काठमाडौं । सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम अघि नबढाएको भन्दै जुम्लाका विभिन्न सडक आयोजनासँग जोडिएका ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कालोसूचीमा पर्ने कम्पनीमा शंकरमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्षका लागि राखिएको छ। यस्तै, विनम्र निर्माण सेवा सुर्खेत तीन वर्ष, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेत र कश्यप निर्माण सेवा काठमाडौं दुई–दुई वर्ष तथा अविनाश निर्माण सेवा छायानाथ मुगु एक वर्षका लागि कालोसूचीमा परेका छन्।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८० सम्म विभिन्न सडक आयोजना निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता गरेका कम्पनीले निर्धारित समय र सम्झौताअनुसार काम नगरेपछि कारबाहीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको थियो।
जुम्लालाई मनाङ–मुस्ताङसँग जोड्ने सडक, कर्णाली राजमार्ग तथा नाग्म–गमगडी सडकको निर्माण र स्तरोन्नतिसँग सम्बन्धित ठेक्कामा अपेक्षित प्रगति नभएपछि निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख श्रवणकुमार महताराका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो।
सडक डिभिजन कार्यालयका सबइन्जिनियर वीरेन्द्र रावलले सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीसम्बन्धी सूचना सार्वजनिक गरिसकेको जानकारी दिए।
कालोसूचीमा रहेको अवधिभर सम्बन्धित निर्माण कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।




