काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे छिट्टै महत्वपूर्ण निर्णय लिन सक्ने संकेत गर्दै तेहरानसामु अब ‘सहज वा कठिन’मध्ये एउटा बाटो रोज्नुपर्ने अवस्था रहेको बताएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसम्बन्धी आफ्नो प्रशासनको निर्णयबारे संकेत दिएका हुन्।
ट्रम्पले इरानको पछिल्लो अवस्थालाई कमजोर बनेको दाबी गर्दै अबको परिस्थितिको दिशा इरानले लिने निर्णयमा निर्भर रहने बताएका छन्। उनले इरानसँग सम्बन्धित विषयमा आफूले चाँडै निर्णय गर्ने स्पष्ट पारेका छन्।
यसैबीच, ट्रम्पले इरानको आणविक कार्यक्रमबारे पनि टिप्पणी गर्दै तेहरान आणविक हतियार बनाउने योजनाबाट लगभग पछि हटेको दाबी गरेका छन्। तर इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि इरानप्रति अमेरिकी आगामी रणनीति र सम्भावित कदमबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।




