२०८३ कार्तिक ८

दसैँअघि बेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी

काठमाडौं । बाढीले पक्की पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडक सम्पर्क पुनःस्थापित गर्न बेत्रावतीस्थित फलाखुखोलामा बेलीब्रिज निर्माण भइरहेको छ। नेपाली सेनाको नेतृत्वमा भइरहेको पुल निर्माण दसैँअघि सम्पन्न गरी सवारी आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ।

गत भदौ १० गते आएको बाढीले बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै फलाखुखोलाका पुराना र नयाँ दुवै पक्की पुल बगाएको थियो। पुल भत्किएपछि पासाङल्हामु मार्ग हुँदै काठमाडौँ–नुवाकोटबाट रसुवा जाने सडक यातायात प्रभावित भएको थियो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुर्‍याइसकिएको छ। गल्छी–मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार–बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि निर्माण सामग्री लैजान सहज भएको उनले बताए।

दसैँअघि पुल सञ्चालनमा आए बाढी प्रभावित नागरिकलाई आवतजावतमा सहज हुनुका साथै रसुवाको उत्तरी तथा दक्षिणी क्षेत्रबीचको सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ। दैनिक उपभोग्य सामग्री ढुवानी र अत्यावश्यक सेवासमेत सहज हुने स्थानीयको अपेक्षा छ।

संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दसैँअघि पुल सञ्चालन भए चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज हुने बताए। उनले बाढीपछिको राहत, उद्धार तथा यातायात पुनःसञ्चालनमा नेपाली सेनाले गरेको कामको प्रशंसा गरेका छन्।

Read More

स्वास्थ्य बीमामा पुसदेखि १६ वर्षमाथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने तथा सेवा लिने १६ वर्ष वा सोभन्दा माथिका नागरिकले आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ।

बोर्डले राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान यकिन गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न तथा केवाईसी विवरण अद्यावधिक गर्न सहज हुने जनाएको छ। यसबाट बीमा दाबी व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमा सेवा खरिद र भुक्तानीलाई थप व्यवस्थित तथा लागत–प्रभावकारी बनाउन बोर्डले रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ।

यसैगरी, ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबीसम्बन्धी विवरणलाई निर्धारित मापदण्डका आधारमा मान्यता दिने निर्णय भएको छ। पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी–११ कोड आईएमआईएसमा प्रयोग गरिने बोर्डले जनाएको छ।

Read More

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माणाधीन प्रसारण लाइनको काम निर्धारित समयमा सम्पन्न गर्न जोड दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सबस्टेसनमा निर्माण भइरहेका दुईवटा ‘मल्टिसर्किट टावर’को अवस्थाबारे जानकारी लिएका थिए। मन्त्रालयका अनुसार उनले देशको ऊर्जा प्रसारण प्रणालीका लागि महत्वपूर्ण मानिएको आयोजनाको काममा ढिलाइ हुन नदिन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन्।

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणको काम सुरु भएको करिब १२ वर्ष भए पनि विभिन्न कारणले आयोजना प्रभावित हुँदै आएको छ। पछिल्लो निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।

Read More

फ्रान्समा विद्यार्थी आन्दोलन विस्तार, ७३५ विद्यालय प्रभावित

काठमाडौं । फ्रान्समा विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलन पछिल्लो समय देशका विभिन्न क्षेत्रमा फैलिएको छ। प्रदर्शनका कारण शुक्रबार मात्रै करिब ७३५ शैक्षिक संस्था प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार सोमबारयता ५ हजारभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्।

विद्यालयमा शिक्षक तथा स्रोतसाधनको अभाव, कक्षाकोठाको अवस्था, लामो अध्ययन समय र बढ्दो शैक्षिक दबाबलाई लिएर विद्यार्थीले प्रदर्शन गरिरहेका छन्। मुख्यतः १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी आन्दोलनमा सहभागी छन्।

पेरिसनजिकैको एक विद्यालयबाट सेप्टेम्बर १७ मा सुरु भएको प्रदर्शन सामाजिक सञ्जालमार्फत अन्य क्षेत्रमा समेत विस्तार भएको बताइएको छ। प्रदर्शनका क्रममा विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्नुका साथै आन्दोलनका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएका छन्।

समाजशास्त्रीहरूले भने आन्दोलनलाई केवल विद्यालयसम्बन्धी मागमा सीमित नराखी फ्रान्सको शिक्षा प्रणालीमा रहेको सामाजिक तथा आर्थिक असमानतासँग पनि जोडेर हेरेका छन्। विशेषगरी न्यून आय भएका परिवारका विद्यार्थीले विद्यालयको सुविधा र शिक्षाको गुणस्तरमा आफूहरू पछाडि परेको महसुस गरिरहेको उनीहरूको भनाइ छ।

प्रदर्शनका केही घटनामा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रुग्यास, लाठी र रबरका गोली प्रयोग गरेको छ। मध्य फ्रान्सको टुर सहरमा विद्यार्थी र सुरक्षाकर्मीबीच भएको झडपमा एक युवकको आँखामा चोट लागेको स्थानीय अभियोजनकर्ताले बताएका छन्।

प्रहरी कारबाहीसँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुरक्षाकर्मीको व्यवहारलाई लिएर पनि बहस सुरु भएको छ। अर्कोतर्फ, केही प्रदर्शनकारीले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै तोडफोड र आगजनी गरेको अधिकारीहरूले बताएका छन्।

सरकारले विद्यार्थीका केही मागलाई जायज माने पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ। आन्दोलनलाई वामपन्थी राजनीतिक समूहले उक्साएको सरकारी आरोपलाई भने विपक्षीहरूले अस्वीकार गरेका छन्।

आन्दोलन थप फैलिने संकेतबीच आगामी मंगलबार ठूलो प्रदर्शनको तयारी भइरहेको बताइएको छ।

Read More

जल तथा मौसम विज्ञानको जिम्मेवारी ऊर्जा मन्त्रालयअन्तर्गत

काठमाडौं । सरकारले मन्त्रालयहरूको कार्यक्षेत्रमा फेरबदल गर्दै जल तथा मौसम विज्ञानसम्बन्धी अधिकांश जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ल्याएको छ।

मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा ८२ को उपधारा (१) बमोजिम ‘नेपाल सरकार कार्य विभाजन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएपछि संशोधित व्यवस्था लागू भएको छ।

ऊर्जा मन्त्रालयको जिम्मेवारी विस्तार

संशोधित नियमावलीअनुसार जल तथा मौसम विज्ञानसम्बन्धी नीति, कानुन, मापदण्ड, नियमन, तथ्याङ्क व्यवस्थापन तथा अनुसन्धानको जिम्मेवारी अब ऊर्जा मन्त्रालयले सम्हाल्नेछ। मन्त्रालयको कार्यविभाजनमा ७कदेखि ७ञसम्म १० वटा नयाँ बुँदा थपिएका छन्।

यसअन्तर्गत बाढी, पहिरो, हिमपहिरो तथा नदी प्रवाहको पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास, हवाई मौसम सेवा, मौसमी राडार, रेडियोसोन्डे, चट्याङ सञ्जाल, सौर्य विकिरण केन्द्र तथा स्वचालित जल मापन केन्द्रको व्यवस्थापनलगायतका काम समेटिएका छन्।

हिममण्डल, हिमनदी र हिमतालसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुगमन तथा जोखिम न्यूनीकरणका साथै जलवायु परिवर्तनले जल तथा मौसम क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गर्ने जिम्मेवारी पनि ऊर्जा मन्त्रालयलाई दिइएको छ। सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता र समन्वय गर्ने अधिकारसमेत यही मन्त्रालयअन्तर्गत राखिएको छ।

कृषि मन्त्रालयका केही जिम्मेवारी हटाइए

कार्यविभाजन संशोधनसँगै कृषि, वन तथा वातावरण मन्त्रालयको कार्यक्षेत्रबाट बुँदा नम्बर ४७, ५५, ५६, ५७ र ५८ हटाइएको छ।

जल तथा मौसम विज्ञानसँग सम्बन्धित नीति, पूर्वानुमान, पूर्वसूचना, तथ्याङ्क, अनुसन्धान तथा अवलोकन प्रणालीसँग जोडिएका विषय अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यक्षेत्रमा पर्नेछन्। यससँगै सरकारले जल तथा मौसम विज्ञानसम्बन्धी कामलाई एउटै मन्त्रालयअन्तर्गत समेट्दै जिम्मेवारी र समन्वयलाई थप स्पष्ट बनाएको छ।

Read More

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन: चुनावदेखि ‘समुन्नत नेपाल’सम्मको योजना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी राजनीतिक यात्राका लागि व्यापक पुनर्संरचनाको प्रस्ताव अघि सारेका छन्। १५औँ महाधिवेशनमा पेश गर्ने तयारी गरिएको राजनीतिक प्रतिवेदनमा निर्वाचनदेखि अर्थतन्त्र, युवा पुस्तादेखि संघीयता र पार्टीभित्रको अनुशासनदेखि राष्ट्रिय स्वाधीनतासम्मका विषय समेटिएका छन्।

प्रतिवेदनको केन्द्रमा कांग्रेसले विगतको कार्यशैली सच्याउँदै नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा छ। आगामी निर्वाचनमा आफ्नै शक्ति र एजेन्डामा प्रतिस्पर्धा गर्ने, सरकारलाई प्रभावकारी रूपमा निगरानी गर्ने तथा पार्टीलाई नागरिकसँग निरन्तर जोड्ने संरचना निर्माण गर्ने प्रस्ताव थापाले गरेका छन्।

यससँगै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’लाई पार्टीको भावी राजनीतिक तथा आर्थिक दृष्टिकोणको मुख्य अवधारणाका रूपमा अघि सारिएको छ।

आगामी चुनावमा आफ्नै शक्तिमा जाने प्रस्ताव

थापाको प्रतिवेदनमा आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने नीति प्रस्ताव गरिएको छ। कांग्रेसले आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डाका आधारमा जनतामाझ जानुपर्ने धारणा राखिएको छ।

उम्मेदवार छनोटमा गुटगत पहुँच वा नेतासँगको निकटतालाई भन्दा योग्यता, राजनीतिक योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव छ। त्यसका लागि प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण र पार्टी सदस्यको प्रत्यक्ष मतजस्ता विधि प्रयोग गर्ने भनिएको छ।

अधिवेशन वा उम्मेदवारीको प्रक्रिया प्रभावित गर्ने गरी अन्तिम समयमा सदस्यतासम्बन्धी नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि प्रस्ताव गरिएको छ।

प्रतिपक्षमा कांग्रेसको भूमिका बदल्ने योजना

निर्वाचनमा प्राप्त ३८ सिटलाई आधार बनाउँदै संसद्मा कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका खेल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सरकारका निर्णय र कामकारबाहीलाई तथ्य तथा प्रमाणका आधारमा परीक्षण गर्ने, भ्रष्टाचार, अधिकार हनन र कुशासनका विषयमा आवाज उठाउने तथा त्यससँगै वैकल्पिक नीति प्रस्तुत गर्ने प्रस्ताव गरिएको छ।

संघ र प्रदेश तहमा सरकारका मन्त्रालय तथा कामको अनुगमन गर्न ‘छायाँ सरकार’को अभ्यास गर्ने अवधारणा पनि प्रतिवेदनमा छ। दैनिक राजनीतिक विवादभन्दा दीर्घकालीन राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने भनिएको छ।

राजनीतिक पराजयको कारण बाहिर होइन, पार्टीभित्र खोज्ने समीक्षा

थापाले पछिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयलाई तत्कालीन परिस्थितिको मात्र परिणाम मानेका छैनन्। लामो समयदेखि नागरिकसँग बढ्दै गएको दूरी, पार्टीको राजनीतिक कमजोरी र बदलिँदो पुस्ताको अपेक्षा बुझ्न नसक्नु त्यसका प्रमुख कारण भएको समीक्षा गरिएको छ।

भदौ २३ र २४ को जनउभारलाई पनि यही सन्दर्भमा हेर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ। सुशासन, अवसर र निष्पक्षताको मागलाई नागरिक असन्तोषको वैध अभिव्यक्ति मान्दै त्यसलाई केवल षड्यन्त्र भनेर पन्छाउन नहुने उल्लेख छ।

आन्दोलनका क्रममा भएको राज्यको बल प्रयोग, हिंसा तथा जनधनको क्षतिबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कानुनी कारबाही तथा पीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव छ।

‘समुन्नति’लाई आर्थिक वृद्धिभन्दा फराकिलो बनाउने दृष्टिकोण

थापाको प्रतिवेदनले देशको प्रगतिलाई केवल आर्थिक वृद्धिदरबाट मापन नगर्ने धारणा अघि सारेको छ। शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई समुन्नतिको आधार मानिएको छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणाअन्तर्गत नागरिकको क्षमता विकास, अवसरमा समान पहुँच र विकास प्रक्रियामा सहभागितालाई प्राथमिकता दिने प्रस्ताव छ।

सरकारले मात्र विकासको नेतृत्व गर्नेभन्दा नागरिक, समुदाय, निजी क्षेत्र, सहकारी, विश्वविद्यालय र विज्ञबीच साझेदारी स्थापित गर्नुपर्ने भनिएको छ।

अर्थतन्त्रको केन्द्रमा उत्पादन र निजी क्षेत्र

प्रतिवेदनमा निजी क्षेत्रलाई राज्यका लागि कर उठाउने माध्यमका रूपमा मात्र नहेरी उत्पादन, रोजगारी, नवप्रवर्तन र सम्पत्ति सिर्जनाको मुख्य साझेदार बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

लगानीको सुरक्षा र नीतिगत स्थिरता कायम गर्दै व्यवसाय गर्न सहज वातावरण बनाउने तथा सरकार–निजी क्षेत्र सम्बन्धलाई नियमन र कर असुलीबाट सहकार्य तथा साझेदारीतर्फ लैजाने भनिएको छ।

कृषि, उद्योग, पर्यटन र प्रविधिमा विप्रेषणलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्ने तथा जलस्रोत र स्वच्छ ऊर्जालाई औद्योगीकरण र हरित ऊर्जा निर्यातसँग जोड्ने प्रस्ताव पनि छ।

असमानता घटाउन सुरुदेखि नै अवसरमा समानता

असमानता सिर्जना भएपछि मात्र कर तथा अनुदानमार्फत सुधार गर्नेभन्दा नागरिकको सुरुआती अवस्था नै न्यायपूर्ण बनाउनुपर्ने प्रतिवेदनको आर्थिक अवधारणा छ।

शिक्षा, स्वास्थ्य, सीप, वित्तीय पहुँच र रोजगारीमा समान अवसरलाई ‘पूर्ववितरणात्मक न्याय’को आधारका रूपमा अघि सारिएको छ।

यसले राज्यको आर्थिक नीतिलाई केवल आय वितरणमा केन्द्रित नगरी अवसर वितरणसँग जोड्ने प्रस्ताव गरेको छ।

युवालाई देशमै भविष्य देखाउने र विदेश जानेका अधिकार सुरक्षित गर्ने

युवालाई स्वदेशमै रोजगारी तथा उद्यमको अवसर सिर्जना गर्नु आर्थिक नीतिको प्रमुख लक्ष्य हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

वैदेशिक रोजगारीलाई बाध्यताको अन्तिम विकल्पका रूपमा मात्र नहेरी सुरक्षित, व्यवस्थित र अधिकारमुखी बनाउने प्रस्ताव छ। प्रवासी नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्दै विदेशबाट आएको विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने वातावरण बनाउने भनिएको छ।

जेन–जी पुस्ताको असन्तोष र माग बुझ्न स्वतन्त्र युवा विज्ञ सम्मिलित विशेष कार्यदल गठन गर्ने प्रस्ताव पनि यसैसँग जोडिएको छ।

बसाइँसराइअनुसार राज्यको योजना बदल्नुपर्ने

देशभित्रको जनसांख्यिक परिवर्तनलाई पनि प्रतिवेदनले महत्वपूर्ण नीतिगत विषयका रूपमा लिएको छ।

पहाडी क्षेत्रमा घटिरहेको जनसंख्या, मधेस तथा राजमार्ग आसपास बढिरहेको बसाइँसराइ र शहरमा बढ्दो जनचापलाई एउटै नीतिले सम्बोधन गर्न नसकिने उल्लेख छ।

वास्तविक बसोबास, आवागमन र सेवाको मागलाई आधार बनाएर शिक्षा, स्वास्थ्य, आवास, यातायात तथा सामाजिक सुरक्षाको योजना बनाउनुपर्ने प्रस्ताव छ।

परिवार संरचनामा आएको परिवर्तनसँगै बालबालिका, ज्येष्ठ नागरिक र हेरचाहसम्बन्धी विषयलाई पनि राज्यको नीतिमा प्राथमिकता दिनुपर्ने भनिएको छ।

कृषिबाट प्रविधिसम्म उत्पादनको नयाँ आधार

आयात र विप्रेषणमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, उद्योग तथा डिजिटल प्रविधिलाई आर्थिक विकासका प्रमुख क्षेत्र बनाउने प्रस्ताव गरिएको छ।

कृषिलाई आधुनिक प्रविधि र बजारसँग जोड्ने, उद्यम विस्तार गर्ने तथा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई नीतिगत सहजीकरण गर्ने भनिएको छ।

प्रविधिको क्षेत्रमा भने कृत्रिम बुद्धिमत्ताबाट सिर्जना हुने अवसरलाई उपयोग गर्न शिक्षा तथा सीप प्रणालीलाई नयाँ प्रविधिअनुकूल बनाउने प्रस्ताव छ। डिजिटल युगमा गलत सूचना र घृणात्मक सामग्रीको प्रभाव घटाउन मिडिया साक्षरता बढाउने पनि भनिएको छ।

जलवायु संकटलाई विकास र सुरक्षासँग जोड्ने

जलवायु परिवर्तनलाई वातावरण संरक्षणको विषयमा मात्र सीमित नराखी आर्थिक विकास र राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विपद् जोखिमलाई पूर्वाधार तथा बस्ती विकासको योजनामै समावेश गर्ने, प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने र भावी पुस्ताको अधिकार सुरक्षित गर्ने ‘अन्तरपुस्तीय न्याय’को अवधारणा अघि सारिएको छ।

हरित ऊर्जा र वातावरण संरक्षणलाई आर्थिक अवसरका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ।

सार्वजनिक सेवामा राज्यको भूमिका पुनर्विचार

शिक्षा र स्वास्थ्यलाई नागरिकबीच समान अवसर सिर्जना गर्ने प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, कुपोषण तथा सामाजिक विभेदविरुद्ध निरन्तर अभियान चलाउने प्रस्ताव गरिएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर समुदायको सामाजिक सुरक्षा बलियो बनाउनेसँगै मानसिक स्वास्थ्य, एक्लोपन र बदलिँदो पारिवारिक संरचनालाई समेत राज्यको नीतिमा समेट्ने प्रस्ताव छ।

सरकारको काम नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था

सार्वजनिक खर्च र विकास आयोजनामाथि नागरिकको प्रत्यक्ष निगरानी बढाउन ‘ओपन–सोर्स नागरिक ड्यासबोर्ड’ निर्माण गर्ने प्रस्ताव गरिएको छ।

कुन आयोजना कहाँ पुगेको छ, कति रकम खर्च भयो र त्यसको जिम्मेवारी कसको हो भन्ने जानकारी सार्वजनिक रूपमा उपलब्ध गराउने प्रणाली विकास गर्ने भनिएको छ।

सार्वजनिक निर्णयलाई पनि पाँच प्रश्नको आधारमा परीक्षण गर्ने प्रस्ताव छ—के निर्णय भयो, किन भयो, जिम्मेवार को हो, परिणाम के आयो र अपेक्षित परिणाम नआए के सुधार गरियो।

संघीयता बलियो बनाउने र संविधानमा सहमतिमूलक सुधार

संघीय संरचना निर्माण भए पनि यसको कार्यक्षमता अपेक्षाअनुसार विकास हुन नसकेको प्रतिवेदनले स्वीकार गरेको छ।

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने, प्रशासनिक क्षमता सुधार गर्ने तथा वित्तीय संघीयतालाई प्रभावकारी बनाउने प्रस्ताव छ।

संविधान संशोधनको बहसलाई तत्कालीन सत्ता समीकरणभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने भनिएको छ।

राष्ट्रिय स्वाधीनता अब आर्थिक क्षमतासँग जोडिने

राष्ट्रिय स्वाधीनतालाई सीमाना र राजनीतिक सार्वभौमिकतामा मात्र सीमित नगरी ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा देशको क्षमता बढाउनुपर्ने प्रस्ताव गरिएको छ।

बदलिँदो विश्व भूराजनीतिक परिस्थितिमा नेपालको स्वतन्त्र निर्णय क्षमता कायम राख्दै राष्ट्रिय हितमा आधारित विदेश नीति सञ्चालन गर्ने प्रस्ताव छ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको अवधारणालाई पनि वर्तमान सन्दर्भमा सामाजिक तथा सांस्कृतिक एकताको आधार बनाउने भनिएको छ। हिमाल, पहाड, मधेस, प्रवास तथा विभिन्न समुदायबीच साझा नेपाली पहिचान बलियो बनाउनुपर्ने प्रस्ताव गरिएको छ।

पार्टीभित्रैबाट सुधार सुरु गर्ने प्रस्ताव

कांग्रेसको आन्तरिक संरचनालाई पनि प्रतिवेदनले सुधारको मुख्य क्षेत्र मानेको छ। पार्टीलाई निर्वाचनका बेला मात्र सक्रिय हुने संगठनबाट नागरिकसँग निरन्तर जोडिने संस्थामा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ।

सदस्यता र आन्तरिक लोकतन्त्रलाई पारदर्शी बनाउने, पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने तथा पाँच पुस्ताबीच नेतृत्व हस्तान्तरणको संस्थागत बाटो खोल्ने भनिएको छ।

नेतृत्व विकासका लागि ‘लिडरसिप ट्रेनिङ इन्स्टिच्युट’, नीति निर्माण र अनुसन्धानका लागि ‘नीति प्रतिष्ठान’, निर्वाचन तयारीका लागि ‘निर्वाचन ब्युरो’ तथा जनप्रतिनिधिलाई सुशासन र नीति निर्माणमा सहयोग गर्न ‘गभर्नन्स इन्स्टिच्युट’ स्थापना गर्ने प्रस्ताव पनि छ।

पार्टीभित्र भ्रष्टाचार भए संरक्षण नगर्ने

पार्टी पदाधिकारी तथा जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने र वित्तीय पारदर्शिता तथा सार्वजनिक लेखापरीक्षणलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ।

आफ्नो समूह वा पक्षसँग सम्बन्धित व्यक्ति भए पनि भ्रष्टाचारमा संरक्षण नगर्ने तथा आचरण र भ्रष्टाचारसम्बन्धी विषयमा छानबिन गर्न स्वतन्त्र आन्तरिक ‘ओम्बुड्सम्यान’ राख्ने प्रस्ताव छ।

न्यायपालिका र संवैधानिक निकायमा भागबन्डा नगर्ने प्रतिबद्धता

कांग्रेसले भविष्यमा न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय तथा प्रशासनमा दलीय भागबन्डा नगर्ने सार्वजनिक प्रतिबद्धता गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक सम्पत्ति र अधिकारलाई दल वा गुटको हितमा प्रयोग नगर्ने तथा पैसा, पहुँच वा नेतासँगको निकटताका आधारमा अवसर वितरण नगर्ने प्रस्ताव छ।

भ्रष्टाचारमा आफ्ना मान्छेलाई छुट नदिने र अधिवेशन वा उम्मेदवारी प्रभावित गर्न अन्तिम समयमा नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि समेटिएको छ।

प्रधानमन्त्रीमा दुई कार्यकालको प्रस्ताव

एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्न पहल गर्ने प्रस्ताव थापाले गरेका छन्।

यसले सत्ता र कार्यकारी नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको प्रभाव कायम हुने अवस्था रोक्ने उद्देश्य राखेको छ।

निर्वाचन प्रक्रियामै सुधारको प्रस्ताव

उम्मेदवार छनोटमा प्राइमरी प्रणाली प्रयोग गर्ने, ‘कुनै पनि उम्मेदवार स्वीकार छैन’ भन्ने विकल्पबारे अध्ययन गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन कानुनी तथा संवैधानिक पहल गर्ने प्रस्ताव गरिएको छ।

निर्वाचन प्रणालीलाई थप पारदर्शी, सहभागी र प्रतिनिधिमूलक बनाउन आवश्यक सुधारबारे बहस अघि बढाउने भनिएको छ।

शहीद परिवार र घाइतेका लागि छुट्टै कोष

राजनीतिक आन्दोलनमा योगदान दिएका शहीद परिवार, घाइते तथा विस्थापित कार्यकर्ताको शिक्षा र स्वास्थ्य सहयोगका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने प्रस्ताव प्रतिवेदनमा छ।

पार्टीका राजनीतिक आन्दोलनमा योगदान गर्ने परिवारको दीर्घकालीन संरक्षणका लागि यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख गरिएको छ।

संक्रमणकालीन न्याय टुंग्याउने प्रतिबद्धता

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ।

संक्रमणकालीन न्यायलाई राजनीतिक भागबन्डा वा सत्ता समीकरणको विषय नबनाई पीडितको विश्वास र संस्थागत विश्वसनीयतालाई प्राथमिकता दिनुपर्ने भनिएको छ।

चार वर्षको कामलाई समयसीमामा बाँध्ने

थापाको प्रतिवेदनमा राजनीतिक र संगठनात्मक सुधारका लागि निश्चित समयसीमासहितको कार्ययोजना पनि प्रस्ताव गरिएको छ।

पहिलो १०० दिनमा २०६२/६३ देखि २०८२ सम्मको राजनीतिक तथा संगठनात्मक समीक्षा गर्ने, सातै प्रदेशमा समीक्षा सुरु गर्ने, पहिलो ‘समुन्नति नीति–पत्र’ सार्वजनिक गर्ने र सामुदायिक योगदानको अभिलेख तयार गर्ने भनिएको छ।

पहिलो वर्ष शिक्षा, पोषण, रोजगारी, सुशासन तथा हरित विकासमा प्रदेशस्तरीय कार्यदल बनाउने, नागरिक संवाद र सार्वजनिक सेवा अनुगमन अघि बढाउने प्रस्ताव छ।

निर्वाचनअघि उम्मेदवार छनोटका मापदण्ड सार्वजनिक गर्ने, सामुदायिक योगदान र कार्यसम्पादनलाई उम्मेदवारीको आधार बनाउने तथा प्राइमरी निर्वाचनको प्रक्रिया अघि बढाउने भनिएको छ।

प्रत्येक तीन महिनामा आन्तरिक समीक्षा, वर्षमा एकपटक सार्वजनिक ‘समुन्नति प्रतिवेदन’ र चार वर्षपछि नेतृत्वको कार्यसम्पादन मूल्यांकन गर्ने प्रणाली विकास गर्ने प्रस्ताव पनि छ।

प्रतिवेदनको मूल राजनीतिक सन्देश

समग्रमा थापाको प्रतिवेदनले कांग्रेसलाई परम्परागत सत्ता र निर्वाचनकेन्द्रित पार्टीको शैलीबाट बाहिर निकालेर नीति, परिणाम र नागरिक सहभागितामा आधारित संगठन बनाउने प्रयास गरेको देखिन्छ।

प्रतिवेदनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई दीर्घकालीन राजनीतिक लक्ष्यका रूपमा अघि सार्दै विगतका कमजोरी स्वीकार गर्ने, नयाँ पुस्तासँगको दूरी घटाउने, निजी क्षेत्रसँग सहकार्य बढाउने, सार्वजनिक संस्थाको विश्वसनीयता पुनर्स्थापित गर्ने र पार्टीभित्रै जवाफदेहिताको संस्कृति विकास गर्ने प्रस्ताव गरिएको छ।

चार वर्षको नेतृत्व अवधिलाई नियमित समीक्षा र मापनयोग्य परिणामसँग जोड्ने प्रस्तावसहित थापाले कांग्रेसको राजनीतिक पुनर्निर्माणलाई नेतृत्व परिवर्तनभन्दा व्यापक एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्।

Read More

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, ९५८ मतसहित विजयी

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगन्जमा सम्पन्न पार्टीको महाधिवेशनबाट राउत ९५८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानले अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरेकाले निर्वाचनमार्फत उनको समर्थन परीक्षण गरिएको थियो।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनबाट उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदमा समेत नयाँ नेतृत्व चयन भएको छ।

निर्वाचित पदाधिकारी

पदनाम
अध्यक्षडा. सीके राउत — ९५८ मत
महासचिवसञ्जयकुमार यादव (सिरहा) — ६१८ मत
उपमहासचिवनिर्मलकुमार मण्डल (सिरहा) — ५०१ मत
उपाध्यक्षअनिताकुमारी मण्डल (सिरहा)
उपाध्यक्षअनितादेवी साह (धनुषा)
उपाध्यक्षनरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु)
उपाध्यक्षबसन्तकुमार कुशवाहा (रौतहट)
उपाध्यक्षडा. जयकान्त राउत (सप्तरी)
उपाध्यक्षराजयकुमार यादव (सिरहा)
उपाध्यक्षमाधवप्रसाद सिंह (पर्सा)
सचिवसुरेन्द्र शर्मा
सचिवपारसप्रसाद साह
सचिवसन्तोष राज सहनी
सचिवअन्जनी देवी
सचिवराधाकुमारी यादव
सचिवहरेन्द्र चौधरी
सचिवबालगोविन्द चौधरी

उपमहासचिवमा निर्वाचित निर्मलकुमार मण्डलले ५०१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत ल्याएका थिए। महासचिवमा निर्वाचित सञ्जयकुमार यादवले ६१८ मत प्राप्त गरेका छन्।

Read More

होर्मुजमा पाँच दिनमै सात तेल ट्यांकरमाथि आक्रमणको दाबी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आईआरजीसी) को नौसेनाले पछिल्ला पाँच दिनमा होर्मुज जलडमरूमध्यमा कम्तीमा सात तेल ट्यांकरलाई निशाना बनाएको इरानी अर्धसरकारी समाचार संस्था फर्सले जनाएको छ। फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक MenchOsint लाई उद्धृत गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो।

फर्सका अनुसार शुक्रबार मात्रै दुई तेल ट्यांकरमा विस्फोट भएको थियो। तीमध्ये एउटा जलडमरूमध्यको प्रवेश क्षेत्रमा र अर्को बाहिरिने क्रममा प्रभावित भएको बताइएको छ। यसअघि चार दिनको अवधिमा कुवेतका ‘अल फुन्टास’ र ‘काजिमाह–३’ तथा संयुक्त अरब इमिरेट्सका ‘सिनबाड’, ‘मेर्सिन प्रोस्पेरिटी’ र ‘अल रुवाइस’ नामका ट्यांकरमाथि आक्रमण भएको दाबी गरिएको छ।

पछिल्ला घटनाबारे अन्य समुद्री सुरक्षा स्रोतहरूले पनि होर्मुज क्षेत्रमा ट्यांकरमाथि आक्रमण भएको पुष्टि गरेका छन्। Lloyd’s List का अनुसार ‘मेर्सिन प्रोस्पेरिटी’, ‘सिनबाड’ र ‘अल रुवाइस’माथि आक्रमणसम्बन्धी चेतावनी जारी भएको थियो भने ‘अल फुन्टास’माथि पनि यसअघि आक्रमण भएको थियो।

होर्मुज जलडमरूमध्यमा बढ्दो तनावका बीच इरानले अमेरिकी तथा इजरायलसँग सम्बन्धित वा ती देशसँग जोडिएका जहाजको आवागमनमा कडाइ गर्दै आएको छ। यसअघि पनि जलमार्गमा सैन्य गतिविधि र जहाजमाथिका आक्रमणका कारण अन्तर्राष्ट्रिय समुद्री यातायात प्रभावित भएको Reuters ले जनाएको छ।

यद्यपि, सातैवटा ट्यांकरमाथि आईआरजीसीकै प्रत्यक्ष आक्रमण भएको दाबीको स्वतन्त्र रूपमा पूर्ण पुष्टि भने सबै घटनामा भइसकेको छैन। त्यसैले यो विवरणलाई फर्स तथा सैन्य पर्यवेक्षकको दाबीका रूपमा बुझ्नुपर्ने हुन्छ।

Read More

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको सहभागिता, ओली नजाने प्रचण्ड र रवि जाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशन उद्घाटनमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई कांग्रेसले निमन्त्रणा गरे पनि केही शीर्ष नेताहरू भने कार्यक्रममा सहभागी नहुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उद्घाटन समारोहमा स्वयं सहभागी हुने भएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा उपस्थित हुनेछन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि प्रचण्डको आजको कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। बुवाको निधनपछि बरखीमा रहेका कारण ओली उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। ओलीको प्रतिनिधिका रूपमा एमाले महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी हुनेछन् र कांग्रेस महाधिवेशनलाई शुभकामना मन्तव्य दिनेछन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा नजाने भएका छन्। यादवको सचिवालयका अनुसार उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने जिम्मेवारी दिइएको छ।

Read More

इरानबारे ट्रम्पको कडा चेतावनी, ‘सहज वा कठिन’ बाटो रोज्नुपर्ने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे छिट्टै महत्वपूर्ण निर्णय लिन सक्ने संकेत गर्दै तेहरानसामु अब ‘सहज वा कठिन’मध्ये एउटा बाटो रोज्नुपर्ने अवस्था रहेको बताएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसम्बन्धी आफ्नो प्रशासनको निर्णयबारे संकेत दिएका हुन्।

ट्रम्पले इरानको पछिल्लो अवस्थालाई कमजोर बनेको दाबी गर्दै अबको परिस्थितिको दिशा इरानले लिने निर्णयमा निर्भर रहने बताएका छन्। उनले इरानसँग सम्बन्धित विषयमा आफूले चाँडै निर्णय गर्ने स्पष्ट पारेका छन्।

यसैबीच, ट्रम्पले इरानको आणविक कार्यक्रमबारे पनि टिप्पणी गर्दै तेहरान आणविक हतियार बनाउने योजनाबाट लगभग पछि हटेको दाबी गरेका छन्। तर इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ।

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानप्रति अमेरिकी आगामी रणनीति र सम्भावित कदमबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।

Read More