काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने तथा सेवा लिने १६ वर्ष वा सोभन्दा माथिका नागरिकले आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएको छ।
स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरणसमेत अद्यावधिक गर्नुपर्नेछ।
बोर्डले राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान यकिन गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न तथा केवाईसी विवरण अद्यावधिक गर्न सहज हुने जनाएको छ। यसबाट बीमा दाबी व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा सेवा खरिद र भुक्तानीलाई थप व्यवस्थित तथा लागत–प्रभावकारी बनाउन बोर्डले रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ।
यसैगरी, ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबीसम्बन्धी विवरणलाई निर्धारित मापदण्डका आधारमा मान्यता दिने निर्णय भएको छ। पहिलो चरणमा २ हजार १ सय ८९ वटा कस्टमाइज्ड आईसीडी–११ कोड आईएमआईएसमा प्रयोग गरिने बोर्डले जनाएको छ।




