परीक्षाको नतिजासँगै यस वर्ष एसईई उत्तीर्ण गर्ने विद्यार्थीको कुल प्रतिशत ८५.३७ पुगेको छ । नियमिततर्फको परीक्षामा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार मूल परीक्षामा ननग्रेडेड भएका तथा ग्रेडवृद्धिका लागि योग्य १७ हजार ३९३ विद्यार्थी भने पूरक परीक्षामा सहभागी भएनन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीले एसईई पूरक परीक्षाको नतिजा बोर्डको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को वेबसाइट, विभिन्न सूचना तथा टेलिफोन सेवा प्रदायकका वेबसाइट, आईभीआर, एसएमएस र यूएसएसडी सेवामार्फत हेर्न सक्नेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले वेबसाइटमार्फत सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरेको जनाएको छ ।

पुनर्योग र उत्तरपुस्तिका हेर्न आवेदन दिन सकिने

प्रकाशित नतिजाप्रति असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका हेर्न तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार यसका लागि असार २५ गतेदेखि असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन सकिनेछ । थप विवरण परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बोर्डले जनाएको छ ।

Read More

गान्सु पहिरोमा १६ जना बेपत्ता, चीनमा भारी वर्षा र आँधीको जोखिम

काठमाडौं चीनमा पछिल्ला दिनमा आएको प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भएको छ । पश्चिमी प्रान्त गान्सुको पहाडी क्षेत्रमा गएको पहिरोमा अझै १६ जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी टेलिभिजनका अनुसार पहिरोमा ३३ जना फसेका थिए । उद्धार टोलीले १७ जनालाई सुरक्षित निकालिसकेको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

पहिरोको कारणबारे स्पष्ट जानकारी सार्वजनिक नभए पनि चीनका विभिन्न क्षेत्रमा पछिल्लो समय भइरहेको निरन्तर वर्षा र खराब मौसमका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएका छन् । चीनका राष्ट्रपति सिन जिनपिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

यसैबीच, मध्य चीनको हुबेई प्रान्तमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ह्वाङ्शी, ह्वाङ्गाङ, एझोउ र सियानिङ क्षेत्रमा आएको आँधीका क्रममा हावाको गति प्रतिघण्टा १४९ किलोमिटरसम्म पुगेको थियो ।

उक्त घटनामा २७५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, क्षति मूल्याङ्कन तथा राहत वितरणको काम भइरहेको छ ।

भारी वर्षा र टाइफुनको जोखिम

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आगामी दिनमा देशका केही क्षेत्रमा भारी वर्षा र आँधीको सम्भावना रहेको चेतावनी दिएको छ । दक्षिणपूर्वी गुआङ्सी तथा पूर्वी जियाङ्सु र शान्दोङ प्रान्तका केही क्षेत्रमा २६० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौसमविद्हरूले अत्यधिक वर्षाका कारण पहिरो, बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने बताएका छन् । उत्तरपूर्वी र दक्षिणी चीनका केही क्षेत्रमा आँधीबेहरी तथा टोर्नाडोको सम्भावना पनि औँल्याइएको छ ।

यसैबीच, प्रशान्त महासागरबाट ताइवानतर्फ अघि बढिरहेको शक्तिशाली सुपर टाइफुन ‘बाभी’ का कारण चीनका केही क्षेत्रमा थप जोखिम बढेको छ । उक्त आँधीमा प्रतिघण्टा २९० किलोमिटरसम्मको हावाको वेग मापन गरिएको बताइएको छ ।

Read More

राहत अस्वीकार गर्दै सुकुमवासी परिवारको माग– ‘क्षतिपूर्ति होइन, सम्मानजनक पुनर्स्थापना चाहिन्छ’

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारले घोषणा गरेको राहत रकमका लागि निवेदन नदिने भएका छन् ।

नेपाल सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रभावित परिवारलाई असार २२ गतेभित्र राहतका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूले राहतभन्दा पनि दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका हुन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै प्रभावित परिवारले होल्डिङ सेन्टरमा बसिरहेका करिब आधा परिवारले राहतका लागि आवेदन नदिएको र आगामी दिनमा पनि नदिने निर्णय गरेको जानकारी दिएका छन् ।

उनीहरूले आफ्नो मुख्य आवश्यकता आर्थिक सहायता नभई राज्यले हटाएको बासस्थानको सम्मानजनक व्यवस्थापन रहेको बताएका छन् । वैकल्पिक आवासको व्यवस्था नगरी घर भत्काएर केही रकम उपलब्ध गराउनु समस्याको स्थायी समाधान नभएको उनीहरूको भनाइ छ ।

“हामीलाई राहत होइन, राज्यले भत्काएको हाम्रो बासको सम्मानजनक व्यवस्थापन चाहिएको हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रभावित परिवारले राहतका लागि आवेदन नदिएको कारण देखाएर कुनै पनि किसिमको दबाब, धम्की, अधिकारबाट वञ्चित गर्ने वा भविष्यमा सरकारी सेवा–सुविधाबाट रोक्ने प्रयास स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन् ।

Read More

जुम्लामा पक्की सिँचाइ कुलो निर्माणपछि किसानलाई सहज, सयौँ कृषक लाभान्वित

काठमाडौं जुम्लाका विभिन्न क्षेत्रमा कृषि सिँचाइ पूर्वाधार विस्तार भएपछि किसानलाई खेतीपाती गर्न सहज भएको छ । कृषि विकास कार्यालय जुम्लाले निर्माण गरेका पक्की कुलो र सिँचाइ संरचनाबाट जिल्लाका सयौँ किसान लाभान्वित भएका छन् ।

कार्यालयले तिला गाउँपालिका–४ मा रु १४ लाख २८ हजार अनुदान तथा उपभोक्ताको रु तीन लाख ७२ हजार सहभागितामा पक्की सिँचाइ कुलो निर्माण गरेको हो । कुलो र पानी सङ्कलन ट्याङ्की निर्माण भएपछि उक्त क्षेत्रका एक सयभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

उनका अनुसार तातोपानी गाउँपालिका–१ मा पनि रु १४ लाख ४० हजार अनुदानमा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ । उक्त संरचनाबाट करिब ४२५ जना कृषक लाभान्वित भएका छन् ।

कृषि विकास कार्यालयले स्याउ तथा ओखर विकास कार्यक्रमअन्तर्गत तातोपानी गाउँपालिका–५ स्थित ऐरेनीमा रहेको घराला तरकारी उत्पादन उद्योगलाई पनि अनुदान उपलब्ध गराएको छ । स्याउका बिरुवा खरिद, खाडल व्यवस्थापन, पानी तान्ने मोटर खरिद र बगैँचा घेराबारका लागि रु पाँच लाख ५२ हजार अनुदान दिइएको कार्यालय प्रमुख अधिकारीले बताए ।

यस्तै, पातारासी गाउँपालिका–६ मा तरकारी सिँचाइ प्रवर्द्धन कार्यक्रम, नर्सरी स्थापना तथा व्यवस्थापन र नौमुडे बहुउद्देश्यीय कृषि फार्मलाई समेत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्यले कृषि विकास कार्यालयबाट सञ्चालन भएका ठूला योजनालाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन गुणस्तरीय काम र निरन्तर अनुगमन आवश्यक रहेको बताए ।

पक्की कुलो निर्माण भएपछि मार्सीधान लगायतका बालीमा सिँचाइ गर्न सहज भएको तातोपानी गाउँपालिका–१ का स्थानीय कलबहादुर कठायतले बताए ।

चालु आर्थिक वर्षमा कृषि विकास कार्यालयमार्फत तिला, तातोपानी र पातारासी गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजना तथा कार्यक्रमको सरोकारवालाको संयुक्त टोलीले सोमबार अनुगमन गरेको कार्यालयले जनाएको छ ।

Read More

संविधान संशोधन बहसपत्रका लागि कांग्रेस र एमालेले सरकारी कार्यदललाई सुझाव नदिने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ लाई सुझाव नदिने भएका छन् ।

सरकार गठनपछि संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको उक्त कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत सहभागी गराउने व्यवस्था गरिएको थियो । तर, कांग्रेसले सुरुदेखि नै प्रतिनिधि पठाउन अस्वीकार गरेको थियो भने प्रारम्भिक चरणमा सहभागी भएको एमाले पनि पछि कार्यदलबाट अलग भएको थियो ।

हाल कार्यदलले संविधानविद्, विभिन्न सरोकारवाला र राजनीतिक दलहरूसँग छलफल गर्दै प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ । कार्यदल संयोजक शाहले असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको यसअघि जानकारी गराएका थिए ।

कांग्रेसको आफ्नै संयन्त्रमार्फत गृहकार्य

नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी विषयमा आफ्नै संयन्त्रमार्फत अध्ययन र छलफल अघि बढाइरहेको जनाएको छ । कांग्रेस उपसभापति एवं संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भुसालले पार्टीले आफ्नै धारणा निर्माण गरिरहेकाले सरकारी कार्यदललाई छुट्टै सुझाव दिन आवश्यक नरहेको बताइन् ।

कांग्रेसले भुसालको संयोजकत्वमा १७ सदस्यीय संविधान संशोधन सुझाव समिति गठन गरेको छ । उक्त समितिले संविधानको अध्ययन, सरोकारवालासँग परामर्श तथा संशोधनका सम्भावित विषय पहिचान गरी पार्टीको आधिकारिक धारणा तयार गर्ने काम गरिरहेको छ ।

एमाले पनि आफ्नै धारणा बनाउँदै

नेकपा एमालेले पनि संविधान संशोधनका विषयमा आफ्नै आन्तरिक गृहकार्य गरिरहेको छ । एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो भने नेता अग्नि खरेलको नेतृत्वमा उपसमिति बनाएर थप अध्ययन अघि बढाएको थियो ।

एमाले नेता महेश बर्तौलाले सरकारले संविधान संशोधनबारे स्पष्ट मार्गचित्र र अवधारणा सार्वजनिक नगरेकाले सरकारी कार्यदलसँग सहकार्य गर्नु आवश्यक नदेखिएको बताए । उनले एमालेले संविधान संशोधनका विषयमा आफ्नो धारणा र आधार तय गर्न आन्तरिक छलफललाई तीव्र बनाएको जानकारी दिए ।

आधारभूत संरचना परिवर्तनको पक्षमा छैनन् दुवै दल

संविधान संशोधनबारे कांग्रेस र एमालेले छुट्टाछुट्टै तयारी गरिरहेका भए पनि दुवै दल वर्तमान संविधानको आधारभूत संरचना परिवर्तन गर्ने पक्षमा नरहेको जनाएका छन् ।

दुवै दलले संघीयता, गणतन्त्र र संसदीय शासन प्रणालीको संरक्षण हुनुपर्ने धारणा राख्दै आएका छन् । संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मूल संरचनालाई कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उनीहरूको भनाइ छ ।

Read More

नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गर्दै मौद्रिक नीति, संरचनामा पनि परिवर्तन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेपछि राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले व्यवस्थापन बैठक बोलाएको छ । विभागबाट तयार भएको मस्यौदा व्यवस्थापनबाट स्वीकृत भएपछि सञ्चालक समिति बैठकमार्फत पारित गरी सार्वजनिक गर्ने तयारी रहेको गभर्नर कार्यालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले मौद्रिक नीति आजै सार्वजनिक गर्न लागिएको बताइएको छ ।

यसपटकको मौद्रिक नीतिमा संरचनागत परिवर्तनसमेत गरिने भएको छ । यसअघि समेटिँदै आएका कतिपय नियामकीय व्यवस्था अब मौद्रिक नीतिमा नराखी आवश्यकता अनुसार छुट्टै परिपत्रमार्फत जारी गर्ने तयारी गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ । उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी केही लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

Read More

नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा निःशुल्क आँखा शिविर, एक हजारभन्दा बढीले पाए सेवा

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले आँखा उपचार सेवाको पहुँच विस्तार गर्दै विदेशमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्न थालेको छ । नेपालका ग्रामीण तथा विपन्न समुदायमा आँखा सेवा पुर्‍याउँदै आएको सङ्घले आवश्यकताका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत शिविर आयोजना गर्न थालेको जनाएको छ ।

नेपाली विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा विदेशमा सञ्चालन गरिएका आँखा शिविर प्रभावकारी बन्दै गएको सङ्घले जनाएको छ । नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार तथा तालिम केन्द्रका रूपमा विकास गर्ने, गुणस्तरीय आँखा चिकित्सा शिक्षा प्रवर्द्धन गर्ने र अन्धोपन न्यूनीकरण गर्ने लक्ष्यसहित सङ्घले अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको छ ।

यसैक्रममा नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित Lumbini Eye Institute and Research Center को प्राविधिक सहयोग तथा Embassy of Nepal, Bangkok को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा आयोजना गरिएको शिविरबाट एक हजार दुई जना कम्बोडियाली नागरिकले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमा ६४१ महिला र ३६१ पुरुष सहभागी भएका थिए ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो । परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको उनले जानकारी दिए ।

शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए ।

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति

शिविरसँगै कम्बोडियाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नेपालमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने विषयमा पनि सहकार्यको पहल भएको छ ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरअन्तर्गत रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर प्रा. डा. सुशीला पटेलको नेतृत्वमा विशेषज्ञ टोलीले आँखा परीक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको थियो ।

यसैबीच सङ्घका महासचिव भरतबहादुर चन्दको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले कम्बोडियाको स्वास्थ्य मन्त्रालय, कम्पोङ चाम प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायसँग आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, जनशक्ति विकास र संस्थागत साझेदारी विस्तारका विषयमा छलफल गरेको छ ।

नेपाल र कम्बोडियाबीच सार्वजनिक स्वास्थ्य, आँखा उपचार, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्ष सकारात्मक रहेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव चन्दले अन्तर्राष्ट्रिय सहकार्यले नेपाल–कम्बोडिया सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपाललाई आँखा उपचार, चिकित्सा शिक्षा र स्वास्थ्य पर्यटनको क्षेत्रमा थप पहिचान दिलाउन सहयोग पुग्ने बताए ।

सङ्घका उपाध्यक्ष एवं रणअम्बिका शाह आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणाले नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको अनुभव र दक्षता अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने बताए ।

अस्पताल व्यवस्थापक प्रकाश रायमाझीले शिविर सफल बनाउन नेपाली राजदूतावास, स्थानीय सरकार, कम्पोङ चाम प्रान्तीय अस्पताल, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे ।

सङ्घका अनुसार स्थापनादेखि सन् २०२५ को अन्त्यसम्ममा उसका २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा र २२६ आँखा उपचार केन्द्रमार्फत नेपाल तथा अन्य देशका गरी पाँच करोडभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५६ लाखभन्दा बढी आँखाको शल्यक्रिया सम्पन्न भएको सङ्घले जनाएको छ ।

Read More

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालन, ३३ तह अझै पहुँचबाहिर

काठमाडौं । कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । प्रदेशका कुल ७९ स्थानीय तहमध्ये अझै ३३ स्थानीय तहमा यस्ता केन्द्र स्थापना हुन बाँकी रहेको छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलका अनुसार कर्णालीमा हाल ७१ वटा मौसम मापन केन्द्र सञ्चालनमा छन् भने ३१ वटा जलमापन केन्द्र सक्रिय अवस्थामा रहेका छन् । केही केन्द्र जनशक्ति अभावका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले जानकारी दिइन् ।

दैलेख र सुर्खेतको सीमाक्षेत्र गुँरासेमा रहेको मौसम राडार केन्द्र पनि लामो समयदेखि बन्द अवस्थामा रहेको छ । चट्याङका कारण क्षति पुगेपछि करिब दुई वर्षदेखि उक्त केन्द्रबाट सेवा लिन नसकिएको कार्यालयले जनाएको छ ।

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको राडार केन्द्रमा आवश्यक उपकरण खरिद गरिए पनि जडानका लागि दक्ष जनशक्ति अभाव भएको बताइएको छ । आगामी वर्षभित्र उपकरण जडान गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिइन् ।

स्थानीयस्तरमा मौसम मापन केन्द्र नहुँदा वर्षा, तापक्रम तथा अन्य मौसमीय अवस्थाको यथार्थ तथ्याङ्क सङ्कलन र विश्लेषणमा समस्या हुने गरेको छ । यसले बाढी, पहिरो, अतिवृष्टि लगायतका प्राकृतिक विपद्को पूर्वानुमान तथा समयमै सूचना प्रवाहमा समेत असर पर्ने कार्यालयको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले मौसमसम्बन्धी पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र स्थापना नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।

Read More

दरवाङ बजारको सडक कालोपत्र सुरु, चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ बजारको सडक कालोपत्र गर्ने काम सुरु भएको छ । सङ्घीय सरकारको समपूरक योजनाअन्तर्गत गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडकलाई पक्की बनाउन निर्माण कार्य अघि बढाइएको हो ।

म्याग्दीको पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिने दरवाङमा विसं २०६४ सालमा सडक पुगेको थियो । सडक स्तरोन्नति तथा कालोपत्रका लागि रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको थियो । ठेक्का प्रतिस्पर्धाबाट रु एक करोड २६ लाख ८२ हजार ८८८ मा निर्माण गर्ने जिम्मा पाएको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते सम्झौता भएको थियो ।

योजनाअन्तर्गत सडक फराकिलो बनाउने, नाली तथा पर्खाल निर्माण गर्ने, ग्राभेल, बेस र सबबेस राख्ने काम सम्पन्न गरी गत सातादेखि बिटुमिन र चिप्स बिछ्याउने काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।

“यस योजनामार्फत दरवाङको तल्लो र उपल्लो बजार क्षेत्रमा गरी एक किलोमिटर चार सय मिटर सडक कालोपत्र गरिनेछ,” अध्यक्ष गर्बुजाले भने, “चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने योजना भएकाले निर्माणमा ढिलाइ नगर्न निर्माण कम्पनीलाई ताकेता गरेका छौँ ।”

हालसम्म हुलाकचोक र तल्लो बजार क्षेत्रमा करिब ३०० मिटर सडक कालोपत्र भइसकेको छ । उपल्लो बजार, धौलागिरि चोक र स्याउलीबजार क्षेत्रमा भने कालोपत्र गर्न बाँकी रहेको छ ।

ठेक्का सम्झौताअनुसार असार १५ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि समयमै काम पूरा हुन नसकेपछि निर्माण व्यवसायीले म्याद थपका लागि निवेदन दिएका छन् । इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र व्यस्त सडकमा यातायात व्यवस्थापन गर्नुपरेका कारण निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् ।

Read More