२०८३ कार्तिक ८

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको सहभागिता, ओली नजाने प्रचण्ड र रवि जाने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशन उद्घाटनमा सहभागी हुन विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई कांग्रेसले निमन्त्रणा गरे पनि केही शीर्ष नेताहरू भने कार्यक्रममा सहभागी नहुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उद्घाटन समारोहमा स्वयं सहभागी हुने भएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कार्यक्रममा उपस्थित हुनेछन्। पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि प्रचण्डको आजको कार्यतालिकामा कांग्रेस महाधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन समारोहमा सहभागी नहुने भएका छन्। बुवाको निधनपछि बरखीमा रहेका कारण ओली उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। ओलीको प्रतिनिधिका रूपमा एमाले महासचिव शंकर पोखरेल कार्यक्रममा सहभागी हुनेछन् र कांग्रेस महाधिवेशनलाई शुभकामना मन्तव्य दिनेछन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि उद्घाटन समारोहमा सहभागी हुने भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भने कार्यक्रममा नजाने भएका छन्। यादवको सचिवालयका अनुसार उनको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारीलाई कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने जिम्मेवारी दिइएको छ।