काठमाडौं । नारायणघाट–बुटवल सडकखण्डको जंगल क्षेत्रमा बाँदरलाई सुरक्षित रूपमा सडक पार गराउन थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिने भएको छ। सडकमा बाँदरका कारण हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कावासोती–लाकाहा र चोरमारा–अरुणखोलाबीचको जंगलमा पुल निर्माण गर्न लागिएको हो।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पहाडी क्षेत्रबाट तराईतर्फ बाँदरको आवतजावत बढेपछि राजमार्ग पार गर्ने क्रममा दुर्घटना हुने गरेको छ। वन्यजन्तुका कारण हुने दुर्घटनामा मानिससमेत प्रभावित हुन थालेपछि सुरक्षित आवतजावतका लागि क्यानोपी ब्रिज निर्माण गर्न लागिएको उनले बताए।
यसअघि गैँडाकोट–१० स्थित पितौँजी जंगलमा ३४ मिटर लामो र चार फिट चौडाइको एउटा क्यानोपी ब्रिज निर्माण भइसकेको छ। उक्त पुलबाट फाट्टफुट्ट बाँदर वारपार गर्न थालेको योजनाले जनाएको छ।
बाँदरलाई पुल प्रयोग गर्ने बानी बसाल्न निर्माण सम्पन्न पुलमा केही समय फलफूल राखेर आकर्षित गर्ने तयारीसमेत भइरहेको खनालले बताए। उनका अनुसार एउटा क्यानोपी ब्रिज निर्माणमा पाँच लाख रुपैयाँभन्दा कम खर्च हुने गरेको छ।
सडक विस्तार योजनाले क्यानोपी ब्रिजमार्फत वन्यजन्तुको प्राकृतिक आवतजावत सहज बनाउनुका साथै जैविक विविधता संरक्षण र वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेको छ। योजनाअन्तर्गत जंगल क्षेत्रमा पानीपोखरी निर्माण र चोरीसिकारी नियन्त्रणका लागि सहयोग गर्ने कामसमेत भइरहेको जनाइएको छ।




