२०८३ असार ११

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न लामिछानेको आग्रह, ‘नेताको ढोका धाउनुपर्दैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवसायीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै अब व्यवसाय सञ्चालनका लागि नेताको ढोका चहार्नुपर्ने अवस्था अन्त्य गर्ने बताएका छन्। उद्योगी–व्यवसायीसँगको छलफलमा उनले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार मान्दै सरकारको सोच परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

उनले राजनीतिले बजारलाई चलायमान बनाउँदै रोजगारी सिर्जना र लगानी भित्र्याउन नसके त्यसको कुनै अर्थ नहुने बताए। साथै, व्यवसायीलाई कुनै दलको सदस्य बन्न वा चन्दा दिनुपर्ने बाध्यता हटाइने भन्दै राज्यको नीतिले नै व्यवसायको सुरक्षा गर्ने स्पष्ट पारे।

पछिल्लो समय देखिएको व्यवसायीमाथिको त्रासबारे बोल्दै उनले इमानदार व्यवसायी नआत्तिन आग्रह गरे। आर्थिक गल्तीहरूलाई फौजदारी मुद्दा बनाउनेभन्दा जरिवाना र कानुनी प्रक्रियाबाट समाधान गर्ने नीति लिइने उनले बताए।

त्यसैगरी, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले यसले रोजगारी सिर्जना र व्यापार घाटा घटाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।