काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गरिँदैछ।
| नयाँ पक्ष | यसपटकको व्यवस्था |
|---|---|
| २३२ सदस्यीय केन्द्रीय कार्यसमिति | नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन्। |
| ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व | वडा तहदेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ। |
| केन्द्रमा २१ युवा सदस्य | ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई नेतृत्वमा ल्याइनेछ। |
| महिलाको कम्तीमा एकतिहाइ सहभागिता | पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको कम्तीमा एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। |
| सहमहामन्त्रीको संख्या बढ्यो | सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको छ। समावेशी समूहबाट निर्वाचित तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ। |
| ‘ल्याटरल इन्ट्री’को व्यवस्था | राजनीति बाहेक विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यस व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। |
| विदेशस्थित कांग्रेसजनलाई प्रतिनिधित्व | नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। |
| समावेशी प्रतिनिधित्व विस्तार | अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, लोकतन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। |
| प्यानल नबनाउने अभ्यास | यसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ। प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्नेछन्। |
| प्रदेशगत समूहमा बन्दसत्र | करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राख्नुको सट्टा छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराइनेछ। |
| हिमाल, पहाड र तराई–मधेस नामका हल | बन्दसत्रका लागि तीनवटा ठूला संरचना तयार गरिएको छ। ती हललाई हिमाल, पहाड र तराई–मधेस नाम दिइएको छ। |
| प्रतिवेदन डिजिटल रूपमा उपलब्ध | महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट समेत प्रतिनिधिलाई उपलब्ध गराउने तयारी गरिएको छ। |
| छलफलको अभिलेख राखिने | प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई अभिलेखका रूपमा सुरक्षित गरी अन्तिम दस्तावेज तयार गर्न प्रयोग गरिनेछ। |
| विद्युतीय मतदानको प्रयास | कांग्रेसले विद्युतीय मतदानको तयारी गरे पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिममा परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने भएको छ। |
| प्रचारशैलीमा परिवर्तन | ठूला गेट, होर्डिङ बोर्ड, तोरण तथा अत्यधिक झण्डाको प्रयोगलाई निरुत्साहित गरिएको छ। उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ। मतदानस्थलमा पर्चा छापेर वितरण गर्न पनि रोक लगाइएको छ। |
| उद्घाटन र बन्दसत्र एउटै स्थानमा | महाधिवेशनको उद्घाटनसँगै बन्दसत्र पनि काठमाडौंको खुलामञ्चमै गर्ने तयारी गरिएको छ। |
| भड्किलो शैलीमा नियन्त्रण | प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति लिइएको छ। सहरभरि प्रचार सामग्री तथा सजावट गर्ने परम्परालाई सीमित गरिएको छ। |
यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई पनि प्राथमिकता दिइएको छ। ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ शैलीमा अघि बढाउने सन्देश दिइएको छ।
समग्रमा, कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै संगठनको संरचना, प्रतिनिधित्व, छलफलको शैली र प्रचार प्रणालीमा समेत परिवर्तन ल्याउने प्रयास गरिएको छ। युवा, महिला, पेसाकर्मी तथा श्रमिकको सहभागिता बढाउनेदेखि विज्ञ र विदेशस्थित कांग्रेसजनलाई पार्टीको केन्द्रीय संरचनामा समेट्नेसम्मका व्यवस्था यसपटकका प्रमुख नयाँ पक्ष हुन्।


