२०८३ आश्विन २

नाबालिकालाई स्पामा राखी यौनजन्य क्रियाकलाप गराएको आरोपमा एक महिला कारागार चलान

काठमाडौँ । नाबालिकालाई प्रलोभनमा पारेर स्पामा काममा लगाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी प्रतिवादी सङ्खुवासभाको चैनपुर नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–५ टोखामा बसोबास गर्दै आएकी ४८ वर्षीया अनिता भण्डारीलाई सोमबार अदालतको आदेशपछि थुनामा पठाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भण्डारीले टोखामा ‘स्पा पार्क’ सञ्चालन गर्दै आएकी थिइन्। प्रहरी टोलीले अनुगमनका क्रममा उक्त स्पाबाट १६ वर्षीया एक नाबालिकाको उद्धार गरेको थियो।

प्रहरी अनुसन्धानबाट ती नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराइएको खुलेपछि भण्डारीलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएकी नाम परिवर्तन गरिएको ‘२६ परिसर (९८)’ की जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अदालतले प्रतिवादी भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।