२०८३ कार्तिक ८

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन; प्रतिनिधिका लागि पार्किङ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने बताइएको छ।

ऐतिहासिक टुँडिखेलमै कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेका थिए। यही स्थानमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको घोषणा गरेका थिए।

‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ नारासहित हुन लागेको महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। महाधिवेशनबाट ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई समेत केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको अवसर दिने बताइएको छ।

महाधिवेशनको तयारीबारे प्रवक्ता देवराज चालिसेले नवपुस्ताका ४४ हजारभन्दा बढी युवा पार्टीको विभिन्न जिम्मेवारीमा आएको र उनीहरूसहित चयन भएका प्रतिनिधिको सहभागिताले महाधिवेशनलाई विशेष बनाएको बताए।

उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नेछन्। असोज १९ गते दिउँसो २ देखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिका सवारीसाधनका लागि पार्किङ व्यवस्था

महाधिवेशनमा सहभागी प्रतिनिधिका निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। ठूला बसका लागि भने माइतीघरदेखि भद्रकालीसम्मको सडकको एक लेन प्रयोग गरिनेछ।

महाधिवेशन यातायात व्यवस्थापन समितिका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङ व्यवस्थापन गरिएको हो। यसअघि धरहराको अन्डरग्राउन्ड र दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरलाई समेत पार्किङका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।

महाधिवेशनको सूचना तथा गतिविधि सार्वजनिक गर्न खुलामञ्चमा मिडिया सेन्टरसमेत स्थापना गरिएको कांग्रेसले जनाएको छ।