काठमाडौं । चीनमा पछिल्ला दिनमा आएको प्राकृतिक विपद्का घटनाले जनजीवन प्रभावित भएको छ । पश्चिमी प्रान्त गान्सुको पहाडी क्षेत्रमा गएको पहिरोमा अझै १६ जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी टेलिभिजनका अनुसार पहिरोमा ३३ जना फसेका थिए । उद्धार टोलीले १७ जनालाई सुरक्षित निकालिसकेको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।
पहिरोको कारणबारे स्पष्ट जानकारी सार्वजनिक नभए पनि चीनका विभिन्न क्षेत्रमा पछिल्लो समय भइरहेको निरन्तर वर्षा र खराब मौसमका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएका छन् । चीनका राष्ट्रपति सिन जिनपिङले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
यसैबीच, मध्य चीनको हुबेई प्रान्तमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ह्वाङ्शी, ह्वाङ्गाङ, एझोउ र सियानिङ क्षेत्रमा आएको आँधीका क्रममा हावाको गति प्रतिघण्टा १४९ किलोमिटरसम्म पुगेको थियो ।
उक्त घटनामा २७५ जनाभन्दा बढी घाइते भएको जनाइएको छ । प्रभावित क्षेत्रमा उद्धार, क्षति मूल्याङ्कन तथा राहत वितरणको काम भइरहेको छ ।
भारी वर्षा र टाइफुनको जोखिम
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आगामी दिनमा देशका केही क्षेत्रमा भारी वर्षा र आँधीको सम्भावना रहेको चेतावनी दिएको छ । दक्षिणपूर्वी गुआङ्सी तथा पूर्वी जियाङ्सु र शान्दोङ प्रान्तका केही क्षेत्रमा २६० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसमविद्हरूले अत्यधिक वर्षाका कारण पहिरो, बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने बताएका छन् । उत्तरपूर्वी र दक्षिणी चीनका केही क्षेत्रमा आँधीबेहरी तथा टोर्नाडोको सम्भावना पनि औँल्याइएको छ ।
यसैबीच, प्रशान्त महासागरबाट ताइवानतर्फ अघि बढिरहेको शक्तिशाली सुपर टाइफुन ‘बाभी’ का कारण चीनका केही क्षेत्रमा थप जोखिम बढेको छ । उक्त आँधीमा प्रतिघण्टा २९० किलोमिटरसम्मको हावाको वेग मापन गरिएको बताइएको छ ।




